घाइते विद्यार्थी भेट्न शिक्षामन्त्री अस्पतालमा
काठमाडौँ: बिहीबार मध्यान्ह पर्खालले किचेर घाइते भएका ललितपुर टौखेलको पुष्पाञ्जली स्कुलका विद्यार्थी भेट्न शिक्षामन्त्री गिरीराजमणि पोखरेल अस्पताल पुगेका छन् । पोखरेल विद्यार्थीको उपचार भइरहेको पाटन र बि एण्ड बी अस्पताल पुगेर विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
अस्पतालमा उनले घाइते विद्यार्थी, स्कुलका प्रचार्य तथा चिकित्शकसंग घटनाबारे जानकारी समेत लिएका छन् । घाइते २२ विद्यार्थीको ग्वार्को स्थित बिएण्डबी अस्पताल, पाटन अस्पताल र सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
पोखरेलका स्वकीय सचिव जागृत रायमाझिका अनुसार पोखरेलले घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला शिक्षा कार्यालय ललितपुरलाई निर्देशन दिएका छन् ।
अबिरल बर्षापछि ललितपुर स्थित पुष्पाञ्जली माध्यामिक विद्यालयको गारो भत्किएर दुई विद्यार्थीको मृत्यु भएको हो। स्थानीय एक व्यक्तिले जग्गा प्लटिङका क्रममा लागएको पर्खाल भत्किएपछि विद्यालयको गारो थिचेको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माका अनुसार मृत्यु हुनेमा कक्षा तीनमा पढ्ने ९ वर्षीया कृपा राई र १० वर्षीया अन्जना पुनमगर छन् ।
पार्खाल भत्किएपछि कक्षा तीन र आठको कोठाको पर्खाल थिचेको थियो । ‘जग्गा प्लानिङका लागि लगाइएको पर्खाल भन्दा स्कुल तल्लो भागमा रहेछ, वर्षाले पर्खाल लडेपछि विद्यालयको गारोलाई थिचेको हो, दुई विद्यार्थीको अस्पताल लैजाने क्रममा मृत्यु भयो’, प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्णसँंग भने ।
उनले जग्गा प्लानिङ गर्ने साहुलाई खोजेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।