बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा
काठमाडौंः यो पटकको युरोकपमा उत्कृष्ट नतिजा निकालिरहेको ब्रिटेनी देश वेल्सले बेल्जियममाथि प्रभावशली जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
नेपाली समयअनुसार आज बिहान भएको दोस्रो क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियममाथि ३–१ को शानदार जित निकाल्दै वेल्सले पोर्चुगलसँगको भिडन्त पक्का गरेको हो ।
खेलको शुरुवातीमै अग्रता लिएपनि बेल्जियमले सम्हालिन नसक्दा वेल्सका अगाडि उसको केही लागेन । बेल्जिमयका लागि १३ औं मिनेटमा नाइङ्गगोलनले अग्रता दिलाएको खेलमा वेल्स पहिलो हाफमै बराबरी र दोस्रो हाफमा दुई गोल गरे सेमिफाइनल यात्रा तय गरेको हो ।
वेल्सका लागि ३० औं मिनेटमा एस्ले विलियम्सले बराबरी गोल गरे । पहिलो हाफ १–१ मा टुंगिएको अवस्थामा दोस्रो हाफमा वेल्सले थप दुई गोल थप्यो ।
वेल्सका लागि खेलको ५५ औं मिनेटमा बेल्जियमको डिफेन्स लाइनअपलाई चिर्दै हल रोब्सोन कानुले गोल गरी २–१ को अग्रता दिलाए ।
वेल्स त्यतिमै रोकिनेवाला थिएन । उसका लागि खेलको ८५ औं मिनेटमा च्रिस गन्टरले दिएको क्रस पासमा साम भोक्सले हेडर गोल गर्दै ३–१ को जित पक्का गरे ।
बेल्जियमलाई घर फर्काएको वेल्सको भिडन्त अब क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग हुनेछ । पोर्चुगल पोल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।