अविरल वर्षाले डाँडा धसिन थाले

अविरल वर्षाले डाँडा धसिन थाले

काठमाडौं: देशैभर अविरल वर्षा भएपछि भूकम्पले चिरिएका जमिन धसिन थालेका छन्। निरन्तरको वर्षाले सबै नदीमा पानीको बहाव बढेर केही नदी खतराको स्तरमा पुगेका छन्।

निरन्तरको वर्षापछि पहाडी भेगमा चिरिएका डाँडै बग्ने खतरा बढेको छ भने तराईमा बाढी र नदी थुनिने सम्भावना पनि त्यत्तिकै छ। 'यही गतिमा निरन्तर पानी पर्दा देशका धेरै ठाउँ बाढीपहिरोले बगाउने देखिन्छ', त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रकोप अध्ययन केन्द्रका उपनिर्देशक वसन्तराज अधिकारीले भने।

विज्ञहरूका अनुसार भूकम्पले चिरिएको जमिन वर्षामा सबैभन्दा खतरा हुन्छ। गत वर्ष कम वर्षा भएका कारण चिरिएको जमिनमा धेरै पहिरो गएन। तर यो वर्ष त्यो खतरा दोब्बर भएको उनीहरूको निष्कर्ष छ। 'जमिन चिरिएका छन् तर पुरिएका छैनन्। त्यहाँ पानी परेपछि धसिएर पहिरो जान्छ', अधिकारीले भने, 'धादिङमा बिहीबार गएको पहिरो त्यसैको नमुना हो।'

गत वर्ष मनसुनमा औसतभन्दा कम वर्षा भएको थियो। यो वर्ष बढी वर्षाको अनुमान गरिएको छ। मनसुनको सुरुमै भएको वर्षाले समेत त्यो अनुमान पुष्टि गरेको छ। यस्तो वर्षामा भूकम्पले चिरिएका डाँडा अनुमानै नगरिएका ठाउँमा खस्नसक्ने उनीहरूको आशंका छ।

 

अधिकारीले भने, 'काभ्रेको माथिल्लो भेगमा चिरिएको जमिन टालिएको छैन। पानी छिरेपछि डाँडै झर्ने खतरा छ।' त्यस क्षेत्रमा गत वर्ष डाँडाको लेजर स्क्यान गरिएको थियो।काभ्रे चण्डेनी मण्डन गाउँको माथि धाँजा फाटेको छ। त्यहाँ १० सेन्टिमिटरसम्मका चिरा देखिएका छन् तर टालिएका छैनन्। 'यस्ता डाँडा पानी परेपछि माथिबाट खस्ने सम्भावना धेरै हुन्छ। सरकारी ध्यान जान जरुरी छ', अधिकारीले भने।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा माथि पहिरो गएको र त्यहाँ डाँडा तीन मिटरसम्म चिरिएको उनले बताए। त्यस्तै भोटेकोसीआसपासका क्षेत्रमा पनि त्यस्तै समस्या रहेको जनाउँदै अधिकारीले भने, 'त्यस्ता धेरै क्षेत्रमा स्थलगत अध्ययनको खाँचो छ।' पानी धेरै परेर माटोमा वाटर प्रेसर बढेपछि पहिरोका रूपमा डाँडै खस्ने अनुभव अधिकारीको छ।

जलवायु तथा मौसम विज्ञान विभाग बाढी अनुमान महाशाखाका विज्ञ विनोद पराजुलीका अनुसार अधिकांश नदीमा पानीको स्तर खतराको तहनजिक पुगेको छ। 'धेरै नदीमा पानी खतराको बिन्दुनजिक पुगेको छ। एकदुई दिन यस्तै वर्षा भए धेरै नदीमा बाढीको खतरा छ', पराजुलीले भने।

देशभरका दुई सयभन्दा बढी केन्द्रबाट प्राप्त तथ्यांकअनुसार शुक्रबारको वर्षाले देशका विभिन्न २४ नदीमा पानीको बहाव बढिरहेको देखिएको छ। शुक्रबारको जस्तै वर्षा शनिबार पनि भए धेरै नदीमा खतरा हुने बाढी पूर्वानुमान विज्ञ पराजुलीले बताए।

उनले भने, 'खतराको लेभलमा पुग्न एक मिटरजति बाँकी छ। त्यो निरन्तर एक दिन ठूलो वर्षा भए समस्या बन्छ।' विज्ञले पहाड झरेर कालीगण्डकी थुनिएजस्तै नदी थुनिने सम्भावनाप्रति पनि सेचत हुन आग्रह गरेका छन्।

महाकाली र चितवनमा खतरा
रातिदेखि नै भीषण वर्षा भएपछि चितवनको माडी र महाकालीमा बाढीको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणी र महाकाली नदीमा पानीको सतह खतराको बिन्दुमाथि उक्लिएपछि महाशाखाले शुक्रबार बिहानै पूर्वसचेतना अपनाउन सूचना जारी गरेको थियो।

चितवनको छरछरे र कल्याणपुरमा पानीको सतह खतराको बिन्दुमा पुगेको छ। यसैगरी डँडेल्धुरा र कञ्चनपुरमा महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई त्यहाँबाट हट्न सूचित गरिएको छ। शुक्रबार रातिसम्मै ती नदीमा पानीको बहाव घटेको छैन। स्थानीय प्रशासनमार्फत नदीआसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान सूचना दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.