'डा.केसी अस्पतालमा अनशन बस्नु हुन्न'

'डा.केसी अस्पतालमा अनशन बस्नु हुन्न'

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा.डा.दीपक महराले डा.गोविन्द केसीलाई स्वास्थ्य सेवा र नियमित गतिविधिमा प्रतिकूल प्रभाव पर्ने गरी अस्पताललाई अनशन थलोका रूपमा प्रयोग नगर्न आग्रह गरेका छन्।

डा.महराले अस्पतालको संवेदनशील सेवा प्रभावित हुने, गरिब जनता अत्यावश्यक सेवा पाउनबाट वञ्चित हुने एवं अस्पतालले पनि ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले डा.केसीलाई अस्पताल परिसरमा आगामी दिनमा अनशन नबस्न आग्रह गरेका हुन्।

'उहाँले घोषणा गरेको अनशन आगामी दिनमा कहाँ बस्नुहुन्छ र कहिले बस्नुहुन्छ भन्नेबारे मलाई आधिकारिक जानकारी छैन', डा.महराले शुक्रबार अन्नपूर्णसँग भने, 'तर उहाँ फेरि पनि अस्पताल परिसरमै अनशन बस्नुहुन्छ भने त्यसले अस्पतालको सेवाप्रवाह र पठनपाठनमा ठूलो असर पार्नेछ। दीर्घकालसम्म त्यसको असर रहन्छ।'

डा.केसीका तीनवटा अनशन आफू अस्पतालको निर्देशक भइसकेपछि भएकाले त्यसबाट अस्पतालमा पर्न गएको नकारात्मक असर दोहोरिएको हेर्न नचाहेको डा. महराले बताए।डा.केसीका मागमा पछिल्लो समय परिवर्तन आउन थालेको भन्दै उनका सबै माग अस्पतालसँग सम्बन्धित नभएकाले पनि अस्पताल परिसरमा अनशन बस्न नहुने उनको भनाइ छ।

'डा.केसीका विगतका माग आईओएम, त्रिवि, मेडिकल शिक्षासँग बढी केन्द्रित हुन्थे। तर पछिल्ला माग राष्ट्रियस्तरका छन् जुन सरकारले मात्रै पूरा गर्न सक्छ', डा. महराले भने, 'ती सबै मागलाई लिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई अस्तव्यस्त बनाउन मिल्दैन।'

 

आफू अस्पतालको निर्देशक भएपछि डा.केसीलाई अस्पतालमा अनशन नबस्न तीन पटकसम्म पत्र पठाए पनि उनले त्यसलाई कार्यान्वयन नगरेको गुनासो डा. महराको छ।

'प्रधानमन्त्री, त्रिविका उपकुलपति, आईओएमका डिनलगायतलाई बोधार्थसहतिको पत्र लेख्दै हामीले उहाँलाई अस्पताल हाताभित्र अनशन नबस्न आग्रह गरेका थियौं', डा.महराले भने, 'तर उहाँले त्यसको बेवास्ता गर्नुभयो। अनशनपछि बिरामीमाथि प्रतिकूल मनोवैज्ञानिक असर पर्ने हुँदा उहाँले अनशन नै बस्न हुन्न भन्ने मेरो अडान छ।'

डा.केसीलाई अनशनको विकल्प अपनाउन आग्रह गरेका डा. महराले उनका कारण नेपाली चिकित्सा शिक्षामा हात परेको उपलब्धिलाई भने बिर्सन नमिल्ने प्रतिक्रिया दिए। 'डा.केसीका कारण नेपाली चिकित्सा शिक्षा क्षेत्रमा केही सकारात्मक काम भएका छन्। जसको मूल्यांकन भने हुनुपर्छ।'

आईओएमका प्राध्यापक डा.जेपी अग्रवालले पहिले आफूहरूले डा. केसीले उठाएका प्राज्ञिक शुद्धता, शैक्षिक क्षेत्रमा हुने राजनीतिक हस्तक्षपको विरोध, मेरिटमा विद्यार्थी भर्ना र त्यसको सेरोफेरोमा बनेको माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन मागमा आफूहरूले समर्थन गरेको बताए।

तर त्यसबाहिर गएर हुने अनशन वा आन्दोलनमा आफू संलग्न नहुने बताए। उनले अनशनमा राजनीति प्रयोग गरियो भने अतीतका उपलब्धि गुम्ने खतरा हुने भन्दै डा.केसीसँग आफ्नो अनशनलाई राजनीतिबाहिरै राख्न अनुरोधसमेत गरे। केसीले आफ्ना माग पूरा नभए २६ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.