आत्मबलले बाँचेका गिरीप्रसाद
![आत्मबलले बाँचेका गिरीप्रसाद](https://annapurnapost.prixacdn.net/media/albums/57774837a8af22.60291405_W8ZJL7Nmd6.jpg)
ज्योतिषीले नै दुईवटा जात जोडेर एउटा नाम बनाइदिए गिरीप्रसाद पुन। बागलुङ पाण्डवखानीका गिरीप्रसाद पुन मुस्कुराउँदै आफूजस्तै मिर्गौला फेल भएका अन्य साथीहरूसँग गफिँदै थिए।
नेपालको जेठो किड्नी बिरामीका रूपमा उनले आफूलाई चिनाए। उनी २१ वर्षदेखि डायलासिस गरेरै बाँचिरहेकोमा गर्व गर्छन्। पुनले आफूलाई भाग्यमानी बिरामीको संज्ञा दिए। उनका सयौं साथीहरूले अकालमा ज्यान गुमाइसके।
'यति लामो समयसम्म बाँच्ने म नै हुँ', उनले ठोकुवा गरे, '३३ वर्षको उमेरमा किड्नीले काम गर्न छाड्नु हृदयविदारक क्षण थियो मेरो लागि। जतिबेला म श्रीमती, घरपरिवारलाई खुसी दिन भन्दै पैसा कमाउन कोरिया पुगेका थिएँ।'
उनले त्यहाँ चार वर्ष बिताए। प्लास्टिक कारखानामा काम गर्ने उनलाई कम्पनीले त्यहाँको चार सय ८० डलर तलब दिन्थ्यो। उनी त्यहीबेला अलि धेरै पैसा दिने काम खोज्दै थिए त्यहीबेला उनी एक्कासि बिरामी परे।
स्वास्थजाँच गर्दा उनको दुवै किड्नी फेल भएको थाहा पाए। 'सुन्नेबित्तिकै म बेहोस भएछु। त्यसपछि १८ दिन आईसीयुमा राखिएको थियो', उनले भने, 'त्यहाँ साताको तीनपटक डायलासिस गर्नुपर्ने नियम थियो। महँगो पनि।'
कोरियन डाक्टरले बाँच्ने तिम्रो अधिकार हो। भाग्यले मिल्यो भने कसैको किड्नी प्रत्यारोपण गरिदिन्छु भनेछन्। मिलिहाल्ला कि भन्ने उनको आशा निराशामा परिणत भयो। उनले भने, 'म टुटेफुटेका सपना बोकेर नेपाल फर्केँ।'
५३ वर्ष पुगेका पुन हेर्दा कसैले पनि यति लामो समयदेखि बिरामीले गाँजेको होलान् झैं लाग्दैन। उनी आम स्वास्थ मानिसजस्तै देखिन्छन्। उनले भने, 'पहिला अलि गोरो थिएँ अहिले कालो भएको छु।' बागलुङ सदरमुकाम उनको घरदेखि ५१ किलोमिटर टाढा भएकाले उनी उपचारका लागि काठमाडौं बस्न थालेका हुन्।
सुरुमा वनस्थली किड्नी सेन्टरमा मात्रै डायलासिस सुविधा थियो। नेपाल फर्केपछि उनले त्यहाँ साताको दुई पटक डायलासिस गर्न थालेँ। त्यतिबेला एकपटकको सात हजार तिर्नुपर्थ्यो। नियमित गर्न थालेपछि चार हजारमा मिलाएको उनले बताए। त्यसपछि बी एन्ड बी हस्पिटलमा २०५७ सालतिर डायलासिस सुविधा सुरु भयो।
'साँच्चै म जोगी हुँ। मसँग केबल शरीर छ, त्योबाहेक केही छैन। आशाको त्यान्द्रो भनेकै छोरा थियो, ऊ बितेपछि भाग्य नै यस्तो रहेछ भनेर चित्त बुझाएँ।'
उनले त्यहाँ एक पटकको ३५ सयमा सेवा लिए। 'सबैभन्दा सस्तोमा साताको दुईपटक वीर अस्पतालमा डायलासिस सेवा लिएँ', उनले भने। उनले महिनामा सरदर १६ हजार खर्चनुपर्छ। आफन्तबाटै लिएको ऋणले त्यो गरिरहेको उनले बताए।
उनीसँग सम्पत्तिको नाममा एउटा शरीरबाहेक केही छैन। 'साँच्चै म जोगी हुँ। मसँग केबल शरीर छ, त्योबाहेक केही छैन', उनले भने, 'भएको सबै डायलासिसमै सकियो।' पुन अचेल नखिपोटस्थित आफन्तको घरमा आ श्रय लिएर बसेका छन्। उनले हिम्मत हारेका छैनन्। भन्छन्, 'सबैबाट लिएको ऋण तिरेरै मर्ने धोको छ।'
आर्थिक अभावका कारण किड्नीका बिरामीसँग मिलेर धेरै आन्दोलन गरको प्रसंग उनले सम्झिए। आफूले ५४ दिनसम्म अनशन बसेको सुनाए। उनी अर्कोपटक १३ दिन अनशन बसे। त्यो अनशनको सुनुवाइस्वरूप सरकारले दुई वर्ष डायलासिस निःशुल्क गरेको थियो। पुनः पैसा लिन थाल्यो।
उनीहरूले आन्दोलन जारी राखे। पुनले भने, 'सरकारलाई भेट्न कति धाइयो कति। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईपटक भेटियो। हाम्रो माग भनेकै उपचार निःशुल्क गराइदेउ भन्ने थियो। अन्त्यमा डायलासिस निःशुल्क गर्ने भनेर वचन दिएको छ। भदौदेखि लागू गर्ने भनेको छ, सायद हुन्छ होला।'
पुनको आँखाको नसा सुक्दै आएको छ। कान पनि कम सुन्ने भएका छन्। रोगलाई जितेर बाँचिरहेका उनलाई २० वर्षे छोरा दुर्घटनामा बितेको शोकले भने नराम्ररी चिमोठ्ने गरेको छ। 'आशाको त्यान्द्रो भनेकै छोरा थियो, ऊ बितेपछि भाग्य नै यस्तो रहेछ भनेर चित्त बुझ्याएँ', पुनले भने।
डाक्टरको भनाइअनुसार डायलासिस गर्ने बिरामीहरूले धेरै सुक्खा खानुपर्छ। झोलिलो खानेकुरा नियन्त्रण गर्नुपर्छ। तर उनलाई घटघट पानी पिउन मन लाग्छ। खायो भने स्वाँ स्वाँ बढ्ने गरेको उनले अनुभव सुनाए। डायलासिस गरेपछि शरीर कमजोर हुने, शिथिल हुने भए पनि उनको इच्छाशक्ति बलियो छ।
'म सकारात्मक सोच्छु। मेरो पालाका डायलासिस गर्ने साथीहरू चार वर्षभन्दा बढी कोही बाँचेका छैनन्। महिलाहरू धेरै चिन्ता लिएर होला चाँडै बितेको देखेको छु', उनले भने, 'सबैभन्दा धेरै बानेश्वरकी कमला पोखरेल बाँचेकी थिइन्, उनी १५ वर्ष बाँचिन्।
म त सबैभन्दा लामो समय बाँचेको मान्छे हुँ, चिन्ता लिनै हुन्न धेरै बाँच्ने हो भने।' आफूलाई बलियो बनाउनुका साथै लामो आयुका लागि परिवारको माया पनि उत्तिकै चाहिने उनी बताउँछन्।
पुनसँगै एकै समयमा डायलासिस गर्दै आउने आठजनाको समूह छ। उनीहरूको समूह भेटघाट गर्दै एकअर्कामा दुःख साटासाट गर्छन्। एक ठाउँमा जम्मा हुन्छन् र एकअर्कामा हौसला बाँड्छन्। सँगसँगै मर्निङवाक अनि इभिनिङवाक गर्छन्। सपना साट्छन्। साँच्चै नै एकअर्कालाई दिएको ढाडसले बलियो बनाएको उनीहरूको अनुभव छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)