पिपुल च्वाइसको मनोनयन सार्वजनिक
काठमाडौं (अन्नपूर्ण): नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोटर््स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्डका लागि शुक्रबार मनोनयन सार्वजनिक गरिएको छ।
पल्सर पिपल्स च्वाइस अवार्डको मनोनयनमा टेबलटेनिसकी नविता श्रेष्ठ, फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली परेका छन्।
एसएमएस र फेसबुक भोटिङमार्फत विजेताको घोषणा गरिनेछ। पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आगामी साउन ६ गते आयोजना हुँदैछ।
पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक, पिपल्स च्वाइस, वर्षका उत्कृष्ट पारा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिँदैछ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।