नेपालमा कम्युनिस्ट हुनु फेसन बन्यो
अन्तर्वार्ता
कथाकार इस्मालीको ‘माछो माछो भ्यागुतो', ‘काट् जर्किन डी' कथासंग्रह चर्चित छन्। हालै उनको नयाँ कथासंग्रह ‘ श्रीको खोजी' प्रकाशित छ। कथामा केन्द्रित रहेर इस्मालीसँग गरिएको कुराकानीः
तपाईंलाई प्रगतिशील नेपाली कथाको क्षेत्रमा ‘आइकन' भन्दा रैछन्। समग्र प्रगतिशील लेखकहरू कस्तो लेखिरहेका छन् ?
- हाम्रा कतिपय अग्रज स्रष्टा जीवनको उत्तरार्धमा भीरबाट हामफालेका छन्। अब त्यस्तो मति नआओस्। लेख्न थालेदेखि नै म प्रगतिशील कथा नै लेखिरहेको छु, सुरुसुरुमा नजानीकन पछि जानेर। नजानीकन भन्नुको आशय प्रगतिशील शब्दको शास्त्रीय अर्थ नजानीकन।
शास्त्रीय अर्थमा प्रगतिशील लेखन भनेको राजनीतिक रूपमा माक्र्सवादसँगको सान्निध्य हो। त्यसैले द्वन्द्वात्मकता, वर्गसंघर्ष र श्रमजीवी पक्षधरता अनि समतामूलक समाजको निर्माण यसका अभीष्ट हुन्। समाजवादी यथार्थवाद प्रगतिशील लेखनको उच्चतम रूप हो।
बीसौं शताब्दीको साठीको दशकतिर माक्र्सवादी दर्शनको पाठशालामा हाँगा फाट्यो र त्यसले बदलिँदो समय सन्दर्भमा वर्गसंघर्ष आवश्यक छैन, शान्तिपूर्ण संघर्ष वा संक्रमणबाटै समाजवादमा पुग्न सकिन्छ भन्ने प्रस्थापना अगाडि सार्यो। विचारमा आएको यो विचलनले कालान्तरमा अरूअरू मठ पनि स्थापना गर्यो।
कतिपय प्रकाशकमा व्यावसायिक र व्यावहारिक इमानदारिता छैन। प्रकाशकका पनि आफ्ना समस्या-सीमा होलान्, ती पनि बिक्रेताबाट ठगिएका होलान्। तर, बिक्रेताले ठग्यो भन्दैमा तिनले लेखकलाई ठग्नु, शोषण गर्नु सरासर बेइमानी हो। बिनालेखक प्रकाशकको अस्तित्व रहन्छ र !
नेपालको मात्र होइन विश्वकै प्रगतिशीलहरू यी विभिन्न मठमध्ये आफ्नो चित्तले खाएको मठमा पूजाआजा गर्छन्। नेपालको सन्दर्भमा त साम्राज्यवाद सामन्तवादविरोधी र राष्ट्रवादको पक्षधरता भए पुगिहाल्छ। र, यो भावना अधिकांश लेखनमा व्याप्त छ।
नेपालको संविधान २०७३ जारी भएपछि छिमेकी देश भारतले गरिदिएको नाकाबन्दीले यसलाई थप बल पुर्याएको छ। र, अधिकांश प्रगतिशील लेखक राष्ट्रिय मूलधारमा छन्।
‘ श्रीको खोजी' पढेर पाठकहरूबाट आएको रेस्पोन्स कस्ता छन् ?
- श्रीको खोजी (मौलिक कथासंग्रह) र युरेसियाका कथा (युरोप र एसियाका लब्धप्रतिष्ठित कथाकारका प्रतिनिधि कथाको अनुवाद) दुवै संग्रहहरू पाठक, समीक्षकहरूले राम्रै मानेको पाएको छु। भर्खरै प्रकाशित भएका हुन्, धेरै पाठकका माझ पुग्न सकेको पनि नहोला।
चलचित्र वा टेलिशृंखला हेरेर तुरुन्तै प्रतिक्रिया दिइहाल्नेजस्तो कुरो होइन, हातै परेपछि पनि गाता, कागज, छपाइ आदि हेरेर तत्काल राम्रो÷नराम्रो भनिहाल्नेभन्दा पनि कथा पढेर प्रतिक्रिया व्यक्त गर्न समय लाग्ला।
तपाईंका पूर्ववर्ती कथा-उपन्यासभन्दा ‘ श्रीको खोजी' के मानेमा फरक छ, जबकि यसअघिको कथासंग्रह ‘काट् जर्किन डी'मा पनि तल्लो वर्गको दुःख, तिनीहरूकै आँसुलाई बेच्नुभएको थियो, जुन तपाईंका पूर्वउपन्यास-कथाहरूमा हुन्थे (कहिलेकाहीँ त सहरका एलिटबारे पनि लेख्नु नि।)
- पूर्ववर्ती कथा-उपन्यासभन्दा ‘ श्रीको खोजी' पात्र-प्रवृत्तिका सन्दर्भमा त्यही ठाउँमा छ किनकि मेरो प्रतिबद्धता तिनैसँग छ। तिनलाई छाडेपछि म इस्माली रहिनँ। म तिनको दुःख, पीडा, आँसु बेचिरहेको छुइनँ, दुनियाँलाई देखाइरहेको छु र यो आँसु नआउनुपर्ने दिन तिनलाई देखाउनका लागि तीसमेत लागिपरौं भनी आग्रह गरिरहेको छु।
सहरका सम्भ्रान्त पनि त्यहाँभित्र कतैकति छन्, जस्तै: डाक्टर भगवती नै भन्नुस्, श्रीमान्हरू भन्नुस्, तिनीहरू सहरकै एलिट हुन्। तिनीहरूसँग त्यति उठबस छैन् तर पनि आउँदा दिनमा त्यसो गर्ने प्रयास रहनेछ।
प्रायः राजनीतिक आख्यान लेख्नुहुन्छ, नेताहरूलाई व्यंग्य गरेर, सधैं सत्तासँग प्रतिपक्षी भएर। राजनीतिप्रति यो अति मोह हो कि, राजनीतिमा अगाडि बढ्ने बाटो नपाएको चरम कुण्ठा ?
- साहित्यिक कर्म भनेकै शाश्वत प्रतिपक्षी हँदो रहेछ। सत्तागान गायनका लागि त भत्तावालहरू छँदैछन् नि, अनि सत्ताले सबैले जयजय गरिदिनुपर्ने कामै पो के गरेको छ र ?
सबै विकृतिविसंगतिको जरो नै राजनीति हो, साहित्यले आग्रह गरेको सुसंगति पनि राजनीतिले नै स्थापन गर्ने हो, तर गरिरहेको छैन। राजनीतिक प्रणाली फेरिए पनि मान्छे अर्थात् नेताका प्रवृत्ति पुरानै सत्ताका सारथिहरूको जस्तो छ। ती नसप्रेसम्म प्रणालीमात्र फेरिएर आममान्छेको दुर्दिन फेरिँदैन। त्यसैले ती फेरिऊन् भन्ने आग्रह हो, राजनीतिप्रतिको मोह पनि होइन, न त कुण्ठा हो।
तपाईंबारे त थाहा भएन तर जान्नेहरू भन्छन्- कम्युनिस्टको अनुदार घेराभित्र छुट्टै झुण्ड हुने गर्छ। कम्युनिस्टहरू समाजलाई संकुचित दायरामा मात्र बुझ्छन् र व्यवहारमा चाहिँ भ्रष्ट हुन्छन्। तपाईं यसबाट अछुतो हुनुहुन्छ ?
-तपाईंले भनेजस्तो अनुदार झुण्ड कम्युनिस्टको मात्र होइन, सबै राजनीतिक दलमा, विचार समूहमा र अन्यत्र पनि हुँदा रहेछन्। हामीले देखिरहेकै छौं। समाज, मान्छेलाई हेर्ने-बुझ्ने वैज्ञानिक दृष्टि सोच भएका मान्छे कम्युनिस्ट नै हुन्। जनताका सच्चा सेवक हुन् ती।
कम्युनिस्ट हुनु जनताका पक्षमा आफूलाई धेरै कठिन परीक्षाबाट उत्तीर्ण गराउनु हो। त्यसो भएर नै कम्युनिस्ट विचारप्रति मान्छेको आस्था जागेको बढेको हो। तर, हाम्रामा कम्युनिस्ट वा वामपन्थी बन्ने फेसन चल्यो। ड्राइभर-खलाँसीले बसको ढोकामा, ऐनामा, स्क्रिनमा चे गुवेराको स्टिकर टाँसेजस्तो। जहाँसम्म भ्रष्टताको कुरो ,छ त्यो मान्छेभित्रको खलता हो। त्यो खलता हाम्रो सन्दर्भमा सबै दलमा छ।
भ्रष्टाचारका ठूलाठूला बात लागेर अदालतले सजाय ठहर गरेका नेतालाई अत्यधिक मतले विजयी गराउने मतदाताभित्र पनि त्यही मौलोले जरो गाडेर त होला नि तिनले त्यस्तालाई जिताएको। ‘जोगी हुन राजनीति गरेको होइन', ‘घूस खाएकोलाई अचेल जनताले कमाएको भन्न थालेका छन्' भन्ने जस्ता कुरा आमराजनीतिक नेताका अभिव्यक्ति बनिरहेको सन्दर्भलाई हामीले हेक्का राख्यौं भने भ्रष्टाचारलाई संस्थागत गर्न खोजिएको सहजै भान हुन्छ।
यो खलताका विरुद्ध साहित्यको लडाइँ जारी रहन्छ। जहाँसम्म यो भ्रष्टतासँग मेरो छुतो-अछुतोको कुरो छ, त्यो त अहिले मैले यसोउसो भन्नुभन्दा पनि त्यस्तो अवसरमै पहिचान हुने होला।
राजनीतिमा ढल्केका कम्युनिस्ट लेखकहरू राजनीतिक मान्यतासँग गाँसिएका झगडालाई पनि साहित्यिक लेखनमा जोड्छन्। त्यसले समाजलाई के फाइदा हुन्छ ?
-साहित्य राजनीतिबाट अलग रहन सक्दैन, त्यसैले लेखकहरू राजनीतिप्रेरित हुन्छन् नै। तपाईंको आशय पार्टी प्रतिबद्धता होला। आफू जोडिएको ठाउँको प्रभाव लेखनमा पर्नुलाई सिकारु लेखनको हकमा त्यति अस्वाभाविक मानिहाल्नु परोइन। अनि एकाध लेखकले त्यसो लेखे भन्दैमा त्यसलाई सामान्यीकरण पनि गरिहाल्नु मनासिब होइन तर कतिपय प्रकाशक कम्युनिस्ट आन्दोलनभित्रका त्यस्तै विसंगति बेचेर पैसा कुम्ल्याउन हतारिएका छन्।
‘श्रीको खोजी'मा एउटा कथा छ- ‘करोडपति प्रकाशक' भन्ने। प्रकाशक लेखकलाई रोयल्टी दिँदैन, आफू मस्ती गर्छ र निकै धनी बन्छ। अहिले पनि प्रकाशकहरू ‘आफू घर बनाउने' तर लेखकलाई भोकै पार्नेखाले छन् ? तपाईंले भोग्नुभएका प्रकाशकबारे भनिदिनु न।
- ‘श्रीको खोजी'मा संगृअीत कथा ‘करोडपति प्रकाशक' औसत प्रकाशकको चित्र हो। धेरै लेखक र प्रकाशकले पनि यो कथा मन पराएबाट तद्जन्य पीडा अनुमान गर्न सकिन्छ।
इमाजदार ठानिएकै प्रकाशकबाट त लेखकहरू ठगिएकै हुन्छन् भने अरूको त कुरै छोडौं। पारि श्रमिकमा, छपाइमा ठग्ने कुरो त छँदैछ, अनुमति लिने कुरो त परै जाओस्, लेखकलाई जानकारीसमेत नदिई किताब छापिरहने, बेचिरहने प्रकाशकहरूको कमी छैन। हिजो झोलामा किताब बोकेर हिँड्ने प्रकाशक सबै बन्दोबस्त मिलाएर अचेल मोटर चढेर हिँड्न थालेका छन्। साहित्यका पाठक नभएका पनि होइनन्।
पाठक नभएका भए प्रकाशक मोटर चढेर हिँड्दैनथे। तर, कतिपय प्रकाशकमा व्यावसायिक र व्यावहारिक इमानदारिता छैन। हुन त प्रकाशकका पनि आफ्ना समस्या र सीमा होलान्, ती पनि बिक्रेताबाट ठगिएका होलान् तर बिक्रेताले ठग्यो भनेर वा अन्य बहानामा तिनले लेखकलाई ठग्नु, शोषण गर्नु सरासर बेइमानी हो।
बिनालेखक प्रकाशकको अस्तित्व रहन्छ र ! लेखकलाई, लेखनलाई पाठकसँग जोड्ने पत्रिका र प्रकाशक नै हुन्। तिनको दायित्व र योगदान महत्वपूर्ण छ। यो व्यावसायिक कर्मले तिनलाई आर्थिक लाभ पनि दिएको छ। त्यसैले ती लेखकमैत्री हुनु तिनकै हितमा छ।
तपाईंका अधिकांश कथामा मधेसको चित्र आएको छ। नेपालमा आएको पछिल्लो राजनीतिक परिवर्तनसँगै मधेस निरन्तर आन्दोलनमा छ। यसलाई कसरी हेरिरहनुभएको छ ?
-हो, विगत आन्दोलनपछि मधेस निरन्तर आन्दोलनमा छ। हक अधिकार दिलाउने भनेर अहिलेमात्र होइन सात सालदेखि नै मधेस पटकपटक आन्दोलित भएको हो। हिजो केन्द्रीकृत राजनीतिक व्यवस्था भएकाले मधेसमात्र होइन, सिंगो मुलुक त्यो अतिवादबाट प्रताडित रह्यो।
मधेसमा जति विकास पहाडमा कहाँ भएको छ र ? तर, मधेस आन्दोलनका अगुवाहरूले अधिकार वञ्चनाको कुरोलाई पहाडेका विरुद्ध जोडे, पहाडेलाई मधेसबाट विस्थापित गरे। भारतको धाप थाप्दै नाकाबन्दी गरेर सिंगो मुलुकलाई दुःख दिए। यो नजाति कुरो थियो। मधेसलगायत जुनै आन्दोलन पनि वर्गीयतासँग जोडिएन भने त्यो अग्रगामी हुँदैन।