पुलिसबाट पेन्टिङतिर

पुलिसबाट पेन्टिङतिर

सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा सुबोध घिमिरे बनेपामा रहेको बागमती अञ्चल प्रहरी कार्यालयको प्रमुख (एसएसपी) थिए। यो दुई वर्षअघिको घटना हो। जुरेमा उद्धारका लागि पुगेका सुबोधको आँखा परिवारका सबै सातजना गुमाएकी ११ वर्षीया बालिकाको अनुहारमा अडिए।

हजुरबुवादेखि दिदीभाइसम्म तीन पुस्ताका आफन्त एकैचोटी गुमाएकी थिइन् बालिकाले। सुबोधका आँखा पीडित बालिकाको अनुहारबाट सर्न मानिरहेका थिएनन्। अनुहारमा चिन्ता थिएन, स्ट्रेस देखिन्थेन्-तर अनुहार खाली थियो, आँखामा सुक्खापन देखिन्थ्यो।

बालिकाको अनुहारले यति विचलित बनायो, निदाउने बेला पनि सम्झिइरहने। बालिकाको विचित्र अनुहार क्यानभासमा उतार्ने मन बनाए सुबोधले। सुबोध तत्कालै बालिकाको अनुहार कोर्न चाहन्थे। तर, उनलाई पीडितको अनुहार उतार्दा फाइदा उठाउन खोजेको देखिन्छ कि भन्ने लाग्यो।

'कसैको पीडामा आफ्नो स्वार्थपूर्ति गरेको हुन्छ भनेर बनाइनँ', उनी सम्झिन्छन्। विपद्पछि राहतको ओइरो लाग्यो, जुरेमा। पीडितलाई तत्काल खान, बस्न समस्या थिएन। पीडितलाई गाँस, बासले पुग्दैन, ती बालिकाजस्तो भोगेकालाई संघर्ष गर्न काउन्सिलिङ पनि राहतमा दिनुपर्छ भनेर घच्घच्याउन थाले।

उनले महिनौंसम्म चित्र कोरेनन्। कोर्छु भनेर बसेपछि एक घन्टामै बालिकाको अनुहार क्यानभासमा उतारे। बालिकाको अनुहार आँखाले प्रत्यक्ष देखिरहेको जस्तो अनुभूति थियो, यसैले सुबोधलाई 'पोट्रेट' कोर्न समय लागेन।

क्यानभासको छेउतिर केही थप्न खोज्दा उनले केही डिस्टर्ब भएको अनुभव गरे। त्यो पेन्टिङ देखाउँदा किरण मानन्धरले पनि 'ओहो यो कम्प्लिट छ, किन चलाउन खोज्या' भनेपछि उनले थप्ने योजना त्यागे। अनि भोटेकोसीको रुमल्लिएको पानीको क्यानभासमा उतार्न बसे।

पहिरोले थुनिएको त्यो पानीको जटिलता उतार्न चाहिँ उनलाई एक हप्ता लाग्यो। दुवै पेन्टिङलाई उनले पेरिसको प्रदर्शनीमा राखे- नट फर सेलमा। बालिकाको चित्रले अवार्ड पनि पायो।

अर्को अनुहार सुबोधको आँखा अघिल्तिर मुस्कुराइरहेको छ, क्यानभासमा उतार्न बाँकी छ। बागमती अञ्चल प्रहरी कार्यालयको प्रमुख हुनु ठीक अघि उनी काठमाडौं जिल्लाको प्रहरी हाकिम थिए। एउटा कम्पनीको बोसको कल उनको मोबाइलमा बज्यो।

भएको के रहेछ भने ती फोनकर्ताको कम्पनीमा जागिरे एक युवती एक्कासि राजीनामा लिएर उनीकहाँ पुगिछन्। राजीनामाको कारण बताउन नचाहेकी युवतीको अनुहार एकदमै दुःखी, तनावग्रस्त देखे बोसले। के भएछ यिनलाई भनेर अफिसबाट युवती बाहिरिएको झ्यालबाट चिहाए। एक युवकले उनलाई पछ्याएको देखेपछि उनले सुबोधलाई फोन गरेका थिए।

सुबोधले पनि युवती गएको क्षेत्रमा पुलिस खटाएर युवती फेला पर्नासाथ आफूकहाँ लिएर आउन आदेश दिए। एकछिनपछि युवती उनको कार्यालयमा थिइन्। एकदम तनावग्रस्त ती युवतीले आत्महत्या गर्न हिँडेकी थिएँ भनिन्।

युवतीको कथा यस्तो थियो- भाइबरमार्फत सम्पर्क, भेटघाट हुँदै युवती एउटा पुरुषसँग प्रेम गर्न थालिन्। अभिभावकले गाली गर्दा पनि उनले प्रेमीमाथि भर गरिन्। बाहिर घुमफिर गर्न पनि गइन्। त्यसपछि पुरुषले असली रूप देखाउन थाल्यो। उनीमाथि ब्ल्याकमेलिङ सुरु भयो।

फेसबुकमा फोटो पोस्ट गरेर सार्वजनिक रूपमा हिँडडुल गर्न नसक्ने बनाइदिन्छु भन्न थाल्यो। पत्रकारहरू साथी छन्, छाप्दिन्छु भनेर धम्क्याउँदै आफ्नो इच्छापूर्ति गर्न थाल्यो। कतिसम्म भने, साथीको डेरामा बोलाएर केटीलाई नांगिन आदेश दिन्थ्यो, आनाकानी गरे फोटो सार्वजनिक गर्दिन्छु भन्थ्यो।

नांगिएपछि सबै सीसी क्यामेरामा कैद भएको छ भन्थ्यो। आजित भएपछि युवती आत्महत्या गर्न हिँडेकी थिइन्। तैपनि उनी पुरुषबारे बताउन इन्कार गरिरहेकी थिइन्। 'मलाई सिध्याएको छ तेल्ले', उनको रटान थियो।

सुबोधले विस्तारै काउन्सिलिङ गर्न थाले। अब आत्महत्याको बाटो रोजेपछि त्यसले भोलि के गर्ला भनेर के-को डर ? पुलिसले यहाँ नल्याएको भए त तपाईं यो संसारमा रहनुहुन्थेन, हैन र ? यसरी सम्झाउन थालेपछि उनमा आत्मविश्वास पलाउन थाल्यो।

केटालाई बोलाएपछि उसले युवतीलाई चिन्दिनँ भन्यो। 'केटी पागल होली', केटोले भन्यो। केटी चिच्याउन थालिन्। सुबोधलाई यति रिस उठेछ, उनले टेबुलको रिमोटले उनीतिर हाने। जबकि उनी अभियुक्तलाई हात छाड्ने कामबाट परै बस्ने पुलिस अफिसर थिए।

रिमोटको झटारो केटोलाई लागेन, तर केटो हच्कियो। अनि साँचो कुरो बोल्यो। आत्महत्या गर्न हिँडेकी ती युवतीलाई पछि फेरि दुःख देला भनेर सुबोधले महिलावादी संस्थामा सम्पर्क गराइदिए। केटो सरकारी जागिरे थियो, कारबाहीका लागि सम्बद्ध निकायमा पत्राचार गरे।

केही समयपछि ती युवती उनीकहाँ आएकी थिइन्। पहिलो दिन देख्दा र अहिलेकी युवतीको अनुहार पूरै फरक थियो, तिनै युवती हुन् भन्ने पत्यारै नलाग्ने। आँखामा चमक थियो। अनुहारमा लागो जिन्दगी जिउने लालसा झल्किएको। त्यसपछि एकाधचोटी ती युवतीले फोन गरे पनि सुबोधले रिसिभ गरेनन्।

'मसँग सम्पर्क गरेपछि त्यो घटना, त्यो युवकको याद ताजा हुनसक्छ', फोन नउठाउनुको कारणमा सुबोध थप्छन्, 'युवतीले त्यो समय÷घटनालाई बिर्संदै नयाँ जिन्दगी सुरु गर्नुपर्छ भनेर मैले फोन उठाइन्। मसँग हरेक कुराकानीले उनलाई त्यो घटना ताजा गराउँथ्यो।'

सम्पर्कबाट बाहिरिए पनि पछिल्लोचोटी भेट्दा ती युवतीको हँसिलो मुहार बिर्सेका छैनन्। अब उनी तिनको अनुहारलाई क्यानभासमा कोर्ने योजनामा छन्। जुरेमा भेटिएकी बालिकासँग फेरि भेट्नु छ। अघि चर्चा गरिएकी युवतीजस्तै हँसिलो मुहार देख्न पाइने आस छ। यस्तै यस्तै अनुहारलाई कोर्नकै लागि सुबोधले हालै पुलिसको रवाफिलो जागिरलाई दुई वर्षअघि नै बिराम दिए।

दुई वर्षको बीचमा उनी डीआईजीमा बढुवा हुने निश्चित थियो। क्षेत्रको हाकिम हुन सक्थे। तर, उनले जागिर छाडे। श्रीमती साधना पढ्न न्युयोर्क युनिभर्सिटी जाने भएपछि उनले दुई वर्ष काठमाडौंमा एक्लै बिताउनुपर्ने अवस्था आयो। उनले सोचे- जागिरको लोभमा बसिरहनुभन्दा बरु अमेरिका गएर पूरा समय पेन्टिङमा बिताउँदा उपलब्धिमूलक हुन्छ।

 

पुलिसको जागिरमा २८ वर्ष बिताउँदा उनले समाजसँग धेरै अन्तरसंवाद गर्ने मौका पाए। धेरै कुरा छन्, क्यानभासमा उतार्न। जागिरको लोभमा दुई वर्ष कुर्दा पेन्टिङमा पाउन सकिने धेरै सफलता दुई वर्षपछि धकेलिने निष्कर्षमा उनी पुगे।

'जागिर छाड्ने टुंगोमा पुगेपछि कसैसँग सल्लाह गरिनँ, राजीनामा लेखेर दिएँ' उनी भन्छन्, 'सल्लाह गरेको भए जागिर किन छाड्नु भन्ने खालका राय आउने निश्चित थियो।' श्रीमतीको पढाइ हुन्जेल अमेरिका-पेरिस-काठमाडौं आतेजाते गर्दै व्यावसायिक पेन्टर बन्ने योजनामा छन् सुबोध। 


सुबोध घिमिरेले चित्रकलाकै लागि पुलिसको २८ वर्षे रवाफिलो जागिर त्यागे, दुई वर्षअघि। 'अब पूरै समय पेन्टिङलाई दिने भएँ', अमेरिकातिर प्रवेश गर्नुअघि सुबोध भन्दै थिए।  

सुबोधलाई लाग्छ, उनीसँग पेन्टिङको सीप जन्मजात थियो। सानैमा उनी मुहारचित्र दुरुस्त कोर्थे। तर डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने समाजको जड मान्यताका कारण उनी ललितकला क्याम्पसको सट्टा अस्कल क्याम्पस भर्ना भए। साथीहरूको लहलहैमा पुलिस अफिसर भए।

कक्षा ६ मै आरएन (रमानन्द ) जोशीको विद्यार्थी थिए, उनी। जोशी अमेरिकनसँग मिलेर रत्नपार्कमा पार्क ग्यालरी सञ्चालन गर्थे। जोशी वाटर कलरमा पोख्त थिए। किरण मानन्धरलगायतका कलाकार सत्संग गर्न त्यहाँ आउँथे। घिमिरेले स्केचलाई थप निखार्ने मौका पाए।

यटखामा चिनियाँ लामु चित्रकारले सञ्चालन गर्ने कक्षामा झन्डै दुई वर्ष घोटिए। जे छ त्यही ठ्याक्कै उतार्न सक्ने भए। १० कक्षा पढ्दा रानीको जन्मोत्सवमा प्रतिस्पर्धा हुँदा उनको पेन्टिङ पहिलो भएको थियो। जोशीले सुबोधको पेन्टिङ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि इन्डिया पठाएका थिए।

पेन्टिङमा पर्याप्त सम्भावना देखाएका युवक एसएलसी पास गरेपछि अस्कल क्याम्पस भर्ना हुन पुगे। विज्ञान उनको मनपर्ने विषय। समाजमा पढ्न तेज जोकोही डाक्टर÷ इन्जिनियर बन्नुपर्छ भन्ने मान्यता यस्तो थियो, त्यसको हावाले उनलाई पनि छोयो।

अवस्थै त्यस्तो थियो, आफ्नो रुचिको कुरा पढ्ने, रुचाएको काम गर्ने भन्ने कमै हुन्थ्यो। कलेजमा पढ्दाचाहिँ मिल्ने साथीले जे गर्यो त्यसैलाई पछ्याउने चलन थियो। पुलिसको जागिरचाहिँ साथीहरूलाई पछ्याउने क्रममा खान पुगेको उनी बताउँछन्।

बीएस्सी पास गरेपछि साथीहरूले इन्स्पेक्टरमा जागिर खाने भन्न थाले। फेरि इन्स्पेक्टरको जागिर आकर्षित गर्ने खालको थियो। समाजमा रवाफ थियो। युवतीहरू आकर्षित हुन्थे।

यसरी लहैलहैमा खाएको जागिरमा २८ वर्ष बिते। आम पुलिसभन्दा फरक स्वभावका उनले जागिरमा 'इन्ज्वय' नै गरे। पुलिस भन्नासाथ मानिसको मनमा आउने चित्रभन्दा फरक थियो, उनको स्वभाव।

साथीभाइले पनि डाक्टरसाब भनेर जिस्क्याउँथे। तर, पुलिस संगठन आमरूपमा बुझिनेभन्दा फरक छ भन्छन्, उनी। यसैले अनफिट ठानेनन्। फिल्डमा दौडधुप गर्ने, हाट्टहुट्ट गर्नेका लागि त्यसैअनुसारको काम छ।

ब्यारेक बस्छु भने पनि छ। प्राविधिक काम पनि छन्। पढाउने शिक्षक हुन पनि सकिन्छ। गीत, संगीत धेरैतिर निखार्ने ठाउँ छ पुलिस संगठनमा। फेरि उनले सडकमा देखिने आम पुलिसभन्दा फरक 'इन्टेलिजेन्स' मा आधाभन्दा बढी समय बिताए।

यो जागिर यस्तो हो कि, जसमा युनिफर्म लाउन पाइन्न। फिल्डभन्दा पनि कोठामा बसेर सूचना संकलन र तिनको विश्लेषणमा दिमाग खियाउनुपर्छ। सिभिलयनभन्दा फरक देखिँदैन।

एउटा चित्रकार पुलिसमा लामो समय बिताएपछि अब पूर्णकालीन चित्रकार बन्दैछन्। तर, पुलिसमा बिताएको दिन खेर गएको ठान्दैनन् उनी। उनलाई पछुतो पटक्कै छैन। किनकि पुलिसको जागिरले इम्प्रेसन दिएको छ। समाजसँग व्यापक अन्तरसंवाद भयो।

व्यावसायिक पेन्टरले नदेख्ने÷नभोग्ने कुरा उनले भोगेका छन्। तिनै कुरालाई क्यानभासमा उतार्दा अरूभन्दा फरक÷विशिष्ट देखिने विश्वास उनमा छ। पेन्टिङमा सिर्जनशीलता चाहिन्छ, अरूले नसोचेको सोच्न सक्ने खुबी हुनुपर्छ।

पुलिसको जागिरले त्यो दिएको लाग्छ उनलाई। 'सुरुमै व्यावसायिक पेन्टर भएको भए ल्यान्डस्केप÷लाइफस्टाइललाई उतार्नमै सीमित हुन्थेँ कि', उनी भन्छन्, 'तर पुलिसको जागिरले त्योभन्दा फरक सोच्ने बनाइदिएको छ।' शशि शाहले हरेक कुरा घोडामार्फत अभिव्यक्त गरे।

सुबोध पुलिसको रूपमा समाजका विविध रूप भोगेकाले गर्दा यसरी एउटै विधामा सीमित हुन नसक्ने बनाइदिएको छ। 'म पेन्टिङमा एकदम ओपन छु,' भन्छन्, 'अनुभवको आधारमा अभिव्यक्त गर्न मन लागेका जे पनि बनाउँछु।'

पुलिसकै विभिन्न चरण पार गरे उनले। जागिर खाँदाको समय पञ्चायती थियो। दरबारमा कडा अनुशासनमा संस्था थियो। प्रजातन्त्रकालमा संगठन यसरी राजनीतीकरण भयो, भ्रष्टाचारको दलदलमा फस्यो। छोड्ने बेलामा सुधारको बाटोमा हिँडिरहेको पुलिस भोगे।

मान्छेमा एकचोटी परेको छाप हम्मेसी मेटिँदैन। यस्तै, फरक तालिममा, अभ्यासमा हुर्किएको पुलिसलाई आधुनिक बनाउने काम रातारात सम्भव छैन। तर, पुलिस सुधारमा जबर्जस्त हिँडेको उनको बुझाइ छ।

पुलिसका लागि टन्न घूस खान पाइने र घूस खान नपाइने दुवै ठाउँ थिए। घूस खान पाइने ठाउँमा पैसा बुझाएर सरुवा हुने चलन संस्थागत भयो। सुधारको पहिलो चरणमा बढाबढमा घूस खान पाइने अड्डामा सरुवा गर्ने चलन त बन्द भयो।

तर, घूस खाने मौका नपाएकालाई दुई-चार पैसा कमाओस् न त भनेर सरुवा गर्न थालियो-जुन गलतै थियो। पुलिस अब अफिसरअनुसार ठाउँ दिने चरणमा पुगिसकेको छ।

पुलिसले भोगेको समाज क्यानभासमा उतारे पनि पुलिसलाई क्यानभासमा उतार्न पाएका छैनन् उनले। पूरा समय बिताएले पुलिस उनको विषय हुनसक्छ। किरण मानन्धरको संगतले उनको रुचि फाइनआर्टबाट एब्सट्रयाक्टतिर मोडिएको थियो।

थर्मसको पेन्टिङ गर्दा हेर्नेले भित्र तातोपानी भएको पनि अनुभव गर्नुपर्छ भन्ने उनको मन्त्र थियो। 'पूरै समय यसैमा लागिने भैयो। हेर्दै जाउँ' अमेरिका लाग्नुअघि उनी भन्दै थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.