पृथ्वी तात्दा लिँडेमुसालाई सास्ती

पृथ्वी तात्दा लिँडेमुसालाई सास्ती

लाङटाङको तीन हजार मिटर अग्ला पहाडहरूमा एक खालको सानो छरितो जन्तु साँझ-बिहान पारिलो घाममा तपश्वीजस्तै ठूला चट्टानहरूमा बसिरहेको हुन्छ। वैज्ञानिक भाषामा 'पाइका' भनिने यो मायालाग्दो जीवलाई स्थानीय शेर्पाहरू 'भ्रागौम्जिन' भन्छन्।

यो लिँडेमुसा अर्थात् पाइकालाई शेर्पाहरू भिक्षुको रूपमा चित्रण गर्छन्। उसलाई जिस्क्याए हावाहुरी आउने र अति वर्षा हुने स्थानीय समुदायको विश्वास रहिआएको छ।

नेपालको सबै हिमाली क्षेत्रमा बस्ने साना स्तनधारी जनावर, सानो भए पनि हिउँदमा नसुत्ने, हिउँदको निम्ति वर्षात्मै खाना जम्मा गर्ने, हिउँदको जाडोमा अन्य जनावर र पन्छीलाई न्यानो बास दिने सरल र गुणकारी यो जीवको अध्ययन अत्यन्तै कम भएको छ।

हिन्दकुश हिमालय, तिब्बती पठार, उत्तरी चीन, रुस, इरान, मंगोलिया, जापान, क्यानाडा र संयुक्त राज्य अमेरिकामा यो जन्तु पाइन्छ। अमेरिकामा र क्यानाडामा यो जन्तुलाई जलवायु परिवर्तनको सूचकको रूपमा अध्ययन-अनुसन्धान गर्ने गरेको पाइन्छ।

नेपालको हिमाली क्षेत्र यो जीवको मुख्य बासस्थान हो जहाँ यो चुलबुले जीवमा जलवायु परिवर्तनको कस्तो असर भयो भन्ने अध्ययन गर्न म केन्द्रित भएँ।
लिँडे मुसा छोटो हातखुट्टा भएको र बाहिरी पुच्छर नभएको सानो स्तनधारी जनावर हो। वैज्ञानिक वर्गीकरणमा खरायो प्रजातिमा पर्ने लिँडेमुसा संसारमा २८ प्रजातिका छन्।

हालसम्ममा नेपालमा लिँडेमुसाका पाँच प्रजातिहरू ओकोतोना रोयली, ओकोतोना मारकोतिस, ओकोतोना नुब्रिका, ओकोतोना क्रुजोनिया, ओकोतोना थाइबेताना पाइएका छन्। तीमध्ये ओकोतोना रोयली, ओकोतोना मारकोतिस प्रजाति लाङटाङमा पाइन्छ र ओकोतोना नुब्रिका, ओकोतोना क्रुजोनिया प्रजाति भने मुस्ताङ हिमालपारि र नेपालको पूर्वी हिमालयमा ओकोतोना थाइबेताना प्रजाति पाइन्छन्।

तिखो स्वरमा चिर्रर आवाज निकाल्ने हुनाले यी मुसालाई सुसेली हाल्ने खरायो पनि भन्ने गरिन्छ। लिँडेमुसाको शरीरको तौल प्रजातिअनुसार एक सय २० देखि एक सय ५० ग्रामसम्म भएको पाइन्छ। यसकोे शरीरको लम्बाइ १५ देखि २० सेन्टिमिटर भेटिन्छ।

एक्लै बस्न मन पराउने यो मुसा भिक्षुजस्तै शान्त हुन्छ। अनुसन्धानको क्रममा भ्रागोम्जिनबारे स्थानीय शेर्पाहरू भन्ने गर्थे, 'यो जन्तु बुद्धजस्तै नै छ।'
जमिनमुनि सुरुङजस्तो दुलो बनाएर बस्ने लिँडेमुसालाई वसन्त ऋतुको अन्त्यसँगै उसका आमाले बच्चाहरू दुलोबाट बाहिर ल्याएर खाना खान र शिकारी जनावरबाट बच्ने अभ्यास सिकाइरहेको पनि देख्न सकिन्छ।

यो जीवले एक बेतमा दुईदेखि तीनवटा बच्चा जन्माउने गरेको पाइन्छ। र, दुईदेखि पाँच वर्षसम्म सामान्य उमेर भएको यो लिँडेमुसाले वर्षमा दुईपटकसम्म बच्चा जन्माउँछ।

चिसो तापक्रममा बसोबास गर्ने यो जनावरको तापक्रम अन्य स्थानीय जनावरहरूको भन्दा दुईदेखि तीन डिग्री सेन्टीग्रेडले बढी हुन्छ। पातलो छाला भएको र शरीरको ताप प्रसार गर्न नसक्ने लिँडेमुसालाई २९ डिग्री सेन्टिग्रेड भन्दामाथिको तापक्रममा राख्दा केही समयमै मृत्यु हुने अनुसन्धानले पुष्टि गरेको छ।


ठूलाको आहारा, सानाको सहारा

आकारले सानो, स्वभावले शान्त यो जीवले हिमाली भेगको पारिस्थितिक प्रणालीमा भने महत्वको हिसाबले ठूलो हिस्सा ओगट्छ। यसले असारदेखि असोजसम्म हरियो घाँस हुँदा दिनैभरि घाँस आफ्नो दुलोमा जम्मा गर्ने गर्छ।

अनुसन्धानकर्ताहरूले यसको सुरुङजस्तो दुलोमा ३० किलोसम्म घाँस जम्मा गरिएको पाएका छन्। जाडोको समयमा त्यही जम्मा गरेको घाँसमा लिँडेमुसामात्र होइन अन्य साना जीवहरू पनि भर पर्छन्। यहाँका साना चराहरू यही घाँसको न्यानोमा हिउँद काट्छन्।

यसरी यसले साना जीवहरूलाई सहारा प्रदान गर्छ।अर्कोतर्फ यो ठूला जनावरहरूको आहारा पनि हो। एक अनुसन्धानले हिउँचितुवाको २५ प्रतिशत आहारा लिँडेमुसा भएको पुष्टि गरेको छ। त्यस्तै फ्याउरो, न्याउरी मुसा, मार्टिन, चील, गिद्ध भालुले पनि यसलाई आहारा बनाउने गर्छन्।

हिउँदमा अधिकांश जनावर सुत्ने गर्छन्। त्यस समयमा नसुती सक्रिय रहने यो सानो जीवले सहारा र आहारा दुवै बनेर स्थानीय पारिस्थितिक प्रणालीमा महत्वपूर्ण स्थान ओगटेको छ। लिँडेमुसालाई यही कारण हिमाली जैविक प्रणालीको कि स्टोन प्रजाति भनिन्छ।

संकटमा लिँडेमुसा
नेपालको लाङटाङ क्षेत्रमा सन् १९६८ मा जापानी वैज्ञानिक कावामिची, १९७१ मा एबी, १९९९ मा स्मिथ र २००८ मा डिओटलले गरेको अनुसन्धानहरूको तुलनात्मक अध्ययनले लिँडेमुसाहरू झन्भन्दा झन् उचाइतिर बसाइ सरिरहेको देखाएको छ।

अनुसन्धान भन्छ, विगत ४५ वर्षमा यी लिँडेमुसाहरू चार सय मिटर उचाइमाथि बसाइ सरेका छन्। सन् १९६९ र १९७१ मा केही जापानी वैज्ञानिकहरूले गरेको अनुसन्धानमा २६ सयदेखि २८ सय मिटर उचाइमा पाइएका लिँडेमुसा हाल तीन हजार मिटर तल देखिन छाडेका छन्।

साथै यिनीहरूको जनघनत्व पनि घट्दो छ। ४५ वर्षअघि एक हेक्टरमा करिब १५ वटा लिँडेमुसा पाइने गरेकोमा सन् १९८० मा एक हेक्टरमा १३ वटा पाइएको तथ्यांक छ।

हाल गरिएको अनुसन्धानले तीन हजारदेखि ३५ सय मिटर उचाइमा सोही क्षेत्रफल जम्मा चारवटा र ३५ मिटर भन्दामाथि उचाइमा जम्मा १० वटासम्म पाइएको छ। यो तथ्यांकले लिँडेमुसाको बसाइसराइमात्र नभई जनसंख्या पनि घट्दो रहेको पुष्टि गर्छ।

विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको कारण उत्तरी अक्षांश र उच्च उचाइतर्फ बसाइ सरिरहेको यो जनावर संसारको विभिन्न ठाउँमा तापक्रम वृद्धिकै कारण लोप हुँदैछ। लाङटाङलगायतका नेपालका उच्च हिमाली क्षेत्रहरू विश्वव्यापी भइरहेको जलवायु परिवर्तनबाट अछुतो छैन। नेपालको जल तथा मौसम विभागको तथ्यांकअनुसार पनि लाङटाङमा विगत २५ वर्षमा तापक्रममा वृद्धि भइरहेको छ।

गत २५ वर्षमा हिमाली क्षेत्रमा अधिकतम तापक्रममा नभई न्यूनतम तापक्रममा उल्लेख्य वृद्धि भइरहेको छ। अधिकतम तापक्रममा ०.५ डिग्रीले तापमान वृद्धि हुँदा न्यूनतम तापक्रममा चार डिग्रीले वृद्धि भइसकेको छ र यो निरन्तर बढ्ने क्रममा छ।

 

न्यूनतम तापक्रम वृद्धिले हिउँदमा जम्मा हुनैपर्ने हिउँको घनत्व कम हुन्छ जसले गर्दा लिँडेमुसाको वासस्थानभित्र चिस्यान रोक्ने क्षमता घट्छ र लिँडेमुसालाई अत्यधिक चिसो हुन्छ।

लिँडेमुसाको बासस्थानमा यस बाहिरी तापक्रमको असरबारे अध्ययन गर्न तीन हजार मिटरदेखि पाँच हजार दुई सय मिटर समुद्री सतहभन्दा माथिसम्ममा दुई सय मिटरको उचाइ अन्तरमा २० वटा 'आई बटन' नामक यन्त्र राखिएको। 

हिउँदमा अधिकांश जनावर सुत्ने गर्छन्। हिउँदमा पनि नसुती सक्रिय रहने सानो लिँडेमुसाले सहारा र आहारा दुवै बनेर स्थानीय पारिस्थितिक प्रणालीमा महत्वपूर्ण स्थान ओगटेको छ। यही कारण हिमाली जैविक प्रणालीको कि स्टोन प्रजाति भनिन्छ। 

यी उपकरणहरूले ९० मिनेटको अन्तरमा राखिएको ठाउँको तापक्रम मापन गर्छन्। यी उपकरणहरू निरन्तर दुई वर्षसम्म राखेर अध्ययन गर्दा आएको तथ्यांकले बाहिरी न्यूनतम तापक्रममा आएको वृद्धिले हिउँदमा लिँडेमुसाको दुलोभित्रको तापमान निकै चिसिएको स्पष्ट गरेको छ।

अमेरिकाका अनुसन्धानकर्ता विभरले माइनस ५ भन्दा कम तापक्रममा लिँडेमुसा बाँच्न नसक्ने पुष्टि गरिसकेका छन्। र, यस अनुसन्धान अनुसार पुस-माघमा माइनस ५ डिग्रीभन्दा कम औसत तापमान भएका दिनहरूको ८० प्रतिशतभन्दा बढी छन् जसको सीधै सम्बन्ध सतहभन्दाबाहिर हावाको तापमानको वृद्धिसँग जोडेको छ।

पुस-माघमा ८० प्रतिशतभन्दा बढी दिनहरूमा माइनस ५ डिग्रीभन्दा कम औसत तापमान हुन्छ। यसको सीधै सम्बन्ध सतहभन्दा बाहिर हावाको तापमानको वृद्धिसँग जोडिएको छ।

हावाको तापमान बढ्दा हिउँदमा जमिनको माथि हिउँ जमेर हिउँले जनावरको बासस्थान दुलोलाई सिरकको जस्तो तापसेचन गर्नुपर्ने हुन्छ। तर तापमान वृद्धिले त्यसो हुन पाएन। यसले गर्दा लिँडेमुसाको बासस्थान रहेको दुलोमा अत्यधिक चिसो बढ्छ। अचानक भएको चरम चिसोले गर्दा यी मर्ने गर्छन्।

त्यसैले सामान्य तवरले बुझिने गरेजस्तो तापमान बढेर नभई बढेको तापमानको कारण भएको उल्टो प्रतिक्रिया सघन तापमान गिरावटले लिँडेमुसालाई हिमाली भेगमा संघर्ष गर्न बाध्य बनाइराखेको छ।

त्यस्तै अमेरिकाका स्मिथ र उनका साथीहरूले जापान र अमेरिकामा गरेको अध्ययनबाट २९ डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा लिँडेमुसा गर्मीकै कारण मर्छन् भन्ने नै प्रयोगात्मक पुष्टि गरेका छन्।

हाम्रो हिमालहरूमा अचानक सघन तापमा वृद्धि भएको हुने तथ्यांक छैन। साथै तापक्रम २९ डिग्री भन्दामाथि पनि पुगेका छैन। तसर्थ तापमान वृद्धिको प्रत्यक्ष असर लिँडेमुसामा परेको देखिँदैन।

तसर्थ नेपालका हिमालहरूमा अत्यधिक तापक्रम वृद्धि भएको नभई न्यूनतम तापक्रम बढेको पाइन्छ। यही न्यूनतम तापक्रम वृद्धि नै लिँडेमुसाको विनाशको कारण हो भन्ने साबित हुन्छ।

प्रत्येक दुई सय मिटरको उचाइअन्तरमा राखिएका आई बटनहरूको तथ्यांकले ३५ सय मिटरदेखि ४१ सय मिटरको उचाइमा जाडोमा न्यानो र गर्मीमा बाहिरी हावाभन्दा तापमान कम भएर लिँडेमुसालाई बस्न योग्य बनाएको देखाएको छ।

२५ सय मिटरभन्दा तल र ४१ सय मिटरभन्दा माथिको उचाइमा यो प्रक्रिया उल्टो छ। पुरानो अध्ययनसँगको तुलनामा लिँडेमुसा तल्लो उचाइमा पाइन छोडेको देखाएको छ। तर माथिल्लो उचाइमा यसको अवस्था र प्रभावबारे अध्ययन गर्नुपर्ने भविष्यको चुनौती हो।

चुनौती मान्छेलाई
मानवीय क्रियाकलापकै कारण विश्व तापमान वृद्धि भइरहेकोमा कसैको दुईमत छैन। यही मानवीय क्रियाकलापको असर यो फुच्चे शान्तजीवले भोगिरहनुपरेको छ। उसको अस्तित्व नै संकटमा परेको छ। तर, यो लिँडेमुसाको संकटमात्र होइन।

लिँडेमुसाको लोपसँगै उसको सहारामा बसेका साना जीव र ऊ आहार बन्ने ठूला जीवहरू पनि हराउन थाल्छन्। यसले गर्दा स्थानीय जीवन चक्रमै असर आउँछ। जसको प्रत्यक्ष-अप्रत्यक्ष असर मान्छेलाई पर्छ। त्यसैले पनि यो बुद्धजस्तो जीवलाई जोगाउन मानिसले प्रयास गर्न ढिलो भइसकेको छ।

(त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका वैज्ञानिक कोजू हाल चीनको 'कुन्मिङ इन्स्टिच्युट अफ जुलोजी'मा स्तनधारी प्राणीको विकासक्रमबारे अनुसन्धान गर्दैछन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.