अद्भूत लोमान्थाङ (फोटो फिचर)
मुस्ताङ गेट चैलेदेखि उपल्लो मुस्ताङ सुरु हुन्छ। लोमान्थाङ जान हिँडेको हामीलाई चैलेबाट त्यहाँ पुग्न सातआठ घन्टा लाग्यो। समथर नांगा र फुस्रा पहाडी शृंखलाले यात्रालाई रोमाञ्चक बनाइरह्यो।
वरिपरि उभिएका पहाड कुनै कलाकारका सुन्दर कालीगढी रचनाजस्ता लाग्थे। बाटैभरि ठाउँठाउँमा ध्वजापताकासहित बौद्घ छोर्तेनहरूले हामीलाई उस्तै आत्मिक स्वागत गरिरहे। यसरी एकनासको सम्म बाटो नाघ्दैनाघ्दै हामी लोमान्थाङ पुगेका थियौं। त्यहाँ पुग्दा लोमान्थाङको रमणीय भव्यताले निकै लोभ्यायो।
अद्वितीय हिमाली सभ्यता, संस्कृति र सम्पदाको ऐतिहासिक थलो हो लोमान्थाङ। यहाँ तिब्बतियन मूलका लोवा जाति एवं रैथाने थकाली समुदायलगायतको विविधतायुक्त जीवनशैली र बसोबास छ।
मुस्ताङ राज्य स्थापनाका सम्बन्धमा धेरै किंवदन्ती छन्। तिब्बती संस्कृतिमा यस क्षेत्रको प्रभावले बौद्ध बोन-पो तथा ताओ धर्मका लागि पनि लोमान्थाङले विशेष महत्व राखेको छ।
एउटा स्वतन्त्र राष्ट्रका रूपमा पश्चिम तिब्बतबाट आएका योद्घा आमेपालले सन् १३८० मा स्थानीय रजौटामाथि कब्जा जमाई केचर झोंगको किल्ला निर्माण गरेपछि मात्र मुस्ताङ राज्यले स्वतन्त्रता पाएको इतिहासमा उल्लेख छ।
सांस्कृतिक रूपमा अद्यावधिक अस्तिवका रूपमा यहाँ मुस्ताङे राजा जिम्मे परवल विष्टले शासन गरिरहेका छन्। विष्ट आमेपालका २५औं उत्तराधिकारी हुन्। ३० फिटभन्दा अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा अवस्थित छ लोमान्थाङ दरबार।
०००
मुस्ताङ जिल्लाको पर्यटन विकासमा लोमान्थाङको उपस्थिति ज्यादै महत्वपूर्ण मानिन्छ। यहाँ मनाइने गुरुङ र विष्टहरूको मुख्य पर्व तिजी मेला अन्तर्राष्ट्रिय रूपमै प्रख्यात छ। समस्त लोमान्थाङवासीको सुख, शान्ति, समृद्धि र राजपरिवारको दीर्घायुको कामनासहित यो मेला मनाउने गरिन्छ।
यस मेलामा राजाको उपस्थिति अनिवार्य हुन्छ। यद्यपि गत वर्ष गएको भूकम्पले दरबारमा क्षति पुर्याएपछि मुस्ताङे राजा विष्ट काठमाडौंमा बासोबास गर्दै आएका छन्। अहिले राजाको स्वास्थ्य कमजोर बन्दै गएको उनका स्वकीय सेवामा रहेका चन्द्रबहादुर थकाली बताउँछन्।लोमान्थाङमा जनसंख्याको ९५ प्रतिशत मानिस बौद्ध धर्म मान्छन्। लोमान्थाङवासी तिब्बेत-बर्मन भाषा समूहको तिब्बती भाषा बोल्छन्। यद्यपि उनीहरू अन्य जातिसँग बोल्दा भने नेपाली खस भाषामै कुरा गर्छन्।
पर्यटकीय गतिविधिबाट धानिएको यहाँको स्थानीय अर्थतन्त्र अघिल्लो वर्षको भूकम्पको मारमा पर्यो। हरेक वर्ष ८/१० हजार देशीविदेशी पर्यटक पुग्ने लोमान्थाङमा गत वर्ष मुस्किलले हजारमात्रै पर्यटक पुगे।
लोमान्थाङलाई दुर्गम क्षेत्रभित्रको संरक्षण क्षेत्रका रूपमा लिइन्छ। यहाँ सन् १९९२ देखि मात्रै विदेशी पर्यटकका लागि प्रवेश खुला गरिएको थियो। लोमान्थाङबाट चीन भित्रिने कोरला पाससम्म कच्ची बाटो पुगेको छ।
लोमान्थाङबाट कोरला पुग्न दुई घन्टा लाग्छ। यहाँ परम्परादेखि चल्दै आएको हिउँदे अथवा मौसमी बसाइँसराइ परम्परा अझै छ। यो बसाइँसराइसँग उनीहरूको व्यापार पनि जोडिएको छ। हिउँदको ठन्डा मौसममा उनीहरू प्रायः व्यापारिक प्रयोजनका निम्ति गर्मी ठाउँहरूमा बसाइँ सर्छन्।
वर्षको ६ महिनामात्रै लोमान्थाङमा बढी पर्यटकीय चहलपहल हुन्छ। लोमान्थाङ प्रवेशका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति पाँच सय डलर नेपाल सरकारलाई प्रवेश शुल्क बुझाउनुपर्छ।
०००
लोमान्थाङ सहरलाई माटोको सहर (मड सिटी)का रूपमा पनि विश्वले चिन्दै आएको छ। यहाँका घर, दरबार, गुम्बा, मन्दिर सबै माटोले बनेका छन्। यी उपलब्ध प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण लोमान्थाङ सबैको रोजाइमा छ।
लोमान्थाङको पदयात्रालाई संसारको उत्कृष्ट पदयात्राका रूपमा लिने गरिन्छ। लोमान्थाङलाई पर्यटकहरू चन्द्रमाजस्तो सतह भएको जमिन भन्छन्। वैशाखदेखि भदौसम्म लोमान्थाङ घुम्ने उपयुक्त महिना मानिन्छ।