धानखेती मासेर अलैंची खेती

धानखेती मासेर अलैंची खेती

दीपक अधिकारी
बेसीशहर: पसगाउँ–८ का होमबहादुर गुरुङले २५ रोपनी क्षेत्रफलमा २ वर्षदेखि अलैंची खेती शुरु गरेका छन् । राम्रो आम्दानीको स्रोत मानिने धानखेती मासेर उनले अलैंची लगाएका हुन । तर अहिले भने धानबाट हुने आम्दानीभन्दा अलैंचीबाट हुने आम्दानी धेरै रहेको छ ।

गाउँको केही खेत बाहेक अन्यमा अलैंची लगाएका उनले २ बर्ष अघि जिल्ला कृषि बिकास कार्यालय लमजुङबाट ५० प्रतिशत अनुदानमा ६ हजार बेर्ना र अन्य आफ्नै लगानीमा उनले अलैंची खेती शुरु गरेका थिए ।

गतबर्ष १२ हजार अलैंचीका बिरुवा रोपेका उनले यो बर्ष १ क्वीन्टल अलैंचीका बिरुवा बेच्ने तयारी गरेका छन् ।

गाउँमा ब्यक्तिगत तथा सामुहिक रुपमा अलैंची खेती लगाईएको छ । पसगाउँ–९, मा भने काम्रेदेबी अलैंची कृषक समुह र प्रगतिशील अलैंची कृषक समुहले सामुहिक रुपमा अलैंची खेती गरेको छ । स्थानीय डम्बरबहादुर गुरुङका अनुसार २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको अलैंची निकै फष्टाउँदै गएको छ । ‘अलैंचीबाट यो बर्ष गाउँमै कराडौं भित्रिदैं छ, उनले भने,‘ अलैंची खेतीमा यूवाहरु पनि आकर्षित हुन थालेका छन् ।'

घनपोखरा–६, घिम्राङमा पनि अलैंची खेतीको मोह बढ्दो छ । बर्षेनी लगाईदै आएको धानखेतीको सट्टामा त्यहाँका स्थानीयले अलैंची लगाएका छन् । गाउँका जंगलपनि अलैंची खेतीले भरिएका छन् ।

स्थानीय आशिष गुरुङ भन्छन, ‘गाउँमा फ्रोंचे अलैंची कृषक समुहले झण्डै ३ सय रोपनी क्षेत्रफलमा अलैंची लगाएको छ, ब्यक्तिगत रुपमा पनि अलैंची लगाउनेहरु थुप्रै छन् ।'

 

थेग्नै नसक्ने माग

राम्रो कमाई हुनेभएपछि अलैंची खेतीमा आकर्षण बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङको तथ्याङ्क अनुसार अलैंची खेतीमा कृषकको माग थेग्नै नसक्ने छ ।

लमजुङका किसानहरुले यस वर्ष ३५ लाख विरुवा माग गरेका छन । तर, जिल्ला कृषि विकास कार्यालयले भने यो वर्ष ४ लाख ३० हजार मात्र बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य लिएको बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालयको अनुदान र कृषक आफैंले गरी करिब १२ लाख बिरुवा यो बर्ष रोपिने कार्यालयको अनुमान छ । गतवर्ष सम्म २ सय ४ हेक्टर क्षेत्रफलमा बिस्तार भएको अलैंची खेती कृषकले यो बर्ष करिब १ सय हेक्टर क्षेत्रफलमा बिस्तार गर्ने अनुमान छ ।

अलैंची खेतीका लागि बाहिरी जिल्लाबाट पनि उत्तिकै माग छ । जाजरकोट, दैलेख, बझाङ, सुर्खेत लगायतका जिल्लाका किसानले पनि १० लाख अलैंचीको विरुवा माग गरेको बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी बताउँछन् ।

आगामी वर्ष भने करिब ७० लाख अलैंचीका विरुवा उत्पादन गर्ने जिल्ला कृषि बिकास कार्यालयको लक्ष्य छ । जिल्लाको ईलमपोखरी, सिउरुङ, भुलभुले, खाँचे, छिनखोला, भोंजे, घाम्राङ, पसगाउँ, फलेनी लगायत क्षेत्रमा अलंैचीका विरुवा उत्पादन भईरहेको छ ।

जिल्लामा गतबर्ष ६३ मेट्रिक टन अलैंची उत्पादन गरेर किसानहरुले १२ करोड ६३ लाख आम्दानी गरेको वागवानी बिकास अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार यो बर्ष भने १ सय २० मेट्रिक टन उत्पादन हुने र करिब २५ करोड आम्दानी गर्ने अनुमान गरीएको छ । ‘यो बर्ष २५ करोड आम्दानी हुन्छ भन्ने हाम्रो अनुमान हो, अधिकारीले अन्नपूर्णसँग भने, ‘हिउँदमा लामोसमय खडेरी परेकोले भने केही समस्या देखिएको छ ।'

अलैंची व्यवसायी संघका अध्यक्ष अजय तामाङका अनुसार यसवर्ष प्रति किलो १ हजार ८ सयदेखि २ हजार १ सय ५० रुपियाँसम्म अलैंची विक्री भईरहेको छ ।
नेपाल अलैँची व्यवसायी महासंघ लमजुङले अलैँची बिरुवाको मुल्य निर्धारण गरेको छ । अलैँचीको बिउ रोपेर उत्पादित बिरुवाको १२ रुपियाँ मूल्य निर्धारण गरिएको छ । पुरानो गाँजबाट उत्पादित बिरुवाको मुल्य भने प्रति बिरुवा १० रुपैँया तोकिएको छ ।

लमजुङको बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गौंडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की र पसगाउँ लगायतका किसानहरुले अलैंची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् ।

करिब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलैंची खेती गर्मी र जाडोमा हुने दुईथरीका हुन्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंची उत्पादन हुँदै आएको छ । कृषि कार्यालयले सहुलियतमा बिरुवा खरिद, अनुदानमा मेसिन, भट्टी निर्माण तथा समय–समयमा तालिम र परामर्श दिँदै आएको छ ।

लमजुङका त्यसै खेर गईरहेका भुभागमा अलैंची खेती विस्तार गर्ने कृषि कार्यालयको योजना छ । राम्रो आम्दानी हुन थालेपछि विदेश लागेका युवाहरुपनि गाउँ फर्केर अलैंची खेतितर्फ लागेका छन् ।

त्यस्तै अलैंची खेती बढ्दै गएपछि अलैंची भट्टी बढाउन कृषकले माग गरेका छन् । हालसम्म जिल्लामा रहेका ७० वटा अलैंची भट्टीले पनि नपुगेपछि अलैंची भट्टी बढाउन माग गरेका हुन् ।

कृषकको मागलाई सम्बोधन गर्न जिल्ला कृषि बिकास कार्यालयले यो बर्ष ६५ वटा अलैंची भट्टी र जिबिस, गाबिस, लमजुङ उद्योग वाणिज्य संघ लगायतको सहयोगमा झण्डै ३० वटा अलैची भट्टी सहयोग गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.