गाउँमै थुनिएको ६४ घण्टापछि १४ को उद्धार
री गाउँ(धादिङ): उत्तरी धादिङको विकट री गाउँ विकास समिति को वडा नं ९ चेप्राङमा चारैतिर पहिरो गएर गाउँमै थुनिएका १४ स्थानियहरुलाइ प्रहरीको सहायतामा जोखिमयुक्त ठाउँबाट उद्धार गरिएको छ । हिड्न सक्ने युवायुवतीलाइ पैदलमार्गबाटै उद्धार गरिए पनि पहिरोको अति जोखिम रहेको उक्त गाउँमा अझैपनि १० जना बृद्धा बृद्धा र हिड्न नसक्ने बालबालिका रहेका छन ।
बुधबार राति परेको अविरल वर्षापछि राति २ बजेबाट आएको चारैतिरको पहिरोबाट गाउँमा नै थुनिएका रि गाविसका चेप्राङबस्तीका १४ जनालाई प्रहरीले उद्धार गरेको हो । प्रहरीले पहिरोले थुनिएका ६४ घण्टापछि दुई स्थानीय युवा र दुई जना प्रहरीको सहायतामा उद्धार गरिएको हो ।
चारैतर्फको पहिरोलाई छिचोलेर नेपाल प्रहरीका रुद्र कुमाल र सन्दीप कुमाल स्थानीयहरु थुनिएको ठाउँमै पुगेपछि अन्य स्थानिय दुई युवाको सहयोगमा पहिरोको जोखिम रहेको गाउँ कटाएर चाप्राक गाउँ पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
गाउँको चारैतिर पहिरो गएर गाउँलेहरु सम्पर्कबाहिर भएको ६४ घण्टापछि चेप्राङ गाउँका स्थानीयहरु चाप्राक गाउँमा पुगेका हुन् । गाउँको चारैतिरबाट पहिरो आएको कारण रि गाविस ९ चेप्राङका आठ घर परिवार पहिरोको बीचमा छ भने १५ भन्दा बढी घरहरु पहिरोको उच्च जोखिममा रहेको छ ।
चेप्राङ गाउँ जाने लापा गाविसको पंगलीखोला, पूर्व तर्फ रहेको चेप्राङ खोला र गाउँको तलमाथि नै पहिरो आएको छ । लगातार झरिरहेको पहिरोका कारण ८ घर परिवारका १६ जना गाउँमा नै थुनिएका थिए । जिल्ला दैवि प्रकोप उद्धार समितिले हेलिकप्टेर प्रयोग गरी उद्धार गर्ने प्रयास गरेपनि मौषम खराबीका कारण उद्धार गर्न सकेको थिएन ।
पहिरो आएको ६४ घण्टा पछि नेपाल प्रहरीका दुई जना प्रहरी पहिरो छिचोलेर गाउँमा पुगेको प्रहरी निरीक्षक हरि पौडेलले जानकारी दिए । पौडेलका अनुसार रुद्र कुमाल र सन्दीप कुमाल दुई जना प्रहरीले स्थनीय दुई युवाको सहयोगमा गाउँका १४ जनालाई पैदलमार्गबाट नै उद्धार गरेका हु्न । उद्धार गरिएका १४ जनालाई रि गाविसको मेले डाँडामा निर्माणाधिन सामुहिक आवासमा राखिने प्रहरी उपरीक्षक सरदकुमार खत्रीले जानकारी दिए ।
१४ जना स्थानियहरुलाइ पैदल मार्गबाटै उद्धार गरिएपनि गाउँमा अझै बृद्धबृद्धार बालबालिकाहरु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाइ मौशममा सुधार आउने वित्तिकै हेलिकप्टर प्रयोग गरि उद्धार गरिने जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । रिगाउँको लाप्राङ पुग्न जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल यात्रा गर्नु पर्दछ ।