डेढ देशकदेखि झोलामै गाविस कार्यालय
डाँडाखर्क (मकवानपुर): विकट डाँडाखर्क गाविस कार्यालय डेढ दशकदेखि सचिवले झोलाबाट चलाइरहेका छन् । कुन ठाउँमा गाविस भवन निर्माण गर्ने भन्ने स्थानीयबीचको विवाद टुंगो नलाग्दा गाविस सचिव बर्सौंदेखि झोलाबाट कार्यालय सञ्चालन गर्न बाध्य भएका हुन् ।
डाँडाखर्क १ बरभन्ज्याङ र ९ नम्बर वडास्थित छ्याङ्दुङमा गाविस राखिनुपर्ने भन्दै जनता दुई धारमा विभाजित भएपछि गाविस निर्माणमा आएको रकमसमेत फ्रिज भएको गाविस सचिव वसन्त सिटौलाले बताए । तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा बरभन्ज्याङस्थित गाविस कार्यालयमा आगजनी गरेपछि गाविस भवनविहीन भएको थियो ।
शान्ति सम्झौतापछि २०६६ सालमा शान्ति मन्त्रालयको ४० लाख रुपैयाँ सहयोगमा बरभन्ज्याङमा भवन निर्माण थालिएको थियो । छ्याङ्दुङमा गाविस कार्यालय राख्न माग गर्दै आएका स्थानीयले भवन निर्माण सुरु भएको एक महिनापछि निर्माणमा अवरोध गर्दै बनेका संरचना भत्काएका थिए । उक्त घटनापछि ठेकेदारले असुरक्षाको कारण देखाउँदै निर्माण नगर्दा उल्टै क्षतिपूर्ति दिनुपरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर निर्मल प्याकुरेलले बताए । ‘त्यसपछि पनि हामीले स्रोत जुटाएर भवन निर्माण गर्ने प्रयास गर्यौं तर सफल हुन सकेका छैनौं', उनले भने ।
छ्याङदुङ गाउँ गाविसको सबै वडाको केन्द्रमा पर्ने भएकाले बरभन्ज्याङमा गाविस कार्यालय निर्माण गर्न नदिएको स्थानीय विशेष थापाले बताए । ‘हामीले गाउँमै चारकोठे भवन निर्माण गरेका छौं । यहींबाट गाविस कार्यालय सञ्चालन गर्दा हुन्छ',उनले भने,‘तर गाविस सचिवले हिम्मत गर्न सक्नुभएकौ छैन ।'
यता बरभन्ज्याङ वरिपरिका बासिन्दा आफ्नो गाउँबाट अन्यत्र गाविस कार्यालय जान दिने पक्षमा छैनन् । ‘बर्सौंदेखि यहींबाट सेवा लिँदा कसैलाई समस्या भएन । अहिले आएर भवन निर्माणमा अवरोध गर्नु विकासविरोधी कार्य हों', बरभन्ज्याङका बलेन्द्र तामाङले भने, ‘ढिलोचाँडो अन्य वडाका जनताले पनि बरभन्ज्याङमै गाविस राख्ने कुरामा सहमति जनाउँछन् भन्ने हाम्रो विश्वास छ ।'
दुई गाउँलेबीचको विवादका कारण काम गर्न समस्या भएको सचिव सिटौलाले गुनासो गरे । ‘गाविसको विकासबारे छलफल गर्न एउटा गाउँमा बैठक बोलायो भने अर्को गाउँका मान्छे आउँदैनन्', उनले भने, ‘दुवै गाउँमा आधाआधा समय दिएर काम गर्ने गरेको छु ।' कार्यालय भवन नहुँदा गाविसका महत्वपूर्ण कागजात जोगाउन समेत समस्या भएको उनले बताए ।
तामाङ जातिको बाहुल्य रहेको उक्त गाविस सदरमुकाम हेटौंडाबाट करिब एक सय किमि दूरीमा पर्छ भने धादिङ जिल्लाको दक्षिणी गाविस किरान्चोकसँग जोडिएको छ ।