आयोजकलाई आइसल्यान्डको डर

आयोजकलाई आइसल्यान्डको डर

एजेन्सी: जारी युरोकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार बिहान हुने अन्तिम क्वार्टरफाइनलमा आयोजक फ्रान्स पहिलोपटक ठूलो प्रतियोगिता खेलिरहेको आइसल्यान्डविरुद्ध उत्रँदैछ।

यद्यपि तुलनात्मक रूपमा कम अनुभवी मानिएको आइसल्यान्डलाई उपाधिकै दाबेदार मानिएको फ्रान्सले कमजोर आँक्ने गल्ती पक्कै गर्नेछैन। किनभने आइसल्यान्ड सम्भवतः एक्लो टोली हो, जसले जारी प्रतियोगितामै सनसनीपूर्ण नतिजा निकाल्दै क्वार्टरफाइनल यात्रा तय गर्न सफल भएको छ। त्यसको तुलनामा फ्रान्सले अझै आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकिरहेको छैन।

आइसल्यान्ड प्रतियोगिताकै फरक परिचय भएको टोली हो। जनसंख्या र देशको क्षेत्रफलसमेत निकै कम भएर पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने आइसल्यान्ड पहिलो टोली हो।

जारी युरोकप सुरु हुनुपूर्व त्यति नाम नसुनिएको आइसल्यान्डले प्रतियोगिता अघि बढ्दै जाँदा सबैको मन जित्न सफल भएको छ। आइसल्यान्डले प्रतियोगिताको पहिलो खेलबाटै सनसनीपूर्ण प्रदर्शन गरेको हो।

समूह चरणको सुरुआती दुई खेलमा पोर्चुगल र हंगेरीलाई १-१ को बराबरीमा रोकेको आइसल्यान्डले अन्तिम खेलमा अस्ट्रियालाई २-१ गोलले पराजित गर्दै नकआउट चरणको यात्रा पक्का गरेको थियो। प्रिक्वार्टरफाइनलमा आइसल्यान्डले अझ सनसनीपूर्ण नतिजा निकाल्यो।

 

पूर्व विश्व च्याम्पियनसमेत रहेको प्रतियोगिताकै बलियो टोली इङ्ल्यान्डलाई निर्धारित ९० मिनेटभित्रै २-१ गोलले स्तब्ध तुल्याउँदै आइसल्यान्ड क्वार्टरफाइनलमा पुग्न सफल रह्यो।

त्यसैले घरेलु र अनुभवी टोली भएर पनि फ्रान्सले आइसल्यान्डलाई कमजोर मान्नेछैन। फ्रान्सेली प्रशिक्षक डिडियर डेस्च्याम्पसले आइसल्यान्डलाई कमजोर नमानेको बताइसकेका छन्।

'हाम्रा खेलाडीलाई राम्रोसँग थाहा छ कि आइसल्यान्ड कुनै भाग्यवश यहाँ आईपुगेको हैन। उनीहरू आफ्नो क्षमताका कारण यहाँ आइपुगेका हुन्', डेस्च्याम्पसले भनेका छन्, 'त्यसैले हामीले आइसल्यान्डलाई बुझेका छौं। उनीहरूलाई कमजोर मानेका छैनौं।'

प्रतियोगितामा आइसल्यान्डको रक्षापंक्ति निकै बलियो देखिएको छ। क्रिस्टियानो रोनाल्डोजस्ता स्ट्राइकर रहेको पोर्चुगल तथा विश् कै महँगो लिगका दुई सर्वाधिक गोलकर्ता स्ट्राइकर रहेको इङ्ल्यान्डलाई आइसल्यान्डको रक्षापंक्ति पार गर्न निकै मुस्किल देखियो।

त्यसैले जारी प्रतियोगितामा कठिन जित हात पार्दै आइरहेको फ्रान्सलाई पनि त्यसमा बढी नै मेहनत गर्नुपर्ने देखिएको छ।समूह चरणको खेलमा रोमानियालाई -१ तथा अल्बानियालाई २-० ले पराजित गरेको फ्रान्स अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमै रोकिएको थियो।

क्वार्टरफाइनलमा १० जनामा सीमित रिपब्लिक अफ आयरल्यान्डलाई अन्तिम समयमा गोल गर्दै २-१ को जितमा फ्रान्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो। त्यसैले फ्रान्सलाई काउन्टर एट्याकमा गोल गर्न माहिर देखिएका आइसल्यान्डका स्ट्राइकरलाई समेत रोक्नुपर्नेछ।

युरोकपको मुख्य प्रतिस्पर्धामा फ्रान्सका लागि आइसल्यान्ड नौलो प्रतिद्वन्द्वी भए पनि युरोकपबाहिर भने यी दुई पुराना प्रतिद्वन्द्वी हुन्। आइसल्यान्डले फ्रान्सस“ग यसअघि ११ पटक प्रतिस्पर्धा गरिसकेको छ।

ती खेलमा आठपटक फ्रान्स विजयी भइसकेको छ। आइसल्यान्डले एउटै जित हात पार्न सकेको छैन। तर, तीन खेलमा फ्रान्सलाई बराबरीमै रोक्न सफल भएको छ। ती खेलमा फ्रान्सले ३० गोल गर्दा आइसल्यान्डले आठ गोल फर्काएको छ।

फ्रान्सलाई आइसल्यान्डविरुद्धको खेलमा आफ्ना महत्वपूर्ण सेन्टर डिफेन्डर अडिल रेमी तथा सेन्टर मिडफिल्डर एंगोलो कोन्टेको अनुपस्थिति खट्किन सक्नेछ।
अघिल्ला लगातार दुई खेलमा पहेँलो कार्ड पाएका कारण रेमी र कोन्टे दुवै क्वार्टरफाइनल खेलका लागि निलम्बित छन्। आइसल्यान्डका लागि भने आफ्ना सबै खेलाडी उपलब्ध छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.