इन्धनको मूल्य घटेपछि हवाई भाडा सस्तियो
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएपछि आन्तरिक वायुसेवाले पनि भाडा पुनरावलोकन गरेका छन् । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको छ । इन्धनको भाउ घटेका कारण नियमित उडानका आन्तरिक वायुसेवाले पनि हवाई भाडा सोमबारदेखि लागू हुने गरी एक सय १५ रुपैयाँदेखि तीन सय ८५ रुपैयाँसम्म घटाएको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।
संघले आइतबार निर्णय गरेर सोमबारदेखि नै घटेको भाडादर लागू हुने गरी सम्बन्धित वायुसेवा कम्पनीलाई जानकारी दिएको वायुसेवा सञ्चालक संघका सदस्य एवं सिम्रिक एयरका बजार निर्देशक प्रज्ज्वल थापाले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संघका प्रतिनिधि सम्मिलित संयन्त्रको आइतबार बसेको बैठकले भाडा घटाएको उनले जानकारी दिए । नेपाल आयल निगमले शुक्रबार एक सय नौं रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य कटौती गरी ९९ रुपैयाँ कायम गरेको छ ।
हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँसम्म घटबढ भए वायुसेवा सञ्चालकले त्यही अनुपातमा इन्धन शुल्कका नाममा हवाईभाडा घटबढ गर्न पाउने प्रावधान छ । इन्धन सरचार्जका नाममा इन्धनको मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको छ ।
संघका अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सीमराको गन्तव्यका लागि सबैभन्दा कम एक सय १५ रुपैयाँ इन्धन सरचार्ज घटेको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीका लागि तीन सय ८५ रुपैयाँ घटेको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा पनि प्रतिकिलोलिटर एक सय डलर भाउ घटाएको थियो ।
घटेको मूल्यअनुसार माउन्टेन फ्लाइटको भाडा नौ हजार १० रुपैयाँ कायम भएको छ । यसअघि नौ हजार तीन सय ८५ रुपैयाँ रहेको माउन्टेन फ्लाइटको भाडा तीन सय ७५ रुपैयाँ घटेको वायुसेवा सञ्चालक संघको भनाइ छ । आन्तरिक वायुसेवाको हवाई भाडादर भने २०६७ देखि एउटै छ । यो भाडामा पनि १९ देखि ४३ प्रतिशत बढाउन सिफारिस भएको छ ।
अहिले इन्धनको मूल्य घटेकोले तत्काल भाडा घटेपनि केही दिनपछि हवाई भाडा बढ्ने वायुसेवा सञ्चालक संघको भनाइ छ । हवाई भाडा बढाउन सिफारिस भए पनि यसलाई सरकारले स्वीकृति दिनुपर्छ ।