'प्रधानमन्त्रीले गोली भरिएको बन्दुक बोकेका छन्'
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन् ।
रफत सञ्चार क्लबले गरेको साक्षत्कार कार्यक्रम उनले सरकार परिवर्तनको खेल भएमा प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचन आह्वान गर्न सक्ने बताएका हन् ।
‘वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक छ’, उनले भने, ‘यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद विघटन गरी निर्वाचनमा जान प्रधानमन्त्रीलाई बाटो खुल्ला छ ।’
वर्तमान सरकारले स्थानीय निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने भन्दै उनले वर्तमान सरकार न्यूनतम एक वर्षसम्म टिक्ने जिकिर गरे ।
नेपालका ठूला राजनीतिक दलहरुका १० प्रतिशत नेता कार्यकर्ता र २२ हजार कर्मचारी भारतको एजेण्ट भएको बताउँदै बिजुक्छेंले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको बताए ।
बिजुक्छेंले भारतले संविधानप्रति समर्थनको बहानमा सरकार पविर्तनका लागि आफ्नो पहुँच बढाउन लागेको भन्दै भारतसँग मिलिरहेका विवदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको बताए ।
भारतीय राजदुत रञ्जीत रेले नेपालमा राजदूतको भन्दा गुप्तचरको काम गरेको आरोप लगाउँदै उनलाई नेपाल सरकारले तत्काल भारत फिर्ता गर्नुपर्ने उनले बताए ।
फरक प्रसंगमा उनले नक्कली डाक्टर उत्पादन गरिरहेका निजी मेडिकल कलेजहरुको पहिचान गरी कारवाही गर्न सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिए । तर, उनीहरुकै संरक्षणमा विगतदेखि हालसम्मका सरकारका केही पदाधिकारी लागेकाले नेपाली जनस्वास्थ्यमा खेलवाड भइरहेको उनको टिप्पणी छ ।
उनले नेपालमा आर्थिक चलखेल गरी निजीक्षेत्रका मेडिकल कलेजमा भारतका पूँजीपतिका छोराछोरीका लागि डाक्टर उत्पादन गर्ने कामले नेपाललाई घाटा हुने उनको तर्क थियो ।
सरकारले भूकम्पपीडितलाई पुनर्निर्माणका लागि उपलब्ध गराउने भनेको एक लाख पचास हजार रुपैयाँ जगसमेत हाल्न नपुग्ने भन्दै उनले अभावमा परेका नेपालीले यो रकम खानामै खर्च गर्ने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणपछि भारत सशंकित भएको उनको भनाइ थियो । आफ्नो एकाधिकार पूँजीको बर्चस्व तोडिन लागेको संकेत पाएकाले भारत नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउन पछिल्लो समय परिवर्तन भएको उनको भनाइ छ ।