पुरानै अवस्थामा फर्कन सकेन अर्मला

पुरानै अवस्थामा फर्कन सकेन अर्मला

अर्मला (पोखरा): बाटुलेचौरको महेन्द्रगुफा पुग्नै लाग्दा दाहिनेतिर ओरालो झर्ने बाटो छ। त्यो बाटो ओर्लेर अघि बढ्नासाथ असारे हिलोको मगमग बासनाले स्वागत गर्छ। यही बाटुलेचौरका धर्मराज थापाले गाएको हह माले हह, हह तारे हहको भाकामा गोरु नारेर रोपाइँ गर्न व्यस्त देखिन्छन् किसान।

रोपाइँ सकिएका गरामा धानका बिरुवा हरिया भइसकेका छन्। ३÷४ सय मिटर अझै अगाडि बढेपछि भने धान रोप्न बाँकी बाँझो फाँट देखिन्छ। यहाँ धान रोप्ने छाँटकाँट छैन। हेर्दा सर्लक्क परेका खेतमा ३ वर्षअघिसम्म अन्तजस्तै यतिबेला लहलह धानका बिरुवा हुन्थे।

धान काटेर भर्खर थन्क्याइसकेको बेला थियो। ७० सालको मंसिर ५ गते ती खेतमा ठूलाठूला भ्वाङ पर्न सुरु भयो। दिनदिनै भ्वाङ थपिँदै गए। ठूलोबेसी फाँटभरि सयभन्दा बढी भ्वाङ परेका थिए।

अहिले सबै पुरिएका छन्। तै पनि भ्वाङ पर्ने डर पुरिन सकेको छैन। त्यसैले खेत नरोपी किसानले बाँझै राखेका हुन्। 'ठूला नभए पनि सानासाना भ्वाङ त अझै पनि परिरहेका छन्', धान रोप्न डराउनुको कारण खुलाए किसान शंकर थापाले, 'जोत्न ट्याक्टर लगाउँदा झन् भासिएला भन्ने डर।' उनले मात्रै ४ रोपनी खेत बाँझै राखेका छन्।

पोखरा-२८ का वडा सचिव वसन्तराज भट्टराईका अनुसार अहिले लगभग २ सय रोपनी जमिन बाँझै छ। गएका २ वर्ष भने अहिलेको भन्दा दोब्बर बढी खेत बाँझै थियो। जताततै भ्वाङ पर्दा किसानले रोपाइँ गर्न सकेका थिएनन्।

पोहोरसाल कत्ति पनि रोपाइँ नगरेकी सावित्री केसीले यसपालि १ रोपनीमा रोपिन्। सीता कार्कीको ४ रोपनीमध्ये सबैजसो खेतमा भ्वाङ परेको थियो। यसपालि भने ती सबै खेतमा उनले रोपाइँ भ्याइसकिन्। 'भ्वाङ पुरियो अनि रोपियो', उनले सुनाइन्।

 

बाटुलेचौरका शिव र मीना बानियाँ दम्पती खेत सम्याउँदै थिए। २ वर्ष बाँझै छाडेको खेत पुरपार पारेर रोप्न ठिक्क बनाएको मीनाले बताइन्। 'सबैले रोप्दैछन्', उनले भनिन्, 'अनि हामीले मात्रै किन बाँझो राख्ने? ' अहिले ठूलोबेसी फाँटको बिर्ताखेत भन्ने ठाउँबाहेक धेरैतिर रोपाइँ भइसकेको छ।

परेका भ्वाङ पुरेपछि र नयाँ भ्वाङ पर्न कम भएकाले बिस्तारै आत्मविश्वास पलाउँदै गएको कृष्णबहादुर बस्नेत बताउँछन्। अर्मला दैवैप्रकोप पीडित व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् बस्नेत।

उनका अनुसार जेठको अन्तिमसम्म पनि ससाना भ्वाङ अर्मलाका खेतमा परिरहेकै थिए। ३ वर्षअघि ट्रक नै अट्ने आकारका ठूलाठूला भ्वाङ परेका थिए भने पछिल्लो समय ससाना ड्रम आकारमा भ्वाङ परेको बस्नेतले बताए।

बिर्ताखेत भ्वाङको मुख्य केन्द्र थियो। त्यसबाहेक जोगीमणि गाउँका घरतिर पनि भ्वाङ परेको थियो। ५० परिवारले त धेरै दिनसम्म बास छाडेका थिए। अहिले भने दृश्य बदलिएको छ।

भ्वाङ पर्न रोकिएकैले बिस्तारै नयाँ घर पनि बन्न थालेका छन्। बिर्ताखेतनजिकै भने नयाँ घर थपिएका छैनन्। एक्लै ठिंग ठडिएको थियो रातो रङको एउटा घर कुमार छन्त्यालको। छन्त्याल परिवारले ऊ बेलैदेखि घर छाडेको थियो।

उनको परिवार त त्यो घरमा फर्केको छैन। तर उनकै आफन्त भीमा र कुमारी थापाको परिवार बस्छ। म्याग्दीमा कुमारकै गाउँमा घर भएका छिमेकी दुर्गा विश्वकर्माको डेरा पनि त्यही घर हो।

अर्मलामा भ्वाङ पर्नुको वैज्ञानिक कारण खोज्न जलउत्पन्न प्रकोप व्यवस्थापन विभागले विज्ञ टोली खटाएको थियो। खानी तथा भूगर्भ विभागबाट पनि विज्ञ आएका थिए।

जलउत्पन्न प्रकोपका सिनियर डिभिजनल इन्जिनियरिङ जियोलोजिस्ट श्रीकमल द्विवेदीका अनुसार भ्वाङ पर्नुको कारण अर्मलाको जमिनको प्रकृति थियो र त्यसमाथि मानवीय त्रुटि पनि। त्यसैको रोकथाम गरेपछि अहिले भ्वाङ पर्न घटेको उनी बताउँछन्।

कारण के थियो त ? द्विवेदी भन्छन्, 'अर्मलाको त्यो ठाउँको भूगर्भ कमजोर छ। भित्री सतहमा कमेरो माटो छ। भित्रभित्रै पसेको पानीले कमेरो माटो पगालेपछि भ्वाङ परेको हो।' आडैको काली खोलाको सतह गहिरिँदै गएको र दुहुनी खोलाको पानी पनि फाँटको भित्रभित्र पसेका कारण भ्वाङ परेको निष्कर्ष आफ्नो टोलीले उतिबेलै निकालेको द्विवेदीले जानकारी दिए।

परेका भ्वाङमा ढुंगा हालेर पुर्न जिल्ला विकास समितिले स्थानीयलाई सघाएको थियो। लगभग पुरिएको दुहुनी खोलामा पनि जिविसले डोजर लगाएर पानीको बाटो बनाएको थियो।

गएको वर्ष जलउत्पन्न प्रकोप व्यवस्थापन विभागले पानी दायाँबायाँ जमिनतिर नपसोस् भनेर खोला बग्ने बाटो सिमेन्टेड नहर बनाएको छ। त्यसबाहेक कालीखोलाको सतह उकास्न ४ ठाउँमा बाँध बाँधिएको जानकारी द्विवेदीले दिए।

'पहिला त्यही कालीखोला खोतलेर ढुंगाबालुवा र गिटी निकालियो', उनले भने, 'खोला गहिरिएर जाँदा खेततिर असर देखियो।' उनले खोला किनारमा भएको अतिक्रमणका कारण पनि त्यस्तो भएको सुनाए। 'खोलाको ठाउँ मान्छेले ओगटेपछिको असर पनि हो', उनले भने।

अहिले भने दुहुनी खोलालाई नहर जसरी बग्न सजिलो बाटो बनाइदिँदा अनि कालीखोलाको सतह उकासिँदा भ्वाङ पर्न रोकिएको उनले बताए। कृष्णबहादुर बस्नेत अध्यक्ष रहेको स्थानीयको समितिले प्रधानमन्त्री राहत कोषबाट प्राप्त रकमले कालीखोलामा ग्याबिन वाल लगाइरहेको छ।

द्विवेदी अझै पनि पूर्ण रूपमा अर्मला संकट नटरेको बताउँछन्। भन्छन्, 'कालीखोलाको पानी अझै पनि खेततिरको जमिनमा भित्रभित्र पसिरहेको छ, त्यसलाई अर्काेवर्षसम्म टाल्दैछौं। त्यसपछि समस्या पूरै सुल्झन्छ।'

उनका अनुसार जर्मन भूगर्भविद्को अध्ययनले अर्मला ठूलोबेसी फाँटको भूगर्भ कमजोर रहेको देखाएको थियो। सन् १९९० मै त्यो टोलीले त्यहाँ बस्ती नबसाल्न सुझाएको द्विवेदी सम्झन्छन्। तर त्यो सुझाव कसैले सुनेनन्। भ्वाङ परिसकेपछि मात्रै चेत खुलेजस्तो भयो।

अझै पनि विज्ञले पानी नलाग्ने खेती गर्न स्थानीयलाई सुझाइरहेका छन्। धानै रोप्न परे पानी नलगाए पनि हुने जात लगाउन उनीहरूको सुझाव छ। तर स्थानीय भने कृषि विकास कार्यालयले त्यस्तो धानको बिऊ दिन नसकेको गुनासो गर्छन्।

पोहोर साल सुन्दरमणि गुरुङले धान नलगाई कोदो रोपेका थिए। 'तर उनी एक्लो बृहस्पतिजस्तो भए, यसपालि धानै रोपे', वडासचिव भट्टराईले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.