जोखिममा दर्शक र खेलाडी ( फोटो फिचर )

जोखिममा दर्शक र खेलाडी ( फोटो फिचर )

काठमाडौं: त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रांगणमा इन्डोर कभर्डहल छ।

गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले यो इन्डोर कभर्डहललाई पनि क्षति पुर्याएको छ। तर अहिले पनि यही कभर्डहलले विभिन्न प्रतियोगिता आयोजनाको बोझ थेग्नु परेको छ, जसले ठूलो मानवीय जोखिमको सम्भावनासमेत बोकेको छ।

कभर्डहलका वरपरका भित्ताहरू भूकम्पको धक्काले चिराचिरा परेका छन्। इन्जिनियरहरूको टोलीले यो कभर्डहल भएको भवनलाई प्रयोग गर्न नमिल्ने भनी रातो स्टिकर टाँसिदिएका छन्।

कभर्डहल प्रवेशको मुख्यद्वारमा भूकम्पकै कारण फाटेको जमिनमुनिबाट फोहोर पानी र ढल निस्किएर आहाल बनेको छ। आयोजकहरू त्यसलाई कपडाको अस्थायी बारले छेकेर प्रतियोगिता आयोजना गर्छन्। मुख्य द्वारको बाटो नै बन्द भएपछि जोखिमपूर्ण अवस्थामा रहेका भवनको बीचबाट प्रतियोगितास्थलसम्म पुग्ने बाटो बनाइएको छ।

अझ जोखिमपूर्ण अवस्था त त्यति बेला देखिन्छ जति बेला दर्शकहरू भूकम्पले क्षति पुर्याएको प्यारापिटमा बसेर खेल हेर्छन्। इन्जिनियरहरूले कभर्डहलको दुवैतर्फको प्यारापिटलाई प्रयोग गर्न नमिल्ने जनाएका छन्।

बाहिरबाट पनि इन्डोर कभर्डहलको दुवैतर्फको भित्ता चिराचिरा परेको देखिन्छ। तर, त्यही प्यारापिटमा कतिपय आयोजकले विद्यालयहरूबाट ससाना विद्यार्थीलाई ल्याएर राख्ने गरेको देखिन्छ। कुनै पनि बेला केही ठूलो परकम्प गएको अवस्थामा त्यसले मच्चाउनसक्ने भागदौड र थिलथिलो भएका कभर्डहलका ती भित्ताहरूले ठूलो हताहती निम्त्याउन सक्छ।

 

यद्यपि त्यसतर्फ राखेपलगायत जिम्मेवार निकायको ध्यान पुगेको देखिँदैन। यस्तो जोखिमपूर्ण कभर्डहलमा पनि आयोजकहरू एउटा प्रतियोगिता सक्किएलगत्तै अर्को प्रतियोगिताको तयारीमा जुट्छन्।

सोही कभर्डहलसँगै जोडिएको सेमी कभर्डहलको अवस्था पनि उस्तै छ। नेपालका पहिलो ओलम्पियनद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाको नामबाट निर्माण गरिएको सेमी कभर्डहलका वरिपरिका पर्खाल १२ वैशाखकै भूकम्प र त्यसपछिका परकम्पले ढलिसकेका थिए। त्यहाको भुइँसमेत चिराचिरा परेको छ।

राखेपको पुरानो मुख्य प्रशासनिक भवनसँगै टाँसिएकाले त्यहाँ पनि प्रतियोगिता आयोजना गर्न मिल्ने अवस्था छैन। यद्यपि नियमित वर्षाका कारण आयोजकहरू त्यही सेमी कभर्डहललाई नै भए पनि प्रयोग गर्न बाध्य छन्।

भत्किएर थुप्रिएका इँटा र प्लास्टरका टुक्रा तथा वरिपरि थुप्रिएको फोहोरले लगभग भग्नावशेषमा पुग्न लागेको इन्डोर र सेमी कभर्डहललाई अझ कुरूप बनाएको छ। सेमी कभर्डहलतर्फ ढलेका पर्खालहरूको भाग्नावशेष अझै पन्छाइएको छैन। इन्डोर कभर्डहलको पछाडिपट्टि भात र फोहोर फ्याँकिने गरेको छ। यसले वरिपरिको वातावरण नै प्रदूषित पार्ने गरेको छ।

नेपालकै एकमात्र रंगशालाको अवस्था अझ नाजुक छ। रंगशालाको प्यारापिट रहेका प्रायः सबै क्षेत्र प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। रंगशालाको चारैतर्फका भित्ताहरूमा भूकम्पको धक्काले पारेका ठूला चिराहरू प्रस्ट देखिन्छन्। ती चिराबाट विभिन्न बोटबिरुवासमेत उम्रिएर रूख बन्न लागेका छन्।

रंगशालाको वरिपरिका ट्र्याक एन्ड फिल्ड पनि ठाउँठाउँमा भास्सिएर दौडन नमिल्ने भएका छन्।यसैगरी रंगशालाको प्यारापिटभित्र रहेका जोखिमपूर्ण ट्रेनिङ हलहरूमा समेत कराँते, बक्सिङ, जुडो, उसु, तेक्वान्दोलगायत मार्सल आर्टका खेलाडी दैनिक अभ्यास गर्न बाध्य छन्।

कभर्डहलको अघिल्लोतर्फ १० मिटरको दूरीमा रहेको स्विमिङ पुलमा एक थोपा पानी छैन। भूकम्पको धक्काले थिलोथिलो बनेको प्याराफिटसहित स्विमिङ पुलको सतह नै भास्सिएर गएको छ।

त्यसलाई सुरक्षित बनाउन लगाइएको पर्खालसमेत भत्किएपछि स्विमिङ पुल क्षेत्र पूरै बेवारिसे अवस्थामा छ।आश्चर्यको कुरो त ती क्षेत्रको भग्नावशेष हटाएर संरक्षणको पहलसम्म भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.