पोर्चुगललाई भाग्यको साथ
युरोकपमा यसपटक निकै माथिल्लो स्तरको खेल देख्न पाइएको छ। नकआउट चरणमा नसोचेका टोली घर फर्किएका छन्।
यो टोलीले जित्छ होला भन्यो, त्यही टोलीले नराम्रो हार खेप्छ। अनुमान नगरिएको टोली वेल्स र आइसल्यान्डले धेरै राम्रो खेलिरहेका छन्। स्पेन, इङ्ल्यान्ड, इटालीजस्ता टोलीले नराम्रो हार खेपे।
युरोकपमा नयाँ टोलीको सशक्त प्रदर्शनले प्रतिस्पर्धा बढाएको छ।आइसल्यान्ड, जर्मनी र फ्रान्सले अहिले धेरै राम्रो खेलिरहेका छन्। पोर्चुगल विस्तारै सेमिफाइनलमा पुगेको छ। समूहगत चरणका हरेक खेलमा बराबरी खेलेको पोर्चुगल सामान्य खेल प्रदर्शन गर्दै अगाडि बढिरहेको छ।
सेमिफाइनलमा पुग्न पोर्चुगललाई भाग्यले पनि साथ दिएको छ। म सानैदेखि पोर्चुगलको समर्थक भएकाले खुसी पनि लागेको छ। पोर्चुगललाई मैले समर्थन गर्नुको कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो हुन्। रोनाल्डोको खेल्ने तरिका मलाई धेरै मन पर्छ। जस्तोसुकै कठिन अवस्थामा पनि टोलीका लागि गोल गर्न सक्ने उनको अद्भुत क्षमता छ।
इङ्ल्यान्ड र स्पेनजस्ता नाम चलेका टोली घर फर्किएका छन्। यसअघि युरोकपमा जित्ने टोलीको अनुमान लगाउन सकिन्थ्यो। अहिले कसले जित्छ भन्न सकिन्न। तर पनि विश्वकप विजेता जर्मनीले जित्न सक्ने धेरै सम्भावना देख्छु।
मलाई पोर्चुगलले फाइनलमा जर्मनीसँग भिडेको हेर्ने धोको छ। पोर्चुगलमा राम्रा र अनुभवी खेलाडी छन्। रक्षापंक्तिको कमजोरीले छिट्टै गोल खानु पोर्चुगलको कमजोरी हो। मध्यपंक्ति र अग्रपंक्तिमा पोर्चुगललाई खोट लगाउने ठाउँ छैन।
अहिले फ्रान्स र जर्मनीले पनि माथिल्लो स्तरको खेल खेलेका छन्। आइसल्यान्ड पनि कमजोर छैन। घरेलु मैदान र समर्थकको साथ पनि फ्रान्सलाई छ। फ्रान्स सन्तुलित पनि देखिन्छ।
जर्मनीको खेल झनै राम्रो देखिन्छ। पासिङ र काउन्टर आक्रमणमा जर्मनीको धेरै राम्रो छ। इटालीसँग सडनडेडमा भाग्यमानी बनेकाले जर्मनीको मनोबल झनै उच्च छ।
(प्रकाश राष्ट्रिय फुटबल टोलीका रक्षक हुन्।)