बहुदल अभ्यासका तीन दसक
राणाकालपछिका दस वर्ष नेपालको राजनीति बहुदलमा आधारित रह्यो । लामो अन्तरिम व्यवस्थापछि १५ सालमा आएको संविधानले बालिग मताधिकारका आधारमा आम निर्वाचन गर्यो । त्यस आम निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमतको सरकार बनाएको थियो । जब राजा महेन्द्रले १७ सालमा त्यो सरकार भंग गरेर दलमा प्रतिबन्ध लगाए बहुदलीय व्यवस्था पनि भंग भयो ।
उन्नाईस वर्ष दलमाथि कडा प्रतिबन्ध लाग्यो । ०३६ सालको जनमतसंग्रहपछि नामको अगाडि प्रतिबन्धित वा प्र. राखेर दलहरू पुनः राजनीतिक अभ्यासमा लागे । कानुनतः दल प्रतिबन्धित भए पनि नामको सामुन्ने प्र. जोडेर गरिने गतिविधि करिब–करिब निर्वाध नै रह्यो ।
त्यसपछिका झन्डै एघार वर्ष दलहरूले कानुनतः प्रतिबन्धित र व्यवहारतः अपेक्षकृत खुला अभ्यास गरे । त्यसपछि पञ्चायत ढल्यो र दलहरू फुकुवा भए । त्यसपछिका करिब तीन दसक दलहरूले निर्वाध अभ्यास गरेका छन् । बीचमा राजाले प्रत्यक्ष शासन चलाएका महिनाहरूमा पनि दलहरू प्रतिबन्धित भएनन् । यसरी राणापछिका करिब सात दसकमा दुई दसक दलहरू प्रतिबन्धित रहे । एक दसक अर्धप्रतिबन्धित रहे ।
पहिलेको एक र पछिल्लो तीन गरेर चार दसक नेपाली जनताले बहुदलको अनुभव गरिसकेका छन् । त्यसमा थप अर्धप्रतिबन्धित एक दसक जोडिने हो भने करिब पचास वर्ष दलहरू राष्ट्रको मूलधारमा छन् ।
पहिला दुई दसक क्रमभंग भएकाले बहुदलीय संस्कृति विकास हुन नसकेको मान्दा पनि पछिल्ला निर्वाध तीन दसक कुनै प्रणाली स्थापना गरेर संस्थागत गर्न पर्याप्त समय हो । वर्तमानमा बहुदलीय व्यवस्थालाई कसैले पनि चुनौती दिएको छैन । तर त्यही बीचबाट बहुदल कि बहुलवाद भन्ने बहस सुरु गर्ने प्रयत्न भने भएका थियो । त्यो सबै कुरालाई नेपालको संविधान २०७२ ले टुंगो लगाइसकेको छ ।
अरू कुरामा विभिन्न मत सामुन्ने आए पनि बहुदलको अपरिहार्यताको बारेमा कसैले कुनै पनि कुनाबाट प्रश्न उठाएको छैन । त्यसैले अब नेपालमा बहुदलीय व्यवस्था अभ्यासको प्रारम्भिक चरणमा छ भन्नु उपयुक्त हुँदैन ।
राणाशासनबाट मुक्त भएको करिब सत्तरी वर्षमा कुनै न कुनै रूपमा मुलुकभित्रै पचास वर्ष अस्तित्व कायम गर्न सकेको बहुदलीय प्रजातन्त्र कुनै पनि कोणबाट कमजोर हुन्न । कसैले यसलाई अझै कमजोर भन्दछ भने त्यसमा कुनै न कुनै निहित स्वार्थ कायम रहेको मान्न सकिन्छ । बीचको एक कालखण्डमा आएको पञ्चायतलाई दोषारोपण गरेर आफूलाई उजिल्याउन पाउने समय अब समाप्त भइसकेको छ । इतिहासको पानामा सीमित भएको पञ्चायतको बेलाका कुराहरूको प्रतिरक्षा गर्ने वा व्याख्या गर्ने कोही छैन । यो अवस्थाको लाभ लिएर सम्पूर्ण दोष त्यसैलाई बोकाउने प्रवृत्ति कुनै बेलामा असरदार थियो ।
झन्डै पञ्चायतले भोग गरेको कालखण्ड बराबर बहुदलले भोग गर्दा पनि आफ्नो अक्षमताको कारण त्यहाँ देखाउँदा धेरैमा वितृष्णा आइसकेको छ । युवा अब के पञ्चायत भनिएजस्तै कालरात्रि थियो त भनेर खोज्न थालेका छन् । हिजोसम्म नाम लिँदा पनि कुल्ला गर्नुपर्ने जस्तो व्यवहार गरिएका राजा महेन्द्रलाई राष्ट्रवादको नायक भन्ने युवाहरू नै छन् । कहाँसम्म भने यसपटकको केपी ओलीको भारतसँगको अडानलाई महेन्द्रको जस्तो राष्ट्रवाद भनिँदैछ । केही चिन्तक, विचारकहरू पनि ओलीको अडानमा राजा महेन्द्रको अडान देख्न थालेका छन् । यो तुलना सही वा गलत छुट्ट्याउने यो आलेखको प्रयोजन हैन ।
मुलुकले वर्तमानमा भोग्नुपरेको कष्टका कारण नेताहरू पञ्चायतलाई दिँदैछन् । पञ्चायतकालमा मुलुकमा विभिन्न सरकारी जिम्मेवारीमा रहेर बहुदल स्थापना गर्न भूमिका खेलेका व्यक्तिहरू जीवितै छन् । तीमध्ये धेरै कोही निडर भएर औपचारिक रूपमै र कोही अनौपचारिक रूपमा आफूले अहिलेभन्दा पञ्चायतकालमा स्वतन्त्र भएर काम गर्न पाएको अनुभव सुनाउँछन् । जति पञ्चायतको बारेमा नकारात्मक कुरा उठाउने गरिन्छ, त्यति नै युवाहरूले त्यसमा सकारात्मकता पनि भेट्दै गएको पाइन्छ । यो कुरा युवा अभिव्यक्तिको सशक्त माध्यम भएका सामाजिक सञ्जालहरूमा छताछुल्ल हुन थालेका छन् ।
राणाशासनबाट मुक्त भएको करिब सत्तरी वर्षमा कुनै न कुनै रूपमा मुलुकभित्रै पचास वर्ष अस्तित्व कायम गर्न सकेको बहुदलीय प्रजातन्त्र कुनै पनि कोणबाट कमजोर हुन्न । कसैले कमजोर भन्छ भने त्यसमा कुनै न कुनै निहित स्वार्थ छ भन्ने बुझिन्छ ।
आजका युवालाई ट्रलीबसको अभाव खड्केको छ, सिटामोल र जीवनजल उत्पादन गरेर जनजिब्रोमा बसाउन सफल शाही औषधि लिमिटेड हराएकोमा दुःख छ । बाँसवारी छाला जुत्ता, कृषिऔजार कारखाना धुइँपत्ताल गरेर खोज्दैछन् । स्थानीय निकायमा मतदान गर्दाको अनुभव कस्तो होला भनेर युवा पुस्ता उत्सुक छ ।
यस्ता धेरै विषय आजका युवाले भेटेका छन्, जो नेपालमा दन्त्य कथामा झैँ उपस्थित थिए । समाजमा त्यस्ता चीजवस्तुहरूको उपस्थिति सुखकर थियो भन्ने बूढापाकाबाट सुनेका छन् । आफू पञ्चायतइतर भएर पनि मन्त्रीलगायत महत्त्वपूर्ण पदमा आफ्नै बलमा पुग्न सकेको किंवदन्ती सुनाउने बूढापाकाका कुरा सुन्न आजको युवा लालायित छ ।
अब सत्तरी वर्षमा झन्डै पचास वर्ष नेपालमा अस्तित्वमा रहेको बहुदलीय प्रजातन्त्रले आफूलाई शिशु भनेको सुहाउँदैन । आजको नेपाली जनता भाषण र आश्वासन हैन, परिणाम खोज्छ । हिजो के गरियो त भन्ने ओठे जवाफले जनतालाई उग्र बनाउँछ । किनभने हिजोले गरेन भनेर त्यसलाई सजाय दिइसकियो । त्यो हटाइसकियो । अहिले पनि हिजोलाई नै गाली गर्ने हो भने त्यो अक्षमता हो । यसै गर्ने हो भने हिजोलाई दिएको सजाय आजले पनि भोग्न तयार हुनुपर्छ ।