सुस्त हैन, चुस्त प्रशासन
अड्डा अर्थात् अडिने, आआफ्नो कार्य जिम्मेवारीमा अडिक भएर काम गर्नुपर्ने स्थानलाई अड्डा भनिएको हुनुपर्छ, यो व्याख्या अड्डाको शाब्दिक अर्थसँग मेल नखाने हुन सक्छ, तर सेवाको प्रकृतिको दृष्टिले भने अड्डालाई अडिने स्थानको रूपमा चित्रण गर्न सकिन्छ । जताजता हावा चल्यो त्यतात्यतै ढल्किने, जधौको संस्कारमा काम गर्न पल्किने, प्रवृत्तिका पात्रले अडिने गरी अड्डामा दह्रो खुट्टा टेक्न सक्दैनन् ।
जसो–जसो बाहुनबाजे उसै–उसै स्वाहा गरेर जिम्मेवारीलाई चरणागत र साष्टांगत रूपमा निर्वाह गर्नेहरू अड्डाका ढड्डा अर्थात् अनावश्यक बोझका रूपमा रहेका हुन्छन् । अड्डामा प्रायः सुस्त, मस्त, व्यस्त र ध्वस्त चरित्र प्रतिनिधित्व गर्ने पात्रको हालीमुहाली रहने गर्छ ।
उनीहरूका सोच र कार्यशैली प्राचीनतम् किसिमको रहने भएकाले एकातर्फ उनीहरू अड्डाभित्र आफैँ ढड्डाका रूपमा त रहेकै हुन्छन् भने अर्कोतर्फ अड्डालाई नै ढड्डै ढड्डाले भरिभराउ गराइएका हुन्छन्, तसर्थ हाम्रा सार्वजनिक कार्यालयका जनशक्ति उत्पादनशीलता र उपयोगिताको दृष्टिले महत्त्वपूर्ण साधन हुन् वा राज्यको लागि अनावश्यक दायित्व मात्र हुन् भन्ने विषयको वस्तुगत विश्लेषण गर्न आवश्यक भइसकेको छ । हामीलाई बोझिलो होइन, जोसिलो जनशक्तिको खाँचो छ ।
जना होइन, जनशक्ति चाहिन्छ, जसले व्यक्तिगत हितको प्रवाह नै नगरी सेवा प्रवाह गर्ने आँट देखाउन सकोस्, आँट नभएकाहरूको काम गर्ने छाँट नै ढाँट किसिमको हुने गर्दछ । ढाँट्नेहरू गफ गर्न भने निकै सिपालु हुन्छन् तर उनीहरूले अड्डामा नयाँ संस्कृतिको निर्माण गर्न सक्दैनन् । जो ढाँटको संस्कारमा हुर्केको छ, उसले जोखिम मोल्ने नैतिक आँट देखाउन सक्दैन ।
आँट नभएकाले साहस र दुस्साहसको निर्णय गर्न सक्दैनन् र उनीहरू कुनै पनि निर्णय गर्दासमेत सम्भावित परिणामको जोखिमबाट बच्न छहारीको खोजिमा भौँतारिइरहेका हुन्छन् । यस्ता प्रवृत्तिका पात्रमा कानुनबमोजिम निर्दिष्ट अधिकारको प्रयोग गर्दासमेत स्वयंको विवेकभन्दा निगाहको आदेश शिरोपर गर्ने संस्कार बसिसकेको हुन्छ । जसरी कुनै पनि यन्त्रले सञ्चालनको आदेशविना कुनै काम गर्न सक्दैन, त्यसैगरी यन्त्रबद्ध नेतृत्वले अन्तरविवेकको प्रयोग गर्ने सामर्थ गुमाउने गर्छन् र अड्डामा समेत आदेशमुखी संस्कारको कुसंस्कार स्थापित गराएका हुन्छन् ।
यस्तो शैलीका नेतृत्वले आफ्नो कार्यजिम्मेवारी वहन गर्ने क्रममा परिवर्तनमुखी, स्मरणयोग्य एउटा पनि काम गरेको उदाहरण नै फेला पर्दैन । त्यसैले पदमुक्तिपश्चात् उनीहरू सेवाग्राहीको विस्मरणमा रहने गर्छन् र उनीहरूको व्यक्तिगत पहिचान पनि पदमुक्तिसँगै अन्त्य हुने गर्छ, आफ्नै पूर्वपदीय पहिचान पनि कालान्तरमा आफूलाई नै नसुहाउँदो अनावश्यक भारजस्तो लाग्न थाल्छ । सेवामुखी, जनमुखी आधुनिक अड्डाको स्थापना र सञ्चालनको लागि देहायबमोजिमका विषयमा समयमै ध्यान दिनु आवश्यक छ—
सुस्त होइन चुस्त अड्डाको नीति अवलम्बन गरौँ
सुस्तता हाम्रा अड्डाको पहिचान बन्न थालेको छ । सुस्तताले गतिको प्रतिनिधित्व गर्दछ । विकासका लागि गति, मति र नीति आवश्यक हुन्छ, यी तीनवटै पक्ष कमजोर, जीर्ण रहेको अवस्थामा अड्डाले नयाँ मान्यता, आधुनिकीकरण र परिवर्तनको मर्म र भाव आत्मसात गर्न सक्दैन । सार्वजनिक हितको काममा निकै झर्को मान्ने, पदीय दायित्वलाई अनावश्यक बोझका रूपमा लिने, व्यक्तिगत लाभको पक्ष आकर्षित नहुन्जेल राष्ट्रसेवक कर्मचारी उत्साहित नै हुन नसक्नुको कारण पत्ता नलगाई अड्डाको गति बढ्न सक्दैन ।
गतिविहीन अड्डामा मन्तव्य त प्रशस्तै दिइने गरिन्छ, तर गन्तव्य भने हासिल हुन सक्दैन । गन्तव्यविनाको मन्तव्य भनेको फलविनाको आशीर्वादजस्तै हो, सेवाग्राहीको लागि यो बेसरोकारको विषय हुने गर्छ । हाम्रा अड्डाहरू गतिशील हुन नसक्नुका थुप्रै कारण छन्, जसमध्ये केही प्रमुख कारण यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्छु–
(क) बोझिलो नेतृत्वशैलीः जति–जति नेतृत्वले उच्च स्थान हासिल गर्दै जान्छ त्यति नै दैनिकी कामसम्बन्धी विषयमा मातहतलाई स्वतन्त्र छोडिदिने नीति अवलम्बन गर्नुपर्छ । अधिकार प्रत्यायोजन, विकेन्द्रीकरण, स्वायत्तता जस्ता विषयलाई पछिल्लो समयमा प्रशासनिक सुशासनको क्षेत्रमा निकै महत्त्व दिने गरिएको छ । ‘सेरोफेरो सबै मेरो, थोत्रा टिप्पणी फाइल मात्र तेरो' भन्ने नेतृत्वको तहमा देखा पर्ने जमिनदारी शैलीको अन्त्य नभएसम्म चुस्त प्रशासनको संस्थागत विकास हुन सक्दैन ।
हिलारी सगरमाथाको चुचुरोमा पुग्दा उनीसँग साथमा केही थिएन, उनले साथमा लिएर गएको पानीको एक बोतलसमेत बाटैमा छोडिदिएका थिए । उनले आफ्नो आत्मवृतान्तमा भनेका थिए, उँचो स्थान हासिल गर्ने हो भने साथमा हलुका हुन पनि सिक्नुपर्दो रहेछ । आफ्नै स्वनिर्मित विवशताको बोझले किच्चिएका, थिच्चिएका, सबै क्षेत्र र विषयवस्तुलाई आफ्नो अनुमति र सरोकारको मुद्दा बनाउने प्रवृत्तिबाट आक्रान्त नेतृत्वको सोच र शैलीका कारण अड्डा कुच्चिएको र खुम्चिएको स्वरूपमा देखिन्छ । नेतृत्वको रूपअनुरूप नै अड्डाको पनि स्वरूप र संस्कार बन्दै जाने भएकाले निरबोझी, स्वतन्त्र द्रष्टाभावको मर्मलाई आत्मसात गर्ने नेतृत्वले मात्र अड्डाको ढड्डालाई विस्थापित गरी आधुनिक अड्डाको स्थापना गर्न सक्छ ।
(ख) वक्र प्रणालीः सोझै प्राप्त गर्न सकिने विषयलाई पनि वक्र प्रणाली र प्रक्रियाका कारण अनावश्यक प्रशासनिक झमेलाहरू खडा गरिएका हुन्छन् । पाँच रुपैयाँमा खरिद गरिने सामानको लागि पनि माग फाराम, खरिद आदेश, स्वीकृत आदेश, तोक आदेशलगायतका विभिन्न बक्रिय प्रक्रियाको चक्रमा प्रशासनिक प्रणाली फस्ने गर्दछ ।
अन्यत्र प्रक्रिया र प्रणाली सहजताको लागि स्थापित गरिएका हुन्छन् तर हामीकहाँ भने अधिकार प्राप्त अधिकारीले प्राप्त अधिकारको दुरुपयोग गर्छन् नै भन्ने पूर्वाग्रहका आधारमा वक्रीय प्रक्रियाहरू खडा गरिएका कारण प्रशासनिक सुस्तता बढेको देखिन्छ । बिगार्ने वा सपार्ने काम, विचार र भावनाका उपज हुन् यसलाई झन्झटिलो प्रक्रियाले मात्र रोक्न सकिँदैन । निर्धारित लक्ष हासिल गरे– नगरेको आधारमा मूल्यांकन गर्ने प्रक्रिया र प्रणालीको विकास नभएसम्म वक्रीय प्रशासनिक प्रणालीले मात्र प्रशासनिक चुस्तता हासिल हुन सक्दैन यसले त छानबिनको अनावश्यक दायित्व मात्र बढाउँछ ।
संस्कार अन्त्य गरौँ
व्यवस्थापनको सामान्य तर महत्त्वपूर्ण सिद्धान्त के हो भने सुधार र विकासका लागि जे जुन आवश्यक छ, त्यसको संरक्षण र संवद्र्धन गर्ने, जे जुन अनावश्यक छ, त्यसलाई निरुत्साहित र नियन्त्रण गर्ने हो । चाणक्य नीतिमा पनि जुन अनावश्यक र अधिक छ, त्यो नै बोझ र झन्झट हो भनिएको छ । हाम्रा अड्डालाई आधुनिक, चुस्त बनाउने नै हो भने ठूलाठूला कुराभन्दा देहायमा उल्लिखित केही सामान्य कुरामा मात्र पनि योजनाबद्ध किसिमले काम गर्न सकियो भने उपलब्धताबाटै यथेष्ट उपलब्धि हासिल गर्न सकिन्छ ।
प्रदर्शनमुखी संस्कार र व्यवहारको अन्त्यः कार्यकक्षमा राखिने ठूलाठूला महँगा नेमप्लेट हटाउने, सेवाग्राहीको पहिचान र सहजताका लागि नेमप्लेट राख्न आवश्यक छ भने सबै कर्मचारीको नेमप्लेट र कक्षसंकेत एउटै स्थानमा राख्ने । सेवकको पगडीमा रहने राष्ट्रसेवकले नै अनावश्यक मर्यादामुखी व्यवहारको प्रदर्शन गर्ने पुरातनवादी वर्गीय सोचबाट मुक्त हुन आवश्यक छ ।
हामीलाई बोझिलो होइन, जोसिलो जनशक्तिको खाँचो छ । जना होइन, जनशक्ति चाहिन्छ, जसले व्यक्तिगत हितको प्रवाह नै नगरी सेवा प्रवाह गर्ने आँट देखाउन सकोस्, आँट नभएकाहरूको काम गर्ने छाँट नै ढाँट किसिमको हुने गर्दछ ।
(क) हाकिमगिरी संस्कारको अन्त्य गरौँ: ठूला, भव्य, अनावश्यक कार्यकक्ष, सेवा र सुविधाका लागि अनावश्यक जनशक्तिको दुरुपयोग गर्ने संस्कारबाट मुक्त हुन आवश्यक छ । सासाना काममा पनि परनिर्भर रहने, छुट्टै टाइपिस्ट, ढोके, चालकको व्यवस्था गरिनुपर्ने जस्ता अनावश्यक क्षेत्रमा ठूलो धनराशि खर्च हुने गरेको छ ।
सानाठूला सबै हाकिममा देखिएको यस किसिमको हाकिमगिरी र परनिर्भरताको संस्कारले एकातर्फ सरकारी अड्डाहरू बोझिला भएका छन् भने अर्कोतर्फ अड्डामा वर्गविभेद र मातहतको कुसंस्कार फैलिएको देखिन्छ । मातहत होइन, साथसाथको वातावरण र संस्कार बनाउन अड्डामा घन्टी बजाएर ढोके बोलाउने, छुट्टै टाइपिस्ट, चालक चाहिने, छुट्टै शौचालय चाहिने जस्ता परम्परागत हाकिम गिरी मान्यता र संस्कार बोकेका अड्डाको सट्टा सरल र सामूहिक वातावरण भएको अड्डाको स्थापना र सञ्चालन गरेमा मात्र हाकिम गिरी संस्कारको अन्त्य हुन सक्छ कुनै पनि पदीय हैसियत (पोजिसन) र निर्वाह गरिने भूमिका (रोल) अर्थात पोजिसन र रोल भिन्दा भिन्दै विषयवस्तु हुन्, हामीकहाँ भने पोजिसनलाई नै रोल ठान्ने गरिएकाले हाकिमको व्यवहारमा हाकिम गिरी संस्कारको गहिरो प्रभाव देखिन्छ । हाकिमको पोजिसनमा बसिसकेपछि निश्चित काम आफैँले गर्नु नै हुँदैन, गरिएमा हाकिमको जात र पहिचान नै समाप्त हुन्छ भन्ने ग्रसित भावना र विचारको अन्त्य आवश्यक छ ।
ठूलो बिरालो छिर्ने प्वालबाटै साना बिराला पनि छिर्छन्ः हामी भिन्नाभिन्नै र छुट्टाछुट्टैको संस्कारलाई अड्डामा संस्थागत गर्न खोजिरहेका हुन्छौँ । । एउटै छातामुनि सबै सेवाको उपलब्धताको धारणा विकास भइसकेकाले हामीले पनि सोहीबमोजिमको नीति र आचरण अवलम्बन गर्न आवश्यक छ ।
(ख) आध्यात्मिक वातावरण विकास गरौँ: सेवा भावविनाको सेवक र सेवाग्राहीको कुनै अर्थ हुँदैन । सेवाभाव, सृष्टि सिर्जना सबै चेतन मनका उपज हुन् । विचारविहीन र चेतनाविहीन अवस्थामा अड्डामा अड्डिएर काम गर्न सक्ने सेवाग्राही भावना स्थापित हुन सक्दैन । यसको लागि अध्यात्मिक मन हुन आवश्यक छ ।
अहिले ठूला प्राइभेट कम्पनीमा समेत कर्मचारीका लागि अध्यात्म, योग जस्ता विषयमा अनिवार्य प्रशिक्षण दिने गरिन्छ । अध्यात्म कुनै धर्मविशेषको प्रचारको विषय होइन, यो त जागृत मनको लागि आवश्यक पर्ने महत्त्वपूर्ण साधन हो । हाम्रा अड्डाहरूमा पनि स्वस्थ मन र विचारको लागि अनिवार्य रूपमा योग र अध्यात्मको प्रशिक्षण दिने व्यवस्था गर्न आवश्यक छ ।
सक्कलबमोजिम नक्कल गरौँ
अड्डा कस्तो बनाउने भन्ने विषयमा थुप्रै नयाँ मान्यता, सिद्धान्त प्रचलनमा आइसकेका छन् । हामीले पनि तदअनुरूपका मान्यतालाई आत्मसात गरी परम्परागत अड्डालाई विस्थापित गर्ने रणनीतिअनुरूप नमुना आधुनिक अड्डाको स्थापना गर्ने कार्ययोजना लागू गर्न आवश्यक छ । आधुनिकिकरण र परिवर्तनका लागि नक्कल गर्न सक्ने कला पनि आवश्यक हुन्छ तर नक्कलका लागि अक्कलको पनि त्यत्तिकै आवश्यकता पर्दछ ।
अक्कलविनाको नक्कल भने घातक हुने गर्छ । अड्डाको ढड्डा हटाउन कम्प्युटर अनिवार्य आवश्यकता हो भने कम्प्युटर र ढड्डासँगै लान खोज्ने अवस्था अक्कलबिनाको नक्कल हो । आधुनिक अड्डाको परिकल्पना गर्दा यसका निहित सिद्धान्त र नियमको पनि पालना गर्नुपर्ने हुन्छ । अड्डाको प्रशासनिक प्रणालीअन्तर्गतका अति महत्त्वपूर्ण क्रियाकलाप जस्तैः छनोट, नियुक्ति, सरुवा, बढुवा, अवकाश, वृत्ति विकासजस्ता विषयलाई प्रक्रियागत र प्रणालीगत किसिमले सञ्चालन गर्न नसकिएकाले गुण र दोषबीचको अन्तर कायम गर्न सकिएको छैन, जसले गर्दा कर्मचारीको ऊर्जाको प्रयोग र संरक्षणमा समस्या देखा परेका छन् ।
ढड्डा नै ढड्डाले थिच्चिएको, क्षमताविहीन नेतृत्वको संस्कारले थच्चिएको अड्डा भनेका सरकार र राष्ट्रकै लागि अतिरिक्त भार मात्रै हुन् । यिनीहरूमा भर पर्ने मूर्खता कसैले नगरे हुन्छ ।