गोमेज बाहिरिएपछि जर्मनी अप्ठ्यारोमा
पेरिस: युरोकपको उपाधि जित्ने अभियानमा रहेको जर्मनी आगामी खेलमा टोलीका प्रभावशाली खेलाडी मारियो गोमेजलाई गुमाउनु परेको चिन्तामा छ ।
इटालीविरुद्धको क्वार्टरफाइनल खेलमा घाइते भएका गोमेजले खेल्न नसक्ने भएपछि जर्मनी अप्ठ्यारोमा परेको हो । ३० वर्षीय गोमेज ह्यामस्टिङको समस्याबाट पीडित रहेको टोलीका चिकित्सकले जनाएका छन् ।
गोमेज इटालीविरुद्धको क्वार्टरफाइनल खेलको केही समयमै मैदानबाट बाहिरिएका थिए । मेसुट ओजिललाई गोल गर्न सहायता गर्ने क्रममा उनी घाइते भएका थिए । तत्काल उपचार थालिएको गोमेजको घुँडाभन्दा माथिको भागको मांसपेशी च्यातिएको छ । गोमेजले जारी युरोकपमा टोलीका लागि चार खेलमा दुई गोल गरेका छन् । जर्मन फुटबल संघले शनिबार विज्ञप्ति जारी गर्दै गोमेजले बाँकी खेल खेल्न नसक्ने जनाएको छ ।
जर्मन टोलीका प्रशिक्षक जोयचिम लोयले गोमेज टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएकाले सेमिफाइनलमा उनको अभाव खट्किने बताए । ‘गोमेजको चोटले म निकै दुःखी भएको छु । सेमिफाइनलको मुखमा आएर टोलीले महत्त्वपूर्ण हतियार गुमाउनु दुर्भाग्य हो', लोयले भने । उनले गोमेजको विकल्प आफूले खोज्ने पनि बताए । तर, लोयले गोमेजको स्थानमा कसलाई खेलाउने भनेर हालसम्म खुलाएका छैनन् ।
जर्मनी टोलीका अन्य खेलाडीले पनि चोटका कारण खेल गुमाउने देखिएको छ । जर्मनीका सामी खेदिरा र बास्टियन स्वेन्सटाइगरले पनि फ्रान्सविरुद्धको सेमिफाइनल खेल खेल्ने वा नखेल्ने भन्नेमा दुविधा रहेको बताइएको छ । विश्वकप विजेता जर्मनीले सेमिफाइनलमा बिहीबार आयोजक फ्रान्सको सामना गर्दैछ ।