इजलासमा प्रज्ञाप्रतिष्ठान
नेपाल प्रज्ञाप्रतिष्ठानले २०२२ सालदेखि अविच्छिन्न रूपमा गर्दै आएको राष्ट्रिय कविता महोत्सवको प्रक्रिया र नतिजालाई लिएर विगत केही वर्षदेखि विवादमा पर्दै आएको छ। यसपल्ट पनि त्यो विवादरहित रहन सकेन।
२०७३ को महोत्सव सुरु हुनुभन्दा केही समय अगाडिमात्रै कविता विभाग प्रमुख अमर गिरीले 'मिडिया एनपी डटकम'सँग गरेको कुराकानीमा २०७३ को महोत्सव विवादरहित हुनेछ भनेर दाबी गरे तर नतिजा सार्वजनिक हुनासाथ असन्तष्टिका स्वरहरू छताछुल्ल भई नै हाले, र सामाजिक सञ्जालमा तातो बहस सुरु भइहाल्यो।
हुन त सोही अन्तर्वार्तामा गिरीले यस्ता प्रतिक्रियाका सम्भावनाहरूको आकलन गरेकै थिए, र भनेका पनि थिए, 'झुर रचना फस्र्ट भएछ, झुर पो द्वितीय भएछ, फलानो रचना कस्तो बुलन्द थियो भन्नेहरू आउँछन्। यसलाई हामीले गम्भीरतापूर्वक लिनु हुँदैन।'
तर, देशको युवा हाँचका धेरै कवि, पत्रकार, समीक्षक, समालोचक र आमपाठक प्रतिष्ठानको निर्णयका विरुद्ध उभिएपछि त यसलाई गम्भीरतापूर्वक लिनु हुँदैन भन्नु पनि न्यायोचित नहोला।
नजिता आएपछि गिरीले आकलन गरेजस्तै प्रतिक्रिया आउन थालिहाले। गत वर्षचाहिँ पुरस्कृत कविहरूको कविताको स्तर र गुणवत्तालाई लिएर भन्दा पनि पुरस्कृत कविताहरू महोत्सवभन्दा अगाडि नै छापिएका रहेछन् भन्ने कुराले विवाद चुलीमा पुर्यायो। तर, यस साल पुरस्कृत कविताको गुणस्तरलाई लिएर नै बढी टिप्पणी भयो।
प्रथम भएको भनिएको मणिराज सिंहको कवितालाई लिएर नै सबैभन्दा धेरै टीकाटिप्पणी सामाजिक सञ्जालमा देखिए। धेरैले अन्य राम्रा भनिएका कविहरू चन्द्र रानोहाँछा, नारायण निरासी, सुनिता खनाल, नवीन प्यासीहरूका कविता श्रोताको छनोटमा परेका तर पुरस्कृतहरूको सूचीमा नपरेका भन्दै व्यापक रूपमा आक्रोश व्यक्त गरे।
असन्तुष्टिका स्वरहरूभित्र केवल प्रक्रियागत त्रुटि वा पुरस्कारलाई लिएर टिप्पणी भइरहेको छैन। अन्य पाटाहरू पनि छलफलमा आएका छन्। कतिपय कविले प्रतिष्ठानको कविता प्रतियोगिताको अब खासै औचित्य नरहेको भन्दै आइन्दा कविता नबुझाउने पनि जनाए। त्यो निश्चित रूपमा दुर्भाग्यपूर्ण हो।
मलाई लाग्छ, प्रज्ञाप्रतिष्ठान र स्वतन्त्र कविताप्रेमीबीच एउटा मनमुटावको स्थिति उत्पन्न भएकै हो र यसमा अलिकति भावुकता, अलिकति यथार्थपरकताले काम गरेको छ। यस प्रकारको असन्तष्टिको वातावरणमा केही सम्यक र वस्तुनिष्ट छलफल हुनु अत्यन्त जरुरी भएको छ।
वास्तवमा सिर्जना भन्ने चीज प्रतियोगिताको दायराभन्दा बाहिर हो वा माथि हो भन्ने तर्कमा त्यति दम छैन। सिर्जनाको प्राचीन इतिहास हेर्ने हो भने पनि प्रतिस्पर्धा सिर्जना सँगसँगै अगाडि बढी नै रहेका छन्।
प्राचीन कालमा ग्रिसेलीहरू दुखान्त नाटकको महोत्सव नै गर्थे र नाटकहरूको प्रतिस्पर्धा हुन्थ्यो, जसबाट छानिएका सर्जक स्थापित हुन्थे। सोफोक्लिस, एकिलस वा युफ्रिडस आदि नाटककार यसै प्रक्रियाबाट आए।
मुगल दरबारमा बैजु बावरा, गोपाल नायकजस्ता गायक प्रतिस्पर्धाबाटै स्थापित भएका हुन्। शास्त्रार्थ त पूर्वीय राजशी परम्पराको एक अभिन्न पाटो नै थियो। पुनर्जागरणकालमा चित्रकारितामा प्रतिस्पर्धा डरलाग्दो थियो।
कोही सर्जकले त प्रतिस्पर्धामै नजाने र कहिल्यै पुरस्कार नथाप्ने घोषणा गरेका पनि त छन्। त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो।
प्रज्ञाप्रतिष्ठानको कविता महोत्सव परम्पराको औचित्यमाथि प्रश्न गर्नु अनुचित हो।
प्रतिष्ठानले गरेको प्रतियोगिताले नै नेपाली कविताको राजमार्गमा अब्बल कविहरूको पहिचान भएको हो। तिनै कविताले पछि नेपाली कविताको बागडोर सम्हाले र नेपाली कविताका पाठकहरूलाई सम्झनलायक सिर्जना दिएर प्रफुल्लित पारे।
यो सत्य हो, नेपाल सरकारको मातहतमा रहेको र गौरवपूर्ण इतिहास बोकेको सबैभन्दा उच्च साहित्यक सदन हो प्रतिष्ठान र यसले विगत आधा शताब्दीको समयावधिमा कविता महोत्सवमार्फत नेपाली कविताकर्मलाई सार्वजनिक उत्सवका रूपमा विकास गरेकै हो।
यसै प्रक्रियाबाट नेपाली कविताको राजमार्गमा अब्बल कविहरूको पहिचान भएकै हो, जसले पछि गएर नेपाली कविताको बागडोर सम्हाले, र नेपाली कविताका पाठकहरूलाई सम्झनलायक सिर्जना दिएर प्रफुल्लित पारे।
यसै कार्यक्रममार्फत प्रतिष्ठानले नेपालको दूरदराजमा लुकेर बसेका र राजधानीका पत्रिकाले कहिल्यै स्थान नदिएका प्रतिभालाई यसै महोत्सवमार्फत कविताको परिदृश्यमा ल्याइदिएकै पनि हो र परिचित गराएको पनि हो। यस महोत्सवले मनोबल उच्च भएका कविहरू थप ऊर्जा र प्रतिबद्धताका साथ कविताकर्ममा लागेर देशको प्राज्ञिक फूलबारीलाई सुन्दर बनाएका पनि हुन्।
प्रतिष्ठानको पदक र प्रमाणपत्रले विश्वभरि सम्मानित कविका रूपमा भ्रमण गरेका कविहरूको सूची पनि लामै छ। आफैंमा दशकौंको इतिहास बोकेको र देशका धेरै कविले यसको प्रक्रियालाई स्वीकार गर्दै, यसैमार्फत कविता क्षेत्रमा प्रवेश गरेको यथार्थ पनि हामीले भावावेशमा आएर भुल्नु हुँदैन। त्यसैले यसको प्राज्ञिक, ऐतिहासिक र संस्थागत महत्व विशिष्ट रहँदै आएको छ नै।
तर, विगत केही वर्षदेखि निरन्तर रूपले विवादमा पर्दै आएको महोत्सवले प्रज्ञाप्रतिष्ठानको पछिल्लो समयको कार्यशैलीमाथि केही प्रश्न जन्माएको भने सत्य हो। यी प्रश्नहरू महोत्सवमा पुरस्कार जित्न नसक्नेहरूको रोइलोमात्रै भनेर पन्छाउने किसिमका छैनन् यसपालि।
प्रतिस्पर्धाभन्दा बाहिर रहेका तटस्थ काव्यप्रेमी पनि उत्रिएका छन् बहसमा। गम्भीर चिन्तनको समय भने अवश्यै हो। आखिर हामी सबैको हो प्रतिष्ठान। यसको गरिमा खस्किनु हुँदैन।
प्रज्ञाप्रतिष्ठानको पर्याय वा विकल्प कसैले निजी स्तरमा गठन गरेको अथवा कुनै समूहले बनाएको अर्को प्रतिष्ठान हुनै सक्दैन। यसको पुरस्कार, प्रमाणपत्र र पदकको गरिमा विशिष्ट छ। तर, सबैले माया गरेजस्तै प्रतिष्ठानले बाटो बिराउँदा औंलो ठड्याउने अधिकार पनि सबैले राख्छन्।
प्रज्ञाप्रतिष्ठनले आफूले प्राप्त गर्दै आएको उच्च ऐतिहासिक सम्मान, आमविश्वास, लोकप्रियता र विश्वसनीयतामाथि प्रश्न उठ्नु कसैका लागि पनि हितकर हुँदै होइन। कविमा महोत्सवमात्रै होइन, प्रतिष्ठानका अन्य धेरै क्रियाकलाप पक्षपाती र आग्रहसित भएको टिप्पणी गरिन थालेको छ। यो दुर्भाग्यपूर्ण हो।
यसपल्ट सुनिएको अर्को स्वर पनि चिन्तनयोग्य नै होजस्तो मलाई लाग्छ। गुनासो आयो, प्रतिष्ठानले तोकेका वा तोक्ने गरेका निर्णायकहरू अहिलेको कविताको स्वरमा अभ्यस्त पुस्ता नभएर अघिल्लो पुस्ता हो।
आखिर गणतन्त्र नेपालको फेरिएको मान्यताकै आधारमा गठन भएको हो प्रतिष्ठानको वर्तमान संरचना। अनि, फेरिँदो स्वर विविधतालाई स्वीकार गरेको दाबी पनि प्रतिष्ठानले गर्दै आएको हो।
बीबीसीलाई गत वर्ष दिइएको एक अन्तर्वार्तामा प्राज्ञ श्रवण मुकारुङले भनेकै थिए, 'नयाँ समय, नयाँ चेतना, नयाँ ढंगले कविहरू आएका छन्, कवितासाथ आएका छन्। त्यो चीजलाई, त्यो चेतनालाई पकडिनु पनि हाम्रो कर्तव्य हो भन्ने एकेडेमीले महसुस गरेको छ।'
त्यसै अन्तर्वार्तामा प्राज्ञ अमर गिरीले भनेका थिए, 'विगतमा सम्बोधन गर्ने कुराहरूमा केही कमीकमजोरी रहेका छन् भने ती कमीकमजोरी हटाउनुपर्छ। समकालीन काव्यसम्बन्धी जो विशर्महरू छन्, ती विमर्शहरूलाई पनि केही कुरालाई ध्यानमा राखेर अगाडि बढाउने प्रयत्न हाम्रो हुनेछ।' तर न कमजोरी हटाइयो न त परिवर्तित आवाज सुनिएको प्रतीत भयो।
फेरिँदै गरेको विश्वदृष्टि, सौन्दर्यशास्त्र र चिन्तनसँग अभ्यस्त निर्णायक नहुँदा फरक स्वरका कविता अन्यायमा पर्छन् नै। अखिर, सिद्धान्तहरू संशोधित हुँदै गएको नवीन सन्दर्भमा राष्ट्रवाद, राष्ट्रप्रेम र राष्ट्रियताका परिभाषा नै पनि फेरिएका छन्।
यो सत्य हो, कविताको शास्त्रीयता आफैं जोखिममा परेको समय हो यो र आजको प्रयोगवादले निरन्तर नवीन मापदण्डहरू बनाउँदै, फेरि भत्काउँदै र भोलि फेरि थप नयाँ मापदण्डहरू स्थापित गर्दै हिँडेको समय हो यो।
यो परिवर्तित वातावरणमा अभ्यस्त र वर्तमान कविताको स्वर-तालसँग परिचित निर्णायकहरू नहुँदाको परिणति यस्तै हुन्छ। त्यसैले राजनीतिक विचारधारबीचको सन्तुलन मिलाउने हिसाबले निर्णायक मण्डल गठन गरिएको छ यदि भने त्यो दुर्भाग्यपूर्ण हो।
एउटा यक्षप्रश्न ! प्रज्ञाप्रतिष्ठानको हजार श्रोता अटाउने बढेमानको प्रेक्षालयमा बस्ने श्रोताको स्वर, ताली, समर्थन र हुटिङ एकातिर, निर्णय अर्कातिर आएको सत्य हो। कविताहरू पछि छापामा वा सामाजिक सञ्जालमा अएपछि देशैभरबाट पाठकहरूले प्रतिष्ठानको निर्णयमाथि नै बहस छेडेको पनि देखियो।
आखिर समूह बनाएर एउटै पार्टी वा विचारका कार्यकर्ता आएका त थिएनन् होला महोत्सवमा। कुनै कविताको पक्षमा किन उभियो बहुसंख्यक श्रोताको मत ? आखिर, तटस्थ जनताको अदालतले अब्बल ठहर्याएको कवि सधैं अब्बल साबित भएकै छ यो देशमा।
प्रतिष्ठानले त मानिसका कवितालाई हेर्ने आँखा विभिन्न हुन्छन् भनेर पन्छिने गरेको छ तर बहुमत कविताप्रेमी वा पारखीको अन्दाज एकातिर, निर्णायकको मत अर्कातिर रहँदा निश्चय पनि प्रतिष्ठान कहिल्यै विवादमुक्त रहन सक्दैन।
प्रतिष्ठानले कवितामाथि आमपाठकको मनोविज्ञान नबुझेको ठहर हुन्छ। त्यसैले उसले थप विवादको सामना गर्नुपर्छ। प्रतियोगिता निर्णायकको मान्यताअनुसार अगाडि लगिनुपर्ने चीज होइन। यो गुणका आधारमा अगाडि बढाइनुपर्ने चीज हो।