सरकार फेर्नेबारे माओवादी द्विविधामा

सरकार फेर्नेबारे माओवादी द्विविधामा

काठमाडौं: माओवादी केन्द्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार टिकाउँदा र गिराउँदा हुनसक्ने जोखिमसहितको द्विविधामा अल्झिएको छ । केन्द्रको मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो बैठकमा सरकारको समीक्षा गर्न एजेन्डा प्रवेश गराइए पनि टिकाउने र गिराउनेबारे नेता द्विविधामा देखिए ।

सरकारका बारेमा बुधबार बस्ने बैठकमा छलफल गरी निर्णय गर्ने समझदारी पार्टीका नेताहरूले बनाएका छन् । राष्ट्रिय सरकारका बारेमा कांग्रेस र एमालेको रणनीति बुझ्ने, एमालेसँग भएको नौबुँदे लिखित र तीनबुँदे मौखिक सहमति कार्यान्वयनका लागि दबाब दिने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफ्नो पहलकदमी बढाइराख्नेमा केन्द्रित भएर निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएर बैठक सकिने एक नेताले बताए ।

‘संविधान कार्यान्वयन, शान्तिप्रक्रियाको पूर्णता र पुनर्निर्माणलाई तीव्रता दिन सरकार छोड्न पनि भएको छैन । अहिलेकै तरिकाले सरकारमा बसिराख्न पनि भएको छैन । यही रूपमा बस्दा हामी झन् कमजोर हुन्छौं । सरकार र मन्त्रीका कार्यशैलीप्रति कोही नेता सन्तुष्ट पनि देखिँदैनन्', पोलिटब्युरो सदस्य नारायण दाहालले बैठकपछि अन्नपूर्णसँग भने, ‘अहिलेका राष्ट्रिय एजेन्डा कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नु उपयुक्त हुन्छ तर त्यसका लागि कांग्रेस र एमालेले गर्ने निर्णयमा निर्भर गर्छ । कांग्रेस, एमाले, केन्द्र, मधेसवादी र राप्रपा नेपाल एक ठाउँमा उभिएको अवस्थामा राष्ट्रिय सरकार बन्ने हो ।'

उनका अनुसार सरकारका बारेमा पोलिटब्युरोमा छलफल भए पनि निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालय वा अध्यक्ष दाहाललाई दिएर टुंग्याइन्छ । अहिलेको सत्ता गठबन्धनमा नेतृत्व परिवर्तन गराउने, कांग्रेससँग मिलेर बहुमतको सरकारमा माओवादी केन्द्र सहभागी हुने सम्भावना बढी देखिएको छ । ‘शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न जोसँग सहकार्य गर्दा सहज हुन्छ, त्यहीसँग सहकार्य गर्नुपर्छ । यही सरकारलाई टिकाइराख्न हामी जरुरी पनि ठान्दैनौं', उनले भने ।

 

नेता जनार्दन शर्माले सरकारका बारेमा छलफल गर्न एजेन्डा बनाउन माग गरेपछि दाहाल एजेन्डा बनाउन सहमत भएका हुन् । नेता प्रकाश पोखरेलका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्ने क्रममा सरकारको विषयलाई पनि समेटेर एजेन्डा बनाइएको हो । सात प्रदेश र प्रवासका नेताहरूले रिपोर्टिङ गर्ने क्रममा सरकारमा आफ्नो पार्टीको पनि हिस्सा रहेको अनुभूति हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

एक नम्बर प्रदेशबाट हिमाल किराँती र सावित्री काफ्ले, दुई नम्बरबाट विश्वनाथ साह, तीन नम्बरबाट नारायण दाहाल, चार नम्बरबाट हरि अधिकारी, पाँच नम्बरबाट चक्रपाणि खनाल र पूर्ण घर्ती, ६ नम्बरबाट कालीबहादुर मल्ल र मायाप्रसाद शर्मा तथा सात नम्बरबाट खगराज भट्टले रिपोर्टिङ गरेका थिए । उनीहरूले पार्टी एकतापछि पनि संगठनात्मक संरचनामा भद्रगोल रहेको, भद्दा सांगठनिक संरचनाले गर्दा एकतापछिको उत्साहमा कमी आएको, पार्टीभित्र अराजकता र अन्योल कायम रहेको रिपोर्टिङ गरेका थिए ।

नेता वर्षमान पुनले पेस गरेको संगठनात्मक, निर्वाचन कार्यविधि र सरकारका बारेको प्रस्तावमा बुधबार बस्ने बैठकमा छलफल गर्ने समझदारी बनाइएको अर्का नेता डीआर पौडेलले बताए । प्रवक्ता पम्फा भुसालका अनुसार महाधिवेशनको मिति तोक्ने, संठनात्मक संरचना, राजनीतिक परिस्थितिलगायत विषयमा बुधबारको बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.