धर्म परिवर्तनका पटाक्षेप

धर्म परिवर्तनका पटाक्षेप

सनातन धर्मको वकालत गर्नेहरू नेपालमा खासगरी ०६२/६३ को जनआन्दोलनपश्चात् धर्म परिवर्तनको माहोल एक्कासि बढेर गएको र पछिल्लो संविधानमार्फत देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने कार्य यसै माहोललाई निरन्तरता दिने षड्यन्त्रको उपजका रूपमा आएको मान्छन् ।

यस मामलामा जब भारतका खासगरी भारतीय जनता पार्टी, विश्व हिन्दु महासंघ र राष्ट्रिय स्वयंसेवक संघनजिकका भारतीय मित्रहरूको र नेपालका केही राजनीतिकर्मीहरूको बुझाइमा एकरूपता देखा पर्‍यो तब नेपालको संविधान निर्माण कार्यमा पनि नजानिँदो किसिमको प्रभाव परेको जनजाहेरै छ ।

अझै खुलेर भन्नुपर्दा आजसम्म पनि भारतका प्रधानमन्त्रीले नेपालको संविधानबारेमा आफ्नो फरक मत राख्दै देश–विदेशमा यसविरुद्ध माहोल बनाउँदै जानुको पछाडिको एउटा कारण नेपालले विभिन्न समयमा आफ्ना नेतामार्फत भारतीय नेतृत्व र संस्थापनसामु नेपाललाई धर्म निरपेक्ष राज्य नबनाउने भनेर खाएको कसम तोडेर देशलाई धर्म निरपेक्ष बनाउनु नै हो ।

त्यसैले यो बुझ्ने अरू धेरै नेताहरू मोदीलाई रिझाउन हो या दक्षिणी छिमेकीको सहयोग पाउने आशामा संविधान जारी भइसकेको अवस्थामा आज पनि संविधानमा धर्म निरपेक्षता हटाउनुपर्नेमा वकालत गर्न तल्लीन देखिएका छन् ।

तर यहाँ प्रश्न गर्न सकिन्छ-के संविधानमा नलेखिएको कारणले हिजो धर्म परिवर्तन नभएको र आज लेखिएको कारण बढेको हो त ? नेपाल सरकारद्वारा संकलित र वितरीत जनगणनाको विगतका तथ्यांक फर्केर हेरौँ । २०१८ को तथ्यांकमा पहिलोपटक क्रिस्चियन धर्म मान्नेहरू भनेर छुट्ट्याइएको पाइन्छ र त्यस जनगणनाअनुसार त्यसबेला जम्मा ४५८ जना नेपालमा क्रिस्चियन धर्म मान्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

तत्पश्चात् भएका जनगणनामा भने यो धर्म मान्नेहरू विस्तारै बढेर गएको पाइन्छ, जसअनुसार २०२८ को जनगणनाले २५४६, २०३८ को जनगणनाले ३८९१ र २०४८ को जनगणनाले ३१२८०, २०५८ को जनगणनाले १०१९७६ अनि २०६८ को जनगणनाले ३७५६९९ क्रिस्चियन धर्मावलम्बी देखाएको छ । यसलाई प्रति दसक वृद्धिदरमा हेर्दा २०१८ बाट २०२८ मा ४५५ प्रतिशत, २०२८ बाट २०३८ मा ५३ प्रतिशत, २०३८ बाट २०४८ मा ७०४ प्रतिशत, २०४८ बाट २०५८ मा २२६ प्रतिशत र २०५८ बाट २०६८ मा २६८ प्रतिशतले वृद्धि भएको पाइन्छ ।

पञ्चायतकाल र बहुदलीय व्यवस्था आएपश्चात्को क्रिस्चियन धर्मावलम्बीहरूको वृद्धिदर तुलना गरेर हेर्ने हो भने २०१८ देखि २०४८ सम्मको ३० वर्ष नेपालमा क्रिस्चियन धर्मावलम्बीहरूको वार्षिक वृद्धिदर २२४ प्रतिशत रहेको र ३० वर्षमा झन्डै ६७ गुणाले बढेकोबाट देखाउँछ भने पछिल्लो २० वर्षको वार्षिक वृद्धिदर जम्मा ५५ प्रतिशत र २० वर्षमा जम्मा ११ गुणाले मात्र बढेको देखिन्छ ।

धर्म परिवर्तनको हिसाबले मानिसहरूले ०६२÷६३ को जनआन्दोलनपश्चात्को अवधिलाई दोष थोपर्नुको कुनै तर्क र औचित्यपूर्ण रहेको देखिएन किनभने तथ्यांकले पञ्चायतकाल नै क्रिस्चियन धर्मावलम्बीहरूको लागि स्वर्णयुग देखाइदियो । धर्म परिवर्तन र क्रिस्चियन धर्मावलम्बीहरूको द्रूत वृद्धिदरको कारण के त ?

जब राजा महेन्द्रले पञ्चायतका नाममा उनका पुर्खा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाललाई असली हिन्दुस्थान बनाउने लक्ष्यलाई साकार रूप दिन संविधानमै नेपाललाई हिन्दु राज्य घोषणा गरी हिन्दुकरण र नेपालीकरणको कार्यक्रमलाई बढाबा दिएको अवस्थामा यहाँ क्रिस्चियन धर्मावलम्बीहरूको वृद्धिदर इतिहासमै अत्यधिक रहेको पाइयो ।

यसको मतलब नेपाललाई धर्म निरपेक्ष या सापेक्ष राष्ट्र घोषणा गर्दैमा यसको धर्म परिवर्तन गर्नेसँग तालमेल देखिन्न र यो देश कट्टर हिन्दुवादी राष्ट्र भइरहँदा पनि यो प्रक्रिया निरन्तर चलिरहेको थियो भन्न सकियो । तर राष्ट्रधर्मसँग सम्बन्ध नै नभए पनि के कारणले नेपालीहरू आफूलाई क्रिस्चियन बनाइरहेका छन् त भनेर हेर्दा यहाँ के भन्न सकिन्छ भने नेपाली समाज खासगरी २००७ सालको परिवर्तनपश्चात् जागरुक बन्दै जाँदा यहाँ हिन्दुधर्मका नाममा भएका, हुने गरेका र हँदै आएका भेदभावपूर्ण व्यवहारलाई जनताले बुझ्दै गएको र विस्तारै हिन्दु भनिएकाहरू पनि अन्य धर्मतिर आकर्षित भएको देखियो, जुन प्रक्रिया २००७ सालतिर सुरु भएर पनि पञ्चायतकालभरि निरन्तर बढिरह्यो ।

पञ्चायतको कठोर र असहज राजनीतिक व्यवस्थाबीच पनि त्यहाँ विभिन्न जनजागरणका कार्यक्रम थिए र तीमध्ये हिन्दुहरूमा माथिल्लो र तल्लो जातबीचको छुवाछूतको व्यवहारविरुद्धको जागरण अभियान एउटा सशक्त अभियान रहेको देखिन्छ । त्यसैले हिन्दुको जनसंख्या घट्नुमा एक त नेवारलगायत जनजातिले आफू बुद्धिस्ट भएको दाबी गर्नु र अर्को हिन्दु समाजभित्रकै पिलरका रूपमा रहेका कामी, दमाई÷धोबी र सार्की थरकाहरूका आज दलित भनेर चिनिनेहरूले आफूलाई छुवाछूत जस्तो अमानवीय चलनबाट टाढा राख्न अन्य धर्मतिर गएको देखिन्छ ।

यसरी २०६८ सालको जनगणनासम्म आउँदा कामी सयमा तीनभन्दा बढीले (३.३), दमाई÷धोबी सयमा दुईभन्दा बढीले (२.२) र सार्की (२.१) पनि त्यत्तिकै संख्यामा हिन्दु धर्म छोडेर अन्यत्र लागिसकेको देखियो ।

हिन्दु धर्मप्रतिको विकर्षण र अन्य धर्म खासगरी क्रिस्चियन धर्मप्रतिको आकर्षणमा पछाडिका कारण धेरै हुन सक्छन् । तर त्यसमध्ये एउटा कारण बुभm्न एक दिन कार्यालय जाँदै गर्दा मेरो र एकजना आफनो सानो तरकारी पसल कुर्दै गरेका रामेछाप, रस्नालु गाउँ घर भई २०५९ देखि ललितपुरको हात्तीवनमा बस्दै आएका गौरीबहादुर सुनुवारको संवादलाई यहाँ विश्लेषण गर्न सान्दर्भिक देखिन्छ ।

बिहान साढे आठ बजेतिर बाइबल पढ्दै र महत्त्वपूर्ण लागेका कुरालाई हाइलाइटरको सहायताले चिनो लगाउँदै गरेका उनीसँग करिब आधा घन्टा बसेर कुरा गर्दा आफ्नो सानो छोरा अति बिरामी भइरहेको र केही गरे पनि सञ्चो नभएको अवस्थामा चर्चमा जाँदा पनि सन्चो हुन सक्ने हल्लाका भरमा चर्च पुगेको र त्यसको केही समयपश्चात् छोराको रोग निको भएपश्चात् २०६३ बाट हिन्दु धर्म छोडेका रहेछन् ।

सार्की आदि दलित भनेर चिनिनेहरू आफूलाई छुवाछूत जस्तो अमानवीय चलनबाट टाढा राख्न अन्य धर्मतिर गएको देखिन्छ ।

छोराको बिमारी र धर्मका बीचमा कुनै खास तथ्य प्रस्तुत गर्न नसकेका कारण उनको क्रिश्चियन धर्मप्रतिको लगाव अन्य नेपालीको भन्दा फरक पाइएन । तर हिन्दु धर्मका नाममा आज भइरहेका केही सामाजिक कार्यका बारेमा कटाक्ष गर्दै उनले भनेका तलका वाक्यांश हिन्दु धर्मका हिमायती भन्नेहरूले मनन गरेर अगाडि बढ्नैपर्ने देखिन्छ । उनी भन्छन्, ‘तपाईंको हिन्दु धर्मले कुलमा एकजनाले मृत्युवरण गर्दा जहाँ जस्तो अवस्थामा रहेको भए पनि त्यो कुलका सदस्यले १३–१३ दिनसम्म नुन नखाएर र किरियामा बसेकाहरूलाई सहयोग गरेर बिताउनुपर्ने सिकाएको छ ।

पढ्दै र बुझ्दै जाँदा आज एउटा गरिब परिवारलाई दिनभर काम नगरी परिवारको पेट पाल्न मुस्किल हुने अवस्थामा १३–१३ दिन आसोच या जुठो बार्नुपर्ने यो रीतिरिवाज हामीजस्ता गरिब र दुःखीको विरोधी प्रावधान रहेको बुझेर मैले धर्म परिवर्तन गरेको ठीकै लाग्यो । अहिले मैले अपनाएको धर्ममा त्यस्तो छैन, जुन मलाई मन पर्छ ।'

सुनुवारका कुरा सुन्दै गर्दा हामीले हिन्दु धर्मका नाममा अपनाउँदै आएका संस्कारलाई समयानुकूल परिवर्तन नगर्नेे तर क्रिस्चियानिटी बढ्यो भनेर मात्रै रटान गर्ने हो भने उनीजस्ता धेरै नेपालीले धर्म परिवर्तन गरिरहने देखिन्छ । त्यसैले अब हिन्दु उच्च जातकाहरूले हाम्रोमा त जातीय छुवाछूत र भेदभाव नै छैन भनेर पन्छिन भन्दा आफ्ना पितापुर्खाले जानेर या नजानेर गरेका छुवाछूत र भेदभावपूर्ण व्यवहारलाई गल्ती हो र थियो भन्दै हिजो समाजमा तल्लो जात भई हेपिन बाध्यहरूका अगाडि गएर माफी माग्ने, अब आइन्दा यस्तो भेदभाव नहुने कुरामा विश्वस्त बनाउने काम गर्नुपर्छ ।

हामीले व्यवहारमा ल्याएको हिन्दु धर्मको अर्को नराम्रो पक्ष भनेको समाजका गरिब र दुःखीलाई बोलाएर खुवाउने र दानदक्षिणा दिने कामको खासै प्रोत्साहन नगरी समाजका हुनेखाने भइसकेका ब्राम्ह्ण र पण्डितलाई दान र दक्षिणा दिन प्ररित गर्नु हो ।

त्यस्तै माथि सुनारले भने झैँ हिन्दु धर्मका अभियन्ताले गरिब र दैनिक कमाइ गरेर खाने मजदुरविरोधी र आजको अवस्थामा अति झन्झटिलो देखिने किरिया बस्दा १३ दिन बस्नैपर्ने, महिला महिनावारी हुँदा चार दिनसम्म अछूत भई बार्नुपर्ने जस्ता प्रावधानहरूलाई कसरी समयसापेक्ष सुधार गर्न सकिन्छ भनेर बहस चलाउने, हिन्दुहरूले दानदक्षिणा दिँदा ब्राह्मण र पण्डित हैन, समाजका गरिब र निमुखालाई खोजेर दिनपर्नेलगायतका प्रावधानमा जोड दिने प्रकारको सामाजिक आन्दोलन नै छेड्न आवश्यक देखिन्छ भने राज्यले पनि किरियापुत्रीलाई दिइँदै आएको १३ दिन बिदालाई अन्त्य गर्दै आइन्दा तीन दिनमात्र बिदा उपलब्ध गराउनेलगायतका सुधारसहित आएमा मात्र विस्तारै हिन्दु धर्मबाट अन्यत्र जानेको संख्या घटाउन सकिएला ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.