वैदेशिक रोजगारीमा थप संकट

वैदेशिक रोजगारीमा थप संकट

काठमाडौं: वैदेशिक रोजगारीमा फेरि गिरावट आएको छ । चालू आर्थिक वर्षको वैशाखमा विदेसिनेको संख्या बढ्दा केही आशा पलाइरहेका बेला जेठमा विदेसिनेको तथ्यांकले पुनः निराशा उत्पन्न गरेको छ । सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामध्ये १० महिनामा कामको खोजीमा विदेसिनेको संख्यामा ह्रास आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा गत वर्षको सोही अवधिको तुलनामा काम गर्न विदेश जानेको संख्या दुई सय ७५ जनाले घटेको छ । यो प्रतिशतमा ०.७२ कम हो । घटेको संख्या थोरै भए पनि यसले खतराको संकेत गरिसकेको छ । अन्य नौ महिनामा भारी प्रतिशतले ह्रास आइसकेको छ । जेठमा कुल ३७ हजार ६ सय ८७ जना वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो वर्ष ३७ हजार ६ सय ८७ जना गएका थिए ।

समग्रमा चालू आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जाने २४.६८ प्रतिशतले घटिसकेको छ । अझै केही महिना विदेशको रोजगारीमा जानेको संख्यामा गिरावट आउने अनुमान व्यवसायीले गरेका छन् । अर्को वर्षदेखि रेमिटेन्समा ठूलो गिरावट आउने अनुमान गरिएको छ । रेमिटेन्स घट्दा त्यसले समग्र मुलुकको अर्थतन्त्रमा जोखिम पैदा गर्ने अवस्था आउँछ । पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रमा रेमिटेन्सको हिस्सा करिब ३० प्रतिशत छ ।

यो वर्ष भने रेमिटेन्समा ह्रास आउने छैन । विगतमा गएकाले राम्रै पैसा पठाइरहेकाले त्यसको असर केही महिनापछि मात्र देखिने अनुमान छ । पहिला गएका फर्किन थाल्ने अनि नयाँ जानेक्रममा भारी ह्रास आउँदा त्यसको प्रत्यक्ष असर देखिनेछ । तत्कालका लागि अर्थतन्त्रमा रेमिटेन्सको अन्य विकल्प देखिएको छैन ।

 

वैदेशिक रोजगारीमा जाने घट्दा आन्तरिक रोजगारीको बजारमा पनि बेस्सरी चाप पर्ने देखिएको छ । वार्षिक श्रम बजारमा पाँच लाख युवा आउँछन् । तर आन्तरिक बजारमा मुस्किलले ५० हजार जनाले नयाँ कामको अवसर पाउन सक्छन् । बाँकी जनशक्तिलाई काम दिने कुनै पनि योजना सरकारसँग छैन । सरकारले नयाँ रोजगारी गन्तव्य खोजी पनि गर्न सकेको छैन ।

खाडी र मलेसिया जाने कामदारको संख्यामा कमी आउँदा त्यसको सम्रग असर वैदेशिक रोजगारीमा देखिएको हो । गत वर्ष सरकारले खाडी र मलेसिया निःशुल्क कामदार पठाउनुपर्ने प्रावधान ल्याएपछि यो क्षेत्रमा समस्या सुरू भएको व्यवसायीको दाबी छ । तर मलेसियाले आफ्नै आन्तरिक कारणले विदेशी कामदार लिन बन्द गरेको हो । मलेसियामा जाने कामदार घट्दा हामीलाई सबैभन्दा बढी असर पर्छ । कुल मुलुक भित्रिने रेमिटेन्समा मलेसियाको मात्रै ३० देखि ४० प्रतिशत हिस्सा रहने गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गएको जेठ महिनामा मलेसियामा जम्मा चार हजार दुई सय १७ जना कामदारमात्र पुगेका छन् । जबकी मलेसियामा जानेक्रममा गिरावट नआउँदा मासिक औसतमा २५ हजार नेपाली त्यहाँ काम गर्न पुग्थे ।

चालु आवको ११ महिनामा तीन लाख ८६ हजार तीन सय १५ जना काम गर्न विदेश गएका छन् । जबकी गत आर्थिक वर्षको यसै अवधिमा पाँच लाख १२ हजार आठ सय ८७ जना गएका थिए । ११ महिनामा आएको यो भारी गिरावटले निकट भविष्यमा मुलुकभित्र बेरोजगारी समस्या थप चुलिने संकेत देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.