मह बेचेरै वर्षको चार लाख कमाइ
जीतपुर (धनकुटा): जीतपुर ढोडेटोलका छविलाल सुवेदीले घरमा पालेको मौरी घारबाट आमाले मह काढेको पहिलो पटक देखे । त्यति बेला उनी १२ वर्षका थिए । आमाले मह काढेको देख्दा उनीमा पनि मौरीपालन गर्ने इच्छा जाग्यो । नभन्दै उनी घरका मौरी घार हेरचाह र मह काढ्न आफै अग्रसर हुन थाले ।
आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका सुवेदी अहिले सफल उद्यमी भएका छन् । ३५ घार मौरी पालेका उनी मह बेचेर वार्षिक चार लाखभन्दा आम्दानी गर्छन् । उनको घरको वार्दली, घरको पेटी, भित्तको खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । घरको भित्ताको प्वालमा परम्परागत स्थानीय घारमा मौरी पालेका छन् ।
घारका सबै मौरी स्थानीय सेरेना जातको हो । सुवेदीका अनुसार स्थानीय सेरेना जातको मौरी आधुनिक घारमा बस्न रुचाउँदैन । परम्परागत घारमै बस्न रुचाउने भएकाले आफूले सोही घारमा मौरी पालिरहेको उनले बताए । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ । घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ ।
स्थानीय बजारमा महको माग अत्यधिक छ । मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । मह प्रतिकिलो एक हजार रुपैयाँमा घरमै बिक्री गर्छन् । ‘अहिले बजारको माग धान्नै गाह्रो छ', उनले भने ‘मह खरिदका लागि घरमा आएका कतिपय उपभोक्ता नपाएर रित्तै फर्किंन्छन् ।' मौरी पालन बाहेक उनले १७ रोपनी क्षेत्रफलमा अलैंची खेती गरेका छ ।
अलंैचीबाट वार्षिक दुई लाख रुपैयाँ कमाउने गर्छन् । सुवेदीको ६ जनाको परिवार छ । उनका छोरा वाणिज्य बैंकको जीतपुर शाखामा कार्यरत छन् । उनका श्रीमती नरकुमारी सुवेदी पनि श्रीमान् कै पेसालाई सहयोग गर्छिन् । सुवेदीले हालसम्म मौरी पालनको तालिम लिएका छैनन् । ‘चाहिएको बेला तालिम दिन कुनै निकाय तम्सिएनन्', उनी भन्छन् ‘ अहिले आफै विज्ञ छु । तालिमको आवश्यकता छैन ।'
घारको मौरी छुट्नि लागेको मेसो थाहा पाउने वित्तिकै उनी घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घारका बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । उनी भन्छन्, ‘उतिसको घारमा मौरी असाध्यै बस्न रुचाउँछ । मह पनि बढी काढ्छ । वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह उत्पादन हुने उनको भनाइ छ । उनी भन्छन, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पनि पालिरहेको छ ।'
पछिल्लो समय सुवेदीले मौरीपालन गरेको देखेरे गाउँका अन्य स्थानीयले पनि अनुशरण गरेका छन् । सोही गाउँका स्थानीय चुनबहादुर आले मगरले पनि २०६८ सालबाट व्यबवसायिक मौरी पालन सुरु गरेका छन् । उनको घर नजिकैक बारीमा २२ घार मौरी छन् । थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उनले बताए । आगामी केही वर्ष भित्र एक सय मौरीको घार पुर्याउने चुनबहादुरको लक्ष्य छ । मौरीको आहाराका लागि उनले नौ रोपनी जग्गामा किवी, आँप, लिचीलगायतका फलफूलका लगाएका छन् ।