सुर्खेतमा ६ अर्ब लगानी भित्र्याउने तयारी
सुर्खेत: सुर्खेत लगानी वर्ष २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ। लगानी वर्षको आयोजक सुर्खेत उद्योग वाणिज्य संघले यही असार मसान्तमा उद्घाटन हुने जानकारी दिएको हो। त्यसका लागि सबै तयारी पूरा भएको संघले जानकारी दिएको छ।
जिल्लामा लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले लगानी वर्ष आयोजना गर्न लागिएको हो। लगानी वर्षका क्रममा सुर्खेतमा करब ६ अर्ब रुपैयाँ लगानी भित्रिने भएको छ।
सुर्खेतमा कृषि, जडीबुटी र जलविद्युत्को क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता तयार भएका छन्। यो वर्ष जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता लगानी गर्न तयार रहेको भन्दै संघले ६ अर्ब रकम जिल्लामा लगानी भित्रिने दाबी गरेको हो। यस्तै यो अवधिमा एक लाखभन्दा बढी पर्यटक जिल्लामा भित्रिने आयोजकले बताएका छन्।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले यही असार मसान्तभित्र सुर्खेत लगानी वर्षको उद्घाटन गर्ने अन्तिम तयारी भइरहेको बताए। उनले भने, ‘हामीले सबै तयारी पूरा गरेका छौं, उद्योग मन्त्रीको समय मिलाएर दिन तोक्छौं। लगानी वर्षमा जिल्लामा ६ अर्ब लगानी भित्रिनेछ, यसले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्नेछ।' उनले लगानी वर्षको अवसरमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको समेत जानकारी दिए।
'लगानी र पर्यटक भित्र्याउन विभिन्न प्याकेज तयार छन्, मेला र महोत्सव पनि लगाइनेछ' अध्यक्ष अधिकारीले भने, ‘आर्थिक विकासका लागि राज्यको मात्र मुख ताकेर भएन, अब हामी नै जिल्लामा लगानी भित्र्याउन कम्मर कसेर लागेका छौं।' साथै उनले लगानी वर्षलाई सफल बनाउन सहयोग गर्न समेत सबैसँग आग्रह गरे।
संघका अनुसार जिल्लामा लगानी गर्न चिनियाँ र जापानी व्यवसायी बढी उत्साहित देखिएका छन्। संघले लगानी वर्षको उद्घाटनसँगै जिल्लामा कृषि, पर्यटन, जडीबुटी, जलविद्युत् र खानीजन्य उद्योगको विकास हुने जनाएको हो।
यसका लागि विदेशी लगानीकर्ताले चासो दिएका छन्। लगानी वर्षकै उद्घाटनको अवसरमा गुटुमा रहेको चौकुने सिमेन्ट उद्योगको पनि शिलान्यास गरिनेछ।
यस्तै लगानी वर्षको अवसरमा जिल्लामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालमा ल्याउने, पर्यटकीयस्थल बुलबुलेलाई सार्वजनिक-निजी मोडेलमा सञ्चालनमा ल्याउने, सुर्खेतबाट दैलेख हुँदै मानसरोबरसम्म जोड्ने सडकलाई प्राथमिकता दिने, लघुउद्यमको बजारिकरण गर्ने, ११ करोडको कोल्डस्टोर शिलान्यास गर्ने र सुर्खेतमा स्थापना हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्रको पनि शिलान्यास गर्ने तयारी भइरहेको छ। यस्तै जिल्लामा व्यापारिक मल स्थापन र कर्णाली एक्सपोको आयोजना समेत गरिनेछ।
लगानी वर्ष सफल भए सुर्खेतको मात्र नभई समग्र ६ नम्बर प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। लगानी वर्षले जिल्लामा नयाँ रोजगारीसमेत सिर्जना गर्ने अपेक्षा यहाँका नागरिकले गरेका छन्।
सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आर्थिक विकासको ढोका खोल्न लगानी वर्ष कोशेढुंगा बन्ने विश्वास गरे। साथै उनले यसलाई सफल बनाउनका लागि सबैले साथ दिनुपर्ने बताए।
लगानी वर्षकै अवसर पारेर आउँदो मंसिर २३ देखि पुस ३ गतेसम्म लगानी मेलाको पनि आयोजना गरिनेछ। लगानी वर्षको चर्चासँगै यस क्षेत्रका व्यवसायी पनि उत्साहित बनेका छन्। लगानीको वातावरण नहुँदा थला परेको आर्थिक विकासको गति अब अगाडि बढ्ने उनीको विश्वास रहेको छ।
लगानी वर्षको अवधिमा जिल्लामा थप नयाँ उद्योग तथा पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरिनेछ। यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जलविद्युत्को क्षेत्रमा पनि लगानी आकर्षण गर्नका लागि कार्यक्रम तयार पारिएको उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीले जानकारी दिए।
यस्तै कर्णाली र भेरी करिडोरको सुधार, होमस्टे सञ्चालन, पर्यावरणीय औद्योगिक गाउँ स्थापना र लघु उद्यम विकास ग्रामको अवधारणा अगाडि बढाइएको छ। यसले पनि यस क्षेत्रको आर्थिक विकासको ढोका खुल्ने अध्यक्ष अधिकारीले दाबी गरे।
सुर्खेतमा कृषि, जडीबुटी र जलविद्युत्को क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता तयार भएका छन्।