मानव तस्करीमा तानिएका संसदमाथि माओवादीले छानबिन गर्ने
काठमाडौँ: माओवादी केन्द्रले मानव तस्करीमा तानिएका सांसदमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
बुधबार बसेको माओवादी पोलिटब्यूरो बैठकले तीन सदस्य छानबिन समिति गठन गरेको हो। अमिक शेरचन संयोजक रहेको समितिमा कृष्णबहादुर महरा र पम्फा भुसाल सदस्य रहेको समिति गठन गरेको हो।
माओवादी सांसदहरु गोमा कुँवर, डोरप्रसाद उपाध्याय, राममाया बोगटी, सन्तकुमार थारु, रुपा महर्जन, दिलमाया धामी, धना पहरी र सिर्जना खत्रीमाथि मानव तस्करीको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका बेला पार्टीले समेत छानबिन गर्ने भएको हो।
बुधबारको पोलिटब्यूरो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विवादमा तानिएका सांसदबारे जानकारी गराएपछि बैठकले समिति गठन गरेको हो।
स्पेनका लागि भिसा आवेदन गर्दा सांसदहरुले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरेको आरोप लागेको छ।