शशांकको अवस्था गम्भीर
काडमाडौं: कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा अचानक जटिलता उत्पन्न भएपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरी १५ जना चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई मंगलबार राति आठ बजे अस्पताल भर्ना गरिएको थियो ।
डा. कोइरालाको अत्यन्त नाजुक स्वास्थ्य अवस्था बुधबार राति अबेरसम्म स्थिर छ । राति अबेर उनी केही होसमा आएको संकेत पाइए पनि खासै स्वास्थ्य अवस्थामा सुधार नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पेट दुखाइ, खोकी र श्वासप्रश्वासमा असहज भएपछि उपचारका लागि अस्पताल पुगेका डा. कोइरालालाई चिकित्सकले निगरानीका लागि ‘क्याबिन' मा भर्ना गरेका थिए ।
सुतिरहेका बेला बिहानपख अचानक बान्ता हुँदा सर्किएर तरल पदार्थ फोक्सोमा पुगेपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको हो । अस्पतालमा भर्ना हुँदा ११०–७० भएको रक्तचाप ह्वात्तै घटेर ६०–४० मा झरेको थियो । चिकित्सकले उनको श्वासप्रश्वास सहज बनाउन ‘सीपीआर' गर्दा पनि नभएपछि तत्कालै कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर' मा राखेका थिए । चिकित्सकले रक्तचाप बढाउन ‘इनोट्रोपिक÷भासोप्रेसोर' र ब्रोड स्पेक्ट्रोम एन्टिबायोटिक चलाएका थिए भने ‘थेरापियुटिक हाइपोथर्मिया' विधि अपनाएका थिए ।
औषधि चलाएपछि डा. कोइरालाको मुटु धड्कनको गति अचानक बढेर प्रतिमिनेट एक सय ३० पुगेको थियो र रक्तचाप पहिलेभन्दा बढेर ९०–६० मा पुगेको थियो । डा. कोइरालाको छातीको एक्सरे हेर्दा उनको फोक्सोको देब्रे पाटोमा व्यापक रूपमा निमोनिया देखिनुका साथै छाती र फोक्सोको बीचमा संक्रमण फैलिएको पाइएको थियो । उक्त समस्या न्यूनीकरणका लागि चिकित्सकहरूले डा. कोइरालाको छातीमा ‘चेस्ट ट्युब' जडान गरेका थिए । त्यसको केही घन्टापछि उनका मिर्गौला, कलेजोलगायत अंगका काम पनि कमजोर बनेका थिए ।
चिकित्सकहरूले उक्त समस्यालाई ‘मल्टिअर्गान डिसफङ्सन' का रूपमा लिएका छन् । साँझपखबाट उनको मिर्गौलाले केही काम गरेको थियो । बिहान उनको रगत जाँच गर्दा ‘क्रिएटिनिन' २.१२ रहेकोमा साँझपख १.७ मा झरेको थियो ।
‘उहाँका धेरै महत्त्वपूर्ण अंगहरूमा समस्या देखिएको छ । तर निरन्तर विशेषज्ञ चिकित्सकबाट उपचार गरिरहँदा उहाँलाई स्थिर अवस्थामा राख्न सक्नु र उहाँमा चेत आउनुलाई हामीले उपलब्धिका रूपमा लिएका छांै', उपचारको नेतृत्व गरेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. लवनरसिंह जोशीले भने, ‘यही अवस्थामा बिहीबारसम्म राख्न सफल भयौं भने उहाँको स्वास्थ्यमा सुधार आएको भन्न सक्छौं ।'
दुई महिनाअघि सम्पन्न कांगे्रस महाधिवेशनमा सर्वाधिक मत ल्याई महामन्त्री बनेका डा. कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेट्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, आफन्त, शुभेच्छुकलगायत पार्टीका नेताकार्यकर्ता अस्पताल पुगेका थिए । अन्य पार्टीका शीर्ष नेताहरू पनि उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
कांग्रेस नेत्री सुजाता कोइराला शशांकको स्वास्थ्य अवस्था बुझेपछि भावुक हुँदै फर्किएकी थिइन् । कांग्रेसका केही शीर्ष नेताले डा. कोइरालालाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजानुपर्ने बताए पनि चिकित्सकहरूले यो अवस्थामा लैजान नमिल्ने बताएका थिए । डा. कोइरालाको परिवारले यहीं उपचार प्रक्रिया अघि बढेको र त्यसमा सबै विशेषज्ञ चिकित्सक खटिएको भन्दै भारत लगिहाल्न आवश्यक नभएको बताएका थिए ।
डा. कोइरालाकी पत्नी डा. सुपात्रासमेत उनको उपचारमा दिनभरजसो खटिएकी थिइन् । ‘अहिले म केही पनि बोल्ने अवस्थामा छैन', उनले भनिन्, ‘भगवान्सँग प्रार्थना गर्दै उहाँको उपचार राम्रो होस् भन्नेमा लागिपरिरहेकी छु ।' परिवारिक स्रोतका अनुसार मंगलबार महाराजगन्जस्थित निवासमा डा. कोइराला केही साथीबीच भेटघाटमा व्यस्त थिए ।
साँझपख उनले बजारबाट मगाइएको पिज्जा खाएका थिए । त्यसलगत्तै उनले गुठ्खासमेत खाएका थिए । करिब १५ वर्षदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेका उनको कलेजो पनि कमजोर बनेको थियो । कमजोर स्वास्थ्य भएका डा. कोइरालाले खानपानमा ध्यान नदिँदा यस्तो समस्या भोग्नुपरेको उनी निकट एक चिकित्सकले बताए ।
मुटुरोग विशेषज्ञ डा. जोशीको नेतृत्वमा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. सुबोधसागर ढकाल, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशी, डा. प्रमोद क्षेत्री, डा. श्याम महर्जन, डा. यूएन पाठक, डा. राउल पाठक, डा. सुपात्रा कोइराला, डा. विश्वनाथ कोइराला, डा. सुवास आचार्य, डा. काजन श्रेष्ठलगायतको समन्वयमा उनको उपचार भइरहेको छ ।