बस्न लायक छैन केरौंजा

बस्न लायक छैन केरौंजा

गोरखा: केरौंजा गाविसको वडा नं. १, २, ३, ४ र ५ का गाउँ पहिरोको उच्च जोखिममा छन्। पहिरोमा परी दर्जनौं घरबारविहीन भइसकेका छन्। तीनजनाले ज्यान गुमाए भने तीनजना पहिरोमा पुरिएर घाइते भएका छन्।

गत मंगलबार बिहान साढे नौ बजे बाटो मर्मत गर्ने क्रममा खसेको पहिरोले केरौंजा ३ केरौंजाबेसीका कान्छीमाया, चिनमाया गुरुङ र सन्देशले ज्यान गुमाए। सुकराम घले, रामजित र कृष्ण गुरुङ गम्भीर घाइते भए।

गत हप्ताको मंगलबार रातभरि पानी परेपछि बुधबार बिहानको पहिरोले पुछार गाउँका आठवटा टहरा पुरिएर पूर्ण रूपमा नष्ट भए। त्यस्तै पखेटे टोलका तीन घरटहरा र बम्लचोकका तीन घर टहरा पनि पहिरोले बगायो।

विस्थापित भएका १४ घरका बासिन्दा अहिले बम्लचोकमा पाल टाँगेर बसेका छन्। त्यस्तै उच्च जोखिममा रहेका पुछार गाउँका १० घर बम्लचोकमा र पखेटेका १८ घर डोङ्यानमा अस्थायी टहरा बनाई बसेका छन्। यहाँ हिउँद बर्खै पहिरो झरिरहन्छ।

'बाँदर हिँड्दा पनि पहिरो झर्छ। चरा उड्दा पनि पहिरो झर्छ। हावा आउँदा पनि पहिरो झर्छ', स्थानीय सुकबहादुर गुरुङ भन्छन्। पहिरोले आजकल रातभर गाउँलेलाई सुत्न दिँदैन।

'केरौंजा बस्न लायक छैन', अर्का स्थानीय दीपेन्द्र गुरुङ भन्छन्, 'पानी पर्न थालेपछि रातभर कोही सुत्दैनन्। प्लास्टिक ओढेर, लाइट बालेर यताको मान्छे उता, उताको यता गरिरहन्छौं।' बम पढ्के झैं पहिरो गर्जिरहने उनले बताए।

 

केरौंजा गाविसको वडा नं. १, २, ४ र ५ का बासिन्दा एकै ठाउँमा बसोबास गर्छन्। चार वडाका करिब चार सय ५० घरधुरी पुछारगाउँ, टुट्यान, बम्लचोक, पखेटे र गन्सुर गरी पाँचवटा टोलमा बसोबास गर्छन्।

भूकम्पले भत्काएपछि गणेश हिमाल पाउन्डेसनले निर्माण गरेको १४ कोठे विद्यालय भवन पनि क्षतिग्रस्त भएको छ। सो भवन कामै नलाग्ने गरी बिग्रिएको केरौंजाका सानु घले बताउँछिन्। उनका अनुसार गाउँ पनि भित्रभित्रै जताततै चिरिएको छ।

'गाउँले बसेको डाँडै कामै नलाग्ने गरी चिरिएको छ। बस्नै मिल्दैन। तल पनि पहिरो छ। माथि पनि पहिरो छ। दायाँबायाँ पनि पहिरै पहिरो छ। गाउँभित्रै पनि चिरैचिरा छन्', उनी भन्छिन्, 'तर कहाँ सर्ने हो ? हामीलाई थाहा छैन।'

सरकारले सर्नुपर्छ मात्र भन्ने गरेको, तर ठाउँ नदेखाइदिएको उनको गुनासो छ।'हाम्रो गाउँ वरिपरि बस्ती बनाएर बस्ने ठाउँ नै छैन', उनी भन्छिन्, 'गाउँले टाढा जाँदैनन्। नजिक ठाउँ पाइँदैन।' स्थानान्तरण हुन आफ्नै गाउँजस्तै ठाउँ चाहिने गाउँलेको जोड छ।

'धेरै टाढा पनि होइन, हावापानी यस्तै भएको ठाउँ भए गाउँले सर्छन्', उनी भन्छिन्, 'हामीलाई योजस्तै दाउराघाँस गर्न पाइने, मेलापात गर्न पाइने, हाम्रै भाषा बोल्न पाइने ठाउँ चाहिन्छ।' गाउँलेले अर्काको ठाउँलाई स्वीकार गर्न गाह्रो मान्ने दीपेन्द्र गुरुङको भनाइ छ।

प्राकृतिक प्रकोपसँग पौंठेजोरी खेल्दै बस्न तयार गाउँले आरूनो पहिचान गुम्ने ठाउँमा सर्न मान्दैनन्। 'बरू पहिरो उकास्दै, दुःख गर्दै बस्न सक्छौं तर अरूको ठाउँमा रमाउनै सक्दैनौं। अर्काको ठाउँमा यो ठाउँ चटक्कै छोडेर जान सक्दैनौं।'

अर्काको ठाउँमा घर बनाउने घडेरी मात्र दिएर गरिखान नपाइने गाउँलेको भनाइ छ। 'बस्ने ठाम मात्र भएर भएन। गरेर खाने ठाउँ पनि चाहियो। गर्ने काम चाहियो। अन्त सर्न धेरै समस्या छ', दीपेन्द्र भन्छन्।

पहिरोले क्षतविक्षत भएको केरौंजाको अनुगमन गरेर फर्केका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट भने गाँस, बासभन्दा सास महत्वपूर्ण भएकाले बाँच्नैका लागि तत्काल अन्यत्रै सर्नुपर्नेमा जोड दिन्छन्।

'मैले अहिले बसिरहेको ठाउँमा कोही पनि नबस्न निर्देशन दिएको हो तर अटेर गरेर बसिरहेका छन्', उनले भने, 'तत्काल गाउँनजिकै कतै बस, हामी दीर्घकालका लागि कहाँ बस्ने भनेर जग्गा छनौट गरिरहेका छौं।' मंगलटारलगायतका ठाउँमा सर्न सकिने गरी योजना बनाइरहेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.