उपत्यकाको गोलभेंडामा कीराको प्रकोप

उपत्यकाको गोलभेंडामा कीराको प्रकोप

भक्तपुर: भक्तपुरको व्यावसायिक गोलभेंडा खेतीमा कीराको प्रकोप फैलिएको छ । पातभित्र पसेर हरित कण सबै खाने, मुन्टा बेरिदिने र फलको भेट्नोबाट छिरेर कुहाउने कीराले भक्तपुरलगायत उपत्यकाको गोलभेंडा खेती सखाप पार्न थालेको छ ।

यो वर्ष पहिलोपटक देखिएको यो कीराले व्यवसायिक गोलभेंडा खेतीमा प्रकोपकै रुप लिएको छ । किसानका अनुसार कीराले गोलभेंडाको नयाँनयाँ मुन्टा बेरिदिएर सुकाएपछि बोट हुर्कंन र बढ्न पाउँदैन । नयाँ पालुवा नै आउन नपाएपछि फूल फुल्ने र फल लाग्ने गर्दैन । कीराले प्रकोपकै रुप लिएपछि धेरै विषादी प्रयोग गर्दा पनि नियन्त्रण बाहिर गएको भक्तपुरको चाँगुनारायण नपाका झौखेलमा व्यावसायिक गोलभेंडा खेती गर्दै आएका राजेन्द्र पुरीले जानकारी दिए । उनले हरियो लार्भाले गोलभेंडाको मुन्टा बेरेर भित्रभित्रै खाने र पातभित्र पसेर हरितकण सबै खाई जालीमात्रै बाँकी राख्ने गरेको छ ।

यस्तै मुस्किलले लागेको फलको पनि भेट्नोमा सानो प्वाल बनाएर भित्र पसी फल नै बिगार्ने समस्या देखिएको उनको भनाइ छ । उनले लार्भा विकास भई पुतली हुने र पुतलीले पनि नयाँ पालुवा र पात बेरेर सुकाई त्यहींभित्र फुल पार्ने गरेको जानकारी दिए । ‘कीराको लार्भाले बोट र फल नै सखाप पार्न थालिसक्यो', उनी भन्छन्, ‘अनेक विषादी प्रयोग गर्दा पनि कीरा नियन्त्रण बाहिर छ ।'

यो समस्या भोग्ने राजेन्द्र पुरी प्रतिनिधि पात्रमात्रै हुन् । भक्तपुरका सबैजसो क्षेत्रमा यो समस्या छ । बढी व्यावसायिक गोलभेंडा खेती हुने भक्तपुरको झौखेलसँगै वागेश्वरी, छालिङ, ताथली, दुवाकोट, सुडाल, सिपाडोल र सिरुटारमा यो कीराले हैरान पारेको छ ।

यो रोगकीराका विषयमा एक वर्षदेखि अध्ययन अनुसन्धान गरिरहेका कृषि प्राविधिक शिव यन्द्यो भक्तपुरमा मात्रै होइन काठमाडौं र ललितपुरका अधिकांश व्यावसायिक गोलभेंडा खेतीमा यो कीरा देखापरिसकेको बताउँछन् ।

 

उपत्यकाका अधिकांश व्यावसायिक गोलभेंडा खेती पुगेर उक्त समस्याको समाधानमा पहल गरिरहेका उनले कीरा दक्षिण अमेरिकाबाट अफ्रिका हुँदै एसिया आएको बताए । ‘यो कीरा दक्षिण अमेरिकामा देखापरेको हो, त्यहाँबाट अफ्रिका हुँदै एसिया छिरेको यो कीरा नेपालमा भने भारतबाट आएको हो', डेढ दशकदेखि कृषि क्षेत्रमा सक्रिय उनले भने, ‘दक्षिण अमेरिकामा देखापरेकोले यसको नाम नै साउथ अमेरिकन टोमाटो पिनवर्म हो ।'

उनले काठमाडौं उपत्यकामा यो रोगको आउट ब्रेक २०७२ असार २० गते काठमाडौंको साँखुस्थित खुलालटारको एक व्यावसायिक गोलभेंडा फार्मबाट भएको दाबी गरे । गत वर्ष सोही कीराका कारण काठमाडौंका व्यवसायिक गोलभेंडा फार्ममा ९० प्रतिशतले क्षति पुर्‌याएको उनको भनाइ थियो । उनले साँखुबाट सुरु भएको कीरा काठमाडौंको इन्द्रायणी, मूलपानी, सुन्दरीजल, कपन, गोठाटार, डाँछीसम्म फैलिएको थियो ।

यस वर्ष यो कीरा काठमाडौंका थानकोट, दहचोक, नैकाप, कीर्तिपुर, रामकोट, भीमढुंगा, मच्छेगाउँ, धापाखेलसम्म देखिएको कृषि प्राविधिक यन्द्यो बताउँछन् । यस्तै ललितपुरको लुभु, टीकाथली, सानागाउँ र काभ्रेको धुलिखेल, नाला, साँगासम्म यो कीराको प्रकोप फैलिसकेको छ ।

रोगकीराको पहिचान

हेर्दा यो कीराको पुतली धान र आलुमा लाग्ने पुतलीजस्तै ध्वाँसे र खैरो रंगको देखिन्छ । पुतलीले पालुवा र फूल बेरेर त्यहाँभित्र अन्डा पार्छ । एउटा पुतलीले एउटादेखि सातवटासम्म सेतो रंगको अन्डा ठाउँ ठाउँमा पारेको हुन्छ ।

अन्डाबाट निस्केको सुरुको लार्भा सेतो मसिनो हुन्छ । उसको टाउको खैरो र पछाडिको भाग प्याजी रंगको हुन्छ । त्यसले रेशमकीराको लार्भाले जस्तै धागो निकालेर गोलभेंडाको मुन्टा बेरेर खाँदै जान्छ ।

यस कीराको जीवनचक्र चार चरणमा पूरा हुन्छ । अन्डा पारेको चारदेखि आठदिनभित्र लार्भा निस्कन्छ । लार्भा पनि चार चरणसम्म रहन्छ । १० दिनको लामो लार्भा अवस्थामै यस कीराले गोलभेंडा फार्मलाई सखाप पार्ने कृषि प्राविधिक यन्द्यो बताउँछन् ।

लार्भापछि धागोले बेरिएको अवस्थामा प्युपा बन्छ । प्युपा माटोको माथिल्लो सतह वा गोलभेंडाको फेदमा हुने झारपातमा बसेको हुन्छ । करिब आठदेखि २० दिनपछि प्युपा पुतली बन्छ । पुतली ग्रेभी खैरो रंगको हुन्छ । पुतली सातदेखि नौ दिनसम्म बाँच्छ । यस अवधिमा एउटा पोथी पुतलीले सातवटासम्म अन्डा पार्छ ।

रोकथाम
यो कीराले केही दिनभित्रै गोलभेंडा सखाप पार्ने भएकाले यसको नियन्त्रण पनि तीव्र गतिमा गर्नुपर्ने कृषि प्राविधिक यन्द्यो सुझाउँछन् । उनले रासायनिक विषादी प्रयोग नगरिकनै यो कीराको रोकथाम गर्न सकिने बताए ।

बत्तीको पासो

Tomato-Pin-Worm-4

उनका अनुसार फार्मभित्र ठाउँ ठाउँमा बत्तीको पासो राखेर यसको पुतलीलाई नष्ट गर्न सकिन्छ । यस्तो बत्ती बेलुका सातदेखि नौ बजेसम्म बाल्ने गर्नुपर्छ । बत्तीमुनि एउटा भाँडोमा साबुनको झोल वा सर्फ र मट्टीतेल मिसाएको पानी हालेर छोड्ने । उनका अनुसार २५ वाटको वार्म ह्वाइट सीएफएल चिम बढी प्रभावकारी छ ।

‘पुतली प्रकाशतर्फ आकर्षित हुन्छन् । त्यसैले बेलुका प्रकाशतर्फ आउँदा बत्तीको कारण पुतली पानीमा खस्छन् र मर्छन् । यसले अन्डा पार्ने पोथी पुतली नष्ट गर्दै गएपछि तिनीहरूको वृद्धि विकास हुन पाउँदैन', कृषि प्राविधिक यसो भन्छन् ।

इलेक्ट्रिक ब्याटको प्रयोग
इलेक्ट्रिक ब्याटको प्रयोगले पनि यो कीरा नियन्त्रण गर्न सकिन्छ । बेलुकी पख यस कीराको पुतली सक्रिय हुने बेला फार्ममा गएर इलेक्ट्रिक ब्याटको प्रयोग गरी मार्न सकिन्छ । इलेक्ट्रिक ब्याट प्रयोग गर्दा गोलभेंडाका बोट हल्लाएर बढीभन्दा बढी पुतली उडाउनुपर्छ ।

मोहिनी पासो
भाले पुतलीलाई आकर्षित गर्न राखिने पासोलाई मोही पासो भनिन्छ । यो पासो नेपालमा भर्खरै प्रयोगमा आएको छ । ट्युटा एब्सोलुटा नामक मोहिनी पासो बजारमा उपलब्ध छ । यो पासो एक रोपनीमा तीनदेखि चारवटासम्म प्रयोग गर्न सकिन्छ । पासोमा पोथी पुतलीको जस्तै गन्ध आउने रसायन हुन्छ । यसको प्रयोगले पोथीको गन्धको चाल पाएर भाले पुतली त्यसमा फस्छन् । भाले पुतलीबिना पोथीले अन्डा पार्न सक्दैनन् । यसले गर्दा कीराको वृद्धि रोकिएर नियन्त्रणमा आउँछ ।

जैविक विषादी
माथिका उपायसँगै जैविक विषादी पनि प्रयोग गर्न कृषि प्राविधिकले सुझाएका छन् । १.२ मिलिलिटर महाशक्ति बीटी नामक जैविक विषादी प्रतिलिटर पानीमा सक्खर वा पाँच ग्राम चिनी घोलेर साँझ पख गोलभेंडा फार्ममा छर्ने । करिब सात दिनको फरकमा छर्दा पनि रोगकीरा नियन्त्रणमा नआएसम्म छरिरहने ।

रासायनिक विषादी
माथिका उपाय अपनाउँदा पनि रोगकीरा नियन्त्रणमा नआए रासायनिक विषादी प्रयोग गर्नुपर्ने कृषि प्राविधिक यन्द्योले बताए । उनका अनुसार रासायनिक विषादीमध्ये पनि इमार, फेम वा इमाभाप प्रयोग गर्नुपर्छ । यीमध्ये पनि इमार बढी प्रभावकारी देखिएको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.