भूकम्पमा जोगिए, पहिरोले खायो
बुङ्ताङ (नुवाकोट): मेघबहादुर तामाङ गत वर्ष नेपालमा विनाशकारी भूकम्प आउँदा साउदी अरबमा ट्याक्सी हाँक्दै थिए । भूकम्पका बेला पत्नी सीता तामाङ, १३ वर्षीय छोरा आइतराम, ५ वर्षीय आशीष र ८ वर्षीया छोरी विमला नुवाकोटको बुङ्ताङमै थिए । ‘भूकम्पले भर भत्काएपछि पत्नी र छोराछोरीको बिचल्ली भयो । उनीहरू रुनकराउन थाले अनि म पनि जन्मभूमिमै केही गर्छु भनेर फर्किएँ', मेघबहादुरले भने, ‘भूकम्पमा जोगिएका छोरालाई पहिरोले खायो । हामी बसेको ठाउँमा पहिरो आउला भन्ने अनुमान नै थिएन । के गर्ने, के नगर्ने तनावमा छु ।'
तीन वर्ष साउदीमा काम गरेर फर्किएका मेघबहादुर गाउँ आएर सिकर्मी भएका थिए । ‘जमिन नै थर्कने गरी कति ठूलो बाढी आएछ । केही बेरसम्म पनि जमिन थर्कन छोडेन । भूकम्प आएजस्तो लाग्यो', असार १५ गते बिहानको घटना सम्झन्छन् मेघबहादुर । छिमेकी श्रीमाया तामाङका अनुसार सडकबाट पहिरो झरिसक्दा पनि मेघबहादुरको परिवार उठेन । आठ कक्षामा पढ्दै गरेका आइतराम र एक कक्षामा पढ्दै गरेका आशीष एउटै ओछ्यानमा सुतेका थिए भने मेघबहादुर, सीता र विमला अर्को ओछ्यानमा ।
अघिल्लो दिनको मध्यरातसम्म उनीहरू टीभी हेरिरहेका थिए । ‘छोरी विमला उठेर बाहिर आइन् । पिसाब गरेपछि फेरि ढोका लगाएर सुतिन्', श्रीमायाले भनिन्, ‘म पहिरो आयो भनेर कराइरहें । कराउँदाकराउँदै ठूलो ढुंगा घरभित्र पस्यो । ठूलो रूख मलाई नै किच्लाझैं गरी बजारियो ।' मेघबहादुरको घरदेखि सय मिटरमाथि त्रिशूली–बुङ्ताङ बस चल्ने सडक छ । त्यो सडकको छेउमा ठूलो ढुंगा छ । ढुंगा बायाँतिर खोल्सो छ । बाढी आइहाले पनि त्यही खोल्सोबाट जाला भन्ने अनुमान लगाउन सकिन्छ ।
ठूलो ढुंगाको दायाँतिर तल जस्ताको टहरोमा सुतिरहेका मेघबहादुरको परिवारलाई पहिराले छोप्यो । ‘पहिरोले छोपेपछि श्रीमती बेहोस भैहाली । म पनि बेहोसजस्तै भएँ । छोरीले बाबा भनेको आवाज सुनें । खोतलेर छोरीलाई निकालें तर छोराहरूलाई पुरिसकेको रहेछ । भैंसी र बाख्रा त कता हुन् कता ? ' घटना सम्झिँदै मेघबहादुरले भने । ५६ वर्षीया श्रीमायाका अनुसार ‘भूकम्पले हाम्रो घर ढलाउँदैन, केही पनि हुँदैन' भन्ने ठानेर मेघबहादुर सुतिरहेछन् ।
भूकम्पले भत्काएको मेघबहादुरको घर केही तल छ । एक वर्षसम्म उनीहरूले त्यही ठूलो ढुंगामुनि त्रिपालमा दिनरात बिताए । गत वैशाखमा काठ र जस्ताले छाप्रो बनाएर त्यहाँ सरेका थिए । स्थानीय शिक्षक रूपबहादुर तामाङका अनुसार घटनापछि मेघबहादुर, सीता र विमलालाई उपचारका लागि स्वास्थ्य चौकीमा लगियो । ‘पुरिएका शव निकाल्यौं । भैंसी र बाख्रा पुरिएर मरिसकेका रहेछन्', सरस्वती माविका शिक्षक रूपबहादुरले भने, ‘प्रहरीले मुचुल्का बनायो । उहाँहरू इसाई भएकाले शव चर्चमा लगियो ।'
अघिल्लो वर्ष गृह मन्त्रालयले र यस वर्ष खानी तथा भूगर्भ विभागले तयार गरेको प्रतिवेदनमा मेघबहादुर रहेको ठाउँलाई भूकम्पपछिको जोखिमयुक्त बस्तीका रूपमा अभिलेखीकरण गरिएको छैन । तर ०४४ मा त्यो सडकभन्दा माथितिर पहिरोले पुरेर एकै परिवारका पाँचजना मारिएका थिए । ३० वर्षीय मेघबहादुरको घरलाई पहिरोले पुरेपछि त्यो टोलमा रहेका चार घरका मानिस विस्थापित भएका छन् ।
मेघबहादुर पनि कहिले त्रिशूली, कहिले ससुराली गाउँ काउलेमा गएर बस्ने गरेका छन् । बुङ्ताङमा भूकम्प प्रभावितहरूको लगत संकलन गरिएका सात सय ८१ मध्येका एक मेघबहादुर अनुदान पाउनयोग्य सात सय ५८ मध्येका पनि हुन् । नुवाकोटमा ६५ हजार सात सय ७३ घरधनी लाभग्राहीको सूचीमा सूचीकृत छन् । त्यसमध्ये २१ हजार दुई सय १६ घरधनीले अनुदान सम्झौता गरेका छन् । लाभग्राहीको सूचीमा नपरेको भन्दै नौ हजार नौजनाले नुवाकोटमा गुनासो दर्ता गराएका छन् ।
गत वर्ष गृह मन्त्रालयले अध्ययन गरी प्रतिवेदन बुझाएका जोखिमपूर्ण बस्तीमध्ये भूकम्पबाट अति प्रभावित नुवाकोट, गोरखा, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रामेछाप, ओखलढुंगा र काभ्रेपलाञ्चोकमा खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बुझाएको छ ।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार एक सय १७ स्थानका जोखिमपूर्ण बस्तीको प्रतिवेदन प्राप्त भएको छ । ‘जोखिमपूर्ण बस्तीको थप अध्ययन गर्न भूगर्भ विभागलाई बजेटसहितको प्रस्ताव पेस गर्न लगाएका छौं', प्रवक्ता थपलियाले अन्नपूर्णसँग भने । गत असार १० गते प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरण निर्देशक समितिको बैठकले जोखिममा रहेका बस्तीहरूलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमुना बस्ती विकास गर्ने निर्णय गरेको छ ।
भूकम्पले क्षतविक्षत बनाएलगत्तै अघिल्लो वर्ष गृह मन्त्रालयले भूकम्प प्रभावित नुवाकोटमा चार सय ६६ सहित १८ जिल्लाका १९ हजार एक सय घरधुरी जोखिममा रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही प्रतिवेदनलाई भौगर्भिक अध्ययन गर्न खानी तथा भूगर्भ विभागले थालेको अध्ययनमध्ये एक सय १७ वटा बस्तीको अध्ययन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रतिवेदन पनि बुझाएको छ ।
विभागले बुझाएको प्रतिवेदन प्राधिकरणले सम्बन्धित जिल्लामा पठाएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । प्राधिकरणको निर्देशक समितिका सदस्य तारानिधि भट्टराई, किशोर थापा, खानी तथा भूगर्भ विभाग, भू तथा जलाधार संरक्षण विभाग, सहरी विकास मन्त्रालय, नापी विभाग र जलउत्पन्न प्रकोप नियन्त्रण विभागलाई सहभागी गराएर जोखिममा रहेका बस्ती स्थानान्तरण गरी पुनर्वास गराउन अध्ययनका लागि सहजीकरण गर्न विज्ञ समूह गठन गरेको छ ।
विज्ञ समूहले नुवाकोटमा अध्ययन गरेका २८ मध्ये १५, रामेछापमा अध्ययन गरेका आठमध्ये पाँच, ओखलढुंगामा अध्ययन गरेका १३ मध्ये नौ, धादिङमा अध्ययन गरेका १० मध्ये ६, रसुवामा अध्ययन गरेका १८ मध्ये सात, गोरखामा अध्ययन गरेका १० मध्ये ६, सिन्धुपाल्चोकमा अध्ययन गरेका सातमध्ये पाँच ठाउँमा बस्ती स्थानान्तरण गर्नु पर्नेछ । विभागको प्रतिवेदनमा रामेछाप र धादिङमा तीनतीनवटा बस्तीको थप विश्लेषण गर्नु पर्नेछ ।
सिन्धुपाल्चोकमा भोटेकोसी नदीआसपासका जोखिमयुक्त बस्तीको प्रतिवेदन पनि विभागले तयार पारेको छ । ‘मार्मिङ गाविसको वडा नम्बर ५ मा पुरानो पहिरोलाई भूकम्प तथा बर्सात्को पानीले पुनः सक्रिय पारेको छ । पहिरोमा जथाभाबी ढुंगाखानी सञ्चालन भइरहेको छ । मामिङ स्कुलबाट पश्चिमतर्फ तलतिर खोल्साको नजिक रहेका चार घरलाई सजग गराउनु पर्नेछ', प्रतिवेदनमा भनिएको छ, ‘बाह्रबिसेको रुम्तीमा रहेका १७ घरधुरी जोखिमयुक्त स्थानमा बसिरहेका छन् । रुम्ती टोलभन्दा तलपट्टि दुईवटा सक्रिय पहिरो छन् । जमिन पाँच मिटर भासिएको छ ।
जमिनमा ५० सेन्टिमिटर चौडाइका चिराहरू छन् । घरबाट पहिरोको दूरी १० मिटरमात्र रहेको छ । पहिरोभन्दा माथि बारी र सडकमा भ्वाङ परेको छ । स्थानीयले भ्वाङ टालेका छन् । रूख तथा बिजुलीका पोलहरू बांगिएर बसेका छन् ।'
प्रतिवेदनअनुसार गाती गाविसको वडा नम्बर नौमा १८ घर रहेको बस्तीमा भूकम्पअघिको जस्तै माथिबाट ढुंगा खसेर बस्तीमा लाग्नसक्ने गरी जोखिम रहेको छ । जलबिरे गाविसको वडा नम्बर १ खमारेमा २३ घरधुरी छन् । त्यहाँका केही मानिस सुरक्षित स्थानमा सरेका छन् भने केही मानिस जोखिमयुक्त स्थानमा बसिरहेका छन् । त्यस ठाउँमा ०७१ भदौमा पहिरो गई पाँचजना मारिएका थिए । ०७२ मा भूकम्प तथा पानीले पहिरो पुनः सक्रिय भएको थियो ।
‘पहिरोमाथि ठूलाठूला ढुंगा अस्थिर अवस्थामा रहेका छन् । माथिबाट ढुंगा खसेर बस्तीमा लाग्न सक्नेछ । जमिन अढाइ मिटरसम्म भासिएको छ । चट्टानले ठाडो भिर बनाएको र चट्टान मक्किएको छ', प्रतिवेदनमा भनिएको छ ।
बराम्चीको वेतेमा १४ घरधुरी छन् । त्यहाँका अधिकांश मानिसहरू जोखिमयुक्त स्थानमा बसिरहेको विभागको प्रतिवेदनमा उल्लेख छ । ‘पुरानो पहिरो ठाउँठाउँबाट पुनः सक्रिय भएको छ । माथि ठूलै पहिरो गएको र बीचमा उत्तिसका रूखहरूले ढुंगामाटोलाई बस्तीसम्म पुग्नबाट बचाएको छ । बर्सात्मा खोलाले क्षति गर्न सक्नेछ', प्रतिवेदनमा भनिएको छ, ‘माथिबाट ढुंगा खसेर बस्तीमा लाग्न सक्नेछ ।
पहिरोको नजिक धेरै चिरा रहेका छन् र पहिरोको बायाँपट्टिका खेतहरूमा धान खेतीको तयारी भइरहेको छ ।' लिस्तीकोटको गुम्बामा २५ घर छन् । केही मानिस सुरक्षित स्थानमा सरे पनि अधिकांश जोखिमयुक्त स्थानमा बसिरहेका छन् । ‘चट्टानको पहिरो तथा खेती गरिएको जमिनको सिमानामा दुई मिटर भासिएको छ । जमिनमा विभिन्न दिशामा चिराहरू फैलिएका छन । गुम्बा गाउँमा माथि डाँडाबाट ढुंगा झर्ने गरेको छ । गाउँ तलतिर निरन्तर पहिरो गइरहेको छ । पानी बग्ने खोल्साहरू सुख्खा भई पानी जमिनभित्र छिरेर तल कान्लान खोलामा मात्र देखापरेको छ', प्रतिवेदनमा उल्लेख छ ।
गुम्बा गाविसको तपगाउँमा ३१ घर छन् । त्यहाँका सबै मानिसहरू जोखिमयुक्त स्थानमा बसिरहेका छन् । ‘जमिनमा विभिन्न दिशामा फैलिएका धेरै चिराहरू छन् । कतिपय चिरा पुरिइसकेका छन् । गाउँको ५० मिटरमाथि उत्तरपूर्वी दिशामा रहेको चिराबाट गत वर्ष तीन महिना सेतो लेदो पानी बगेको थियो', प्रतिवेदनमा भनिएको छ, ‘गाउँको तलतिर दुईवटा खोलाले निरन्तर कटान गरिराखेको छ । जमिन र चट्टानको झुकाव लगभग पश्चिमतर्फ रहेको छ । चट्टानको कोण लगभग २६ डिग्रीमा रहेको छ । गाउँमाथि तीन मिटरसम्म जमिन धस्सिएको छ ।'
नुवाकोटका लच्याङको पत्तपुरमा १७ घरमध्ये सात घर र सल्लेडाँडामा चार घर जोखिममा छन् । ती घर सार्न प्रतिवेदनले सुझाव दिएको छ । ‘पहिरोमाथि अस्थिर चट्टानहरू छन् । भग्नावशेषले घरहरू बगाउने सम्भावना छ । साल्मेको डोङचेत टोलका पहिरोमुनि रहेका चार घर तथा खोल्सीको आसपासका अन्य घर सार्नुपर्ने अवस्थामा छन् । त्यहाँ जमिन चिरा परेको छ । ढुंगा खसिराख्छ', प्रतिवेदनमा उल्लेख छ, ‘हाल पुरानो पहिरो सक्रिय नभए पनि चिराहरूबाट पानी छिर्न गई जमिन बग्नसक्ने तथा खोलाले कटान गर्दा खोल्सी आसपासका घरहरूमा जोखिम देखिएको छ ।
साल्मेको गुन्सा बाटी गाउँमा रहेको विद्यालय जोखिममा रहेको छ । त्यहाँ जमिन चिरा परेको छ । बस्ती चिरा परेको डाँडाको दायाँबायाँ देखिन्छ । चिराहरू माथिदेखि तलसम्म देख्न सकिन्छ । विद्यालयको माथि चिरा परेको छ । पुरानो पहिरो छ । केही अस्थिर चट्टानहरू छन् । पहिरो रोकथामको उपाय अपनाएमा विद्यालय सार्न नपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।
किम्ताङको मेन्वो, तल्लो किम्ताङ पारादेङ टोलमा पहिरो आसपासमा रहेका करिब २१ घर उच्च जोखिममा छन् भने अन्य घरहरू मध्यम जोखिममा छन् । पहिरो बस्तीतिर निरन्तर बढिरहेको छ । पहिरोको शिरमा चिराहरू रहेका छन् । किम्ताङकै नाङयाङमा तल्लो किम्ताङ बस्तीको दक्षिण तथा पश्चिमतर्फ चिराहरू परेका छन् । जमिन धसिएको छ । पुरानो पहिरो पनि छ । उक्त पहिरो बस्तीतर्फ बढेमा बस्ती जोखिममा पर्नसक्ने प्रतिवेदनमा जनाइएको छ ।
प्राधिकरणका प्रवक्ता थपलियाले भने ‘जोखिमयुक्त गाउँमा अनुदान सम्झौता रोकिएको छ । अनुदान रकम हस्तान्तरण हुन बाँकी रहेकाहरूको रकम पनि अहिलेलाई रोकिएको छ ।'