शशांकको स्वास्थ्यमा सुधार, चिकित्सक उत्साही

शशांकको स्वास्थ्यमा सुधार, चिकित्सक उत्साही

काठमाडौं: ओम अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा अचेत कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपचारमा समर्पित चिकित्सकको प्रयास जारी रहँदा कांग्रेसका केही शीर्ष नेता उनलाई भारतको नयाँदिल्ली लैजान चाहन्थे ।

नेता कृष्णप्रसाद सिटौलाको सुझावमा अस्पतालका वरिष्ठ चिकित्सक भोला रिजालले अडानपूर्ण उत्तर दिए, ‘हामीले यति धेरै प्रबुद्ध चिकित्सकलाई जम्मा गरेर उपचार गरिरहेका छौं । उहाँको स्वास्थ्यमा केही सुधारका संकेतसमेत देखिइसकेका छन्, किन लग्ने बाहिर ? त्यहाँ पनि यही उपचार गर्ने त हो ।'

डा. रिजालबाट यो जबाफ पाउँदा पनि नेता सिटौलालाई भने अझै चित्त बुझेन र भने, ‘हैन, मिल्छ भने लगौं भन्ने कुरा हो ।' रिजालले गम्भीर हुँदै भने, ‘भेन्टिलेटरमा राखिएको बिरामीलाई हामी कुनै पनि हालतमा बाहिर लग्ने अनुमति दिँदैनौं । परिवारले पनि यहीं ठीक छ भनिरहनुभएको छ ।'

शशांकको उपचारमा नेपालका प्रख्यात चिकित्सक संलग्न भइरहेको बताइरहे पनि ‘उहाँलाई किन दिल्ली नलगेको ? भारतबाट चिकित्सक आउने कुरा के भयो ? ' भन्नेजस्ता अनगिन्ती प्रश्न सोध्ने अरू पनि थिए । तर ओम अस्पतालको टिम र त्यसलाई साथ दिएका अन्य चिकित्सक आत्मविश्वास र दृढतासहित ठूलै जोखिम मोलेर शशांकको उपचारमा निरन्तर खटिरहे र २४ घन्टापछि खतरामुक्त भन्न नसके पनि उनको स्वास्थ्यमा द्रुत सुधार देखियो ।

बिहीबार साँझ जारी अस्पतालको बुलेटिनअनुसार उनको स्वास्थ्य स्थितिमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको छ तर खतरामुक्त भने भइसकेका छैनन् । उनको चेतनास्तर र महत्त्वपूर्ण अंगहरूले पहिलेभन्दा काम गर्न थालेको बताइएको छ । उनले बिहीबार भेट्न आउनेहरूसँग बोल्नसमेत खोजेका थिए तर चिकित्सकले रोके ।

‘उहाँको स्वास्थ्यमा सुधार आउला भन्नेमा आशावादी थिएनौं तर आफ्नो कर्तव्य भरपूर निर्वाह गर्‌यौं । सबै बिरामीलाई हामीले गर्ने पनि त्यही हो', शशांकको उपचारको नेतृत्व गरेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. लवनरसिंह केसीले अन्नपूर्णसँग भने, ‘हाम्रो शतप्रतिशत प्रयास सबैको जीवनरक्षा गर्नेमै केन्द्रित हुन्छ ।'

 

शशांकको उपचारमा विशेषज्ञ चिकित्सक सामूहिक रूपमा निरन्तर खटिँदा बिहीबार बिहानैबाट उनको स्वास्थ्यले राम्रो नतिजा प्राप्त गरेको छ र त्यही अवस्था कायम भयो भने अबको एकदुई दिनमै उनलाई चिकित्सकले खतरामुक्त भएको घोषणा गर्नेछन् । बिहीबार राति अबेर उनको रक्तचाप १००—७० भएपछि अघिल्लो दिनदेखि चलाइएको औषधिको ‘डोज' घटाइएको छ ।

डा. कोइरालाको स्वास्थ्यमा चामत्कारिक सुधार कसरी आयो त भन्ने प्रश्नमा डा. जोशीले भने, ‘उहाँलाई समयमै उपयुक्त अस्पताल ल्याइयो । त्यसलाई हामीले गम्भीर रूपले लियौं र तत्कालै आवश्यक सबै विशेषज्ञ जुटाएर उहाँको जीवनरक्षाका लागि निरन्तर जुट्यौं । मलगायत ४–५ जना चिकित्सकले त उहाँलाई कुनै पनि बेला छोडेका छैनौं र अवस्था सामान्य बनाउन यथासम्भव प्रयास गर्नेछौं ।'

कोइरालाको स्वास्थ्यमा देखापरेको प्रगतिले उपचारमा संलग्न चिकित्सकको मनोबल बढाएको छ र तत्काल बिदेसिनने ‘भीभीआईपी' प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने सन्देश पनि दिएको देखिन्छ ।

पेटदुखाइ, खोकी र श्वासप्रश्वासमा असहज भएपछि चिकित्सकको निगरानीमा उपचारका लागि मंगलबार राति ८ बजे अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान उनले बान्ता गर्दा सर्किएर फोक्सोमा पुगेपछि उनको स्वास्थ्य जटिल बनेको थियो । ‘चिकित्सकले आफूले प्राप्त गरेको अधिकतम सीप र ज्ञानलाई सही समयमा र सही तरिकाले प्रयोग गर्ने हो, अरू जिम्मा भगवान्को हो', डा. रिजालले भने, ‘यो कुरा बिरामी पक्षले सबैभन्दा धेरै बुझ्न जरुरी छ ।'

अस्पताल ल्याइपुर्‌याएको सूचना पाएको १० मिनेटमै डा. सुपात्रालगायत चिकित्सक भेला भइसकेका थिए । करिब १५ वर्षदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेका कोइरालाको कलेजो पनि कमजोर बनेको अवस्थामा अब स्वास्थ्यमा निकै ध्यान पुर्‌याउनुपर्ने चिकित्सकको सल्लाह छ । उनको उपचारमा डा. जोशीसँगै डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. सुबोधसागर ढकाल, डा. हरिकिशोर श्रेष्ठ, डा. हरीश जोशी डा. प्रमोद श्रेत्री, डा. श्याम महर्जन, डा. यूएन पाठक, डा. राउल पाठक, डा. सुपात्रा कोइराला, डा. विश्वनाथ कोइराला, डा. सुवास आचार्य, डा. काजन श्रेष्ठलगायत खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.