बाढीबारे चीनले सूचना दिएन

बाढीबारे चीनले सूचना दिएन

काठमाडौं: चीनले आफ्नो भूभागमा भएका नदी र पोखरीको अवस्थाबारे जानकारी नदिँदा भोटेकोसीले ठूलो क्षति गरेको देखिएको छ । तिब्बत हुँदै नेपालतर्फ बग्ने भोटेकोसी यसअघि नै थुनिएको पत्ता लागेको छ । पहिरोका कारण थुनिएर पोखरी भएको भोटेकोसीनजिक दुई दिनअघिको वर्षाले अर्को पहिरो गएपछि बाढी आएको पुष्टि भएको छ ।

गत वर्षको भूकम्पका कारण थुनिएको (बोइकु) भोटेकोसीबारे नेपाल सरकार तथा सरोकारवाला निकायसँग कुनै जानकारी थिएन । चिनियाँ भूउपग्रह तस्बिरअनुसार बोइकुको तिब्बतको न्यालम भन्ने स्थानमा पोखरी फुटेको हो । उक्त पोखरीमा जम्मा भएको पानी फुटेपछि पहिरोका रूपमा बाह्रबिसेसम्म असर देखिएको हो ।

न्यालम र झ्याङ्मु भन्ने स्थान नजिक रहेको सात सय सात मिटर लामो पुलनजिकको पोखरी फुटेको जानकारी चिनियाँ वैज्ञानिकले दिएको भोटेकोसी बाढीको अध्ययन गरिरहेका जलविद् विनोद पराजुलीले दिए । विज्ञका अनुसार नयाँ पहिरोले नदी थुनिएको होइन । तिब्बतमा नदी थुनिँदा बाह्रबिसेतिर भोटेकोसीमा पानीको सतह घट्नुपर्ने थियो । तर स्थानीय बासिन्दा तथा पानीको बहाव नाप्ने यन्त्रले समेत त्यसको संकेत गरेका छैनन्

बाढी पूर्वानुमान शाखाका अनुसार बाढी आएको दिन पनि भोटेकोसीमा पानीको सतह घटेको थिएन ।

भोटेकोसीको मुख्य स्रोत तिब्बतीय हिमताल हुन् । यस क्षेत्रमा भएका आठ हिमतालमध्ये केही विस्फोटको खतरामा रहेको प्रतिवेदन पनि सार्वजनिक भइरहेका छन् । तर नदीबारे भने चिनियाँ पक्षले नेपाललाई सूचना नदिएको दाबी सरकारी अधिकारीको छ । ‘यसरी नदी थुनिएको जानकारी हामीले पाएको भए त्यहीअनुसारको सचेतना अपनाउने थियौं’, गृह मन्त्रालयसम्बद्ध एक अधिकारीले भने

 

भारतसँग भने नेपालले सबै नदीबारे सूचना नियमित रूपमा उपलब्ध गराइरहेको छ । चीनसँग सचिव वा मन्त्रीस्तरीय बैठक गरेरै यस्ता विषयमाथि छलफल गर्नुपर्ने ती अधिकारीले बताए । जलवायु तथा मौसम विज्ञान विभागले गत वर्ष भूकम्पपछि थुनिएका नदी तथा विस्फोटको खतरा रहेका हिमतालको सूची तयार पारेका थिए । तर त्यो सूचीमा यो पहिरो र पोखरीबारे कतै उल्लेख छैन ।

अहिले गएको पहिरो वा फुटेको पोखरीबारे विस्तृत जानकारी सरकारसँग छैन । चीनबाट नेपालतर्फ बग्ने बाह्रबिसे भोटेकोसी, अरुण, त्रिशूली भोटेकोसी र बूढीगण्डकी मुख्य हुन् । यी नदी थुनिँदा वा हिमताल विस्फोट हुँदा नेपालको तल्लो तटीय क्षेत्रसम्मै असर पुग्छ । विज्ञहरूले यो अन्तरदेशीय विषय भएकाले सोहीअनुसार छलफल अघि बढाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा यसबारे बृहत् छलफलसमेत भइसकेको छ ।

भोटेकोसी आसपासको क्षेत्र हिमताल विस्फोटका दृष्टिकोणले उच्च जोखिममा छ । तिब्बततर्फका हिमताल फुट्दा उत्पन्न हुने विपत्ति तल्लो तटीय क्षेत्रसम्म पर्छ । सन् १९६४ मा चीनको ज्याङ्ज्याङमा हिमताल विस्फोट हुँदा आएको बाढीले अरनिको राजमार्ग तथा आसपासका क्षेत्रमा ठूलो विनास गरेको थियो । यसैगरी सन् १९८१ मा पनि सोही हिमताल विस्फोट भएको थियो । अन्य साना बाढीका घटना पनि भोटेकोसी क्षेत्रमा प्रशस्तै छन् ।

बाह्रबिसेमा बाढीले क्षति पुर्‌याएको पानीको सतह नाप्ने यन्त्र जलवायु तथा मौसम विभाग विभागले परिवर्तन गरेको छ । आधा घन्टाको फरकमा नदीमा पानीको सतहबारे स्वचालित रूपमा जानकारी दिने यन्त्रकै आधारमा बाढी पूर्वानुमान शाखाले स्थानीयलाई सुरक्षित स्थानमा जान सूचित गरेको थियो । शाखाको एउटा टोली बिहीबार बाह्रबिसे पुगेर नयाँ यन्त्र जडान गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.