सात दिनभित्र बस्ती छोड्न निर्देशन
गर्जुवा (धनकुटा): बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला दैविक प्रकोप उद्धार समितिले महाभारत–२ गर्जुवाखोला किनारका बासिन्दालाई सात दिनभित्र बस्ती छोड्न निर्देशन दिएको छ ।
समितिका पदाधिकारीले बुधबार स्थलगत अनुगमन गरी गर्जुवाखोला किनारका बस्ती अत्यन्तै जोखिममा रहेको भन्दै त्यहाँका घरवरिवारलाई बस्ती छोडेर सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो । गर्जुवा खोलाको किनारमा १६ घरपरिवारको बसोबास छ । बर्खाको मौसममा गर्जुवाखोलाको शिर डडुवाबाट बर्सौदेखि निरन्तर रूपमा पहिरो गइरहेको छ ।
पहिरोका कारण गर्जुवाको किनारमा रहेका बस्ती उच्च जोखिममा छन् । माथिबाट खसेको पहिरोले बस्ती पुर्ने र खोलो बस्तीमा पसेर घर बगाउन थालेपछि स्थानीय त्रसित छन् । खोलाको बाढीले पछिल्ला केही महिनायता एक दर्जनभन्दा बढी पटक कोसी राजमार्ग अवरुद्ध पारिसकेको छ ।
गर्जुवाको बस्ती जोखिममा छ । त्यही भएर आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको उद्धार समितिका सदस्यसचिव स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । उनका अनुसार यसभन्दाअघि वर्षात्मा आएको बाढीले गर्जुवाखोलामा रहेका दुईवटा पक्की पुल बगाइसकेको छ ।
‘बस्तीका अधिकांश घरपरिवारको जग्गा अन्यत्र पनि रहेको बुझिएको छ', उनले भने, ‘हामिले दिएको समय सीमाभित्र बस्ती खाली हुन्छ ।' त्यस्तै कोसी राजमार्गअन्तर्गत गर्जुवाको शिर डडुवाको बस्ती पनि जोखिममा रहेकाले त्यहाँका स्थानीयलाई गाविस सचिवमार्फत सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन निर्देशन दिइएको उनले बताए ।
यसैगरी दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले गर्जुवा किनारमा बाढीले जुनसुकै बेला पनि मानवीय क्षति हुने हुँदा बसाइँ सर्न निर्देशन दिएको बताए । उनले यहाँका स्थानीय अन्यत्रबाट बसाइँ सरी व्यापार गर्न आएको हुँदा उनीहरूको जग्गाजमिन अन्यत्र पनि भएको दाबी गरे । ‘विकल्प हामीले भन्दा पनि त्यहाँका स्थानीयवासी आफैंले खोज्नुपर्ने प्रजिअ एवं संयोजक उप्रेतीको भनाइ छ ।
अन्त बस्ने ठाउँ छैनः स्थानीय
पहिरो र बाढीको उच्च जोखिम भए पनि अन्यत्र बस्ने ठाउँ नभएकाले जोखिम मोलेर बस्नु आफूहरूको बाध्यता रहेको यहाँका स्थानीय बासिन्दा बताउँछन् । सरकारले अन्यत्र बस्ने विकल्प नदिएसम्म ठाउँ छाडेर जान नसक्ने उनीहरूको भनाइ छ । गर्जुवा किनारको बस्तीका १६ घरपरिवारमध्ये अधिकांश परिवारनजिकैको लेउती खोलामा गिटी, बालुवा चालेर जीवन चलाउँछन् ।
२० वर्षदेखि सोही बस्तीमा बस्दै आएकी ईश्वरी राईले बस्ने ठाउँ कतै नभएर जोखिम मोलेर बस्नु बाध्यता रहेको बताइन् । ‘बिहान बेलुकाको छाक टार्न खोलामा बालुवा चाल्नुपर्छ', उनले भनिन्', ‘हामी कतै जग्गाजमिन नभएका सुकुम्बासी हौं । डोजर लगाएर पुरे मर्न तयार छौं ।'
‘खोलामा हेर्यो बाढी, मास्तिर डाँडामा हेर्यो पहिरो । हामीलाई सुरक्षित स्थानमा लैजानुपर्यो । सरकारले विकल्प दिनुपर्यो । डराएर बस्नु हाम्रो रहर होइन । अयन्त्र जग्गा भएर पनि बसेको आरोप लगाउँछन् तर हाम्रो कतै जग्गा छैन', उनले भनिन् ।
सोही ठाउँका अर्का स्थानीय पुष्पलाल राईले घर छोडन् निर्देशन दिनुभन्दा पनि सरकारले कतै उपयुक्त ठाउँ दिए त्यहाँ गएर बस्ने बताउँछन् । उनी भन्छन्, ‘सामान्य गाईगोठ सार्न त एक महिनाभन्दा बढी समय लाग्छ । मान्छे बसेको घर हो । अत्यन्त्र ठाउँमा जग्गा पात भए पनि सार्न २÷३ महिना त लागिहाल्छन नि ।'
महाभारतको फेदीबाट दुई दशकअघि गर्जुवाखोलाको किनारमा बसाइँ सरेर आएकी ७० वर्षीया जगदेवी राई अयन्त्र बस्ने ठाउँ नभएको हुँदा बसाइँ सर्न नसक्ने बताउँछिन् । उनको गर्जुवानजिकै फेदीमा रहेको खेती योग्य जमिन, घर र रूखपात लेउतीखोलामा आएको बाढीले बगाएको थियो । भएको घरखेत बाढीले बगाएपछि घरवारविहीन भएकी उनी गर्जुवाखोलाको किनारमा बस्दै आएकी छन् ।
गर्जुवाखोलाको किनारमा व्यापार गर्दै आएका तराई मूलका सीताराम दास बस्तीका स्थानीयलाई घर छाड्न निर्देशन दिनुभन्दा पनि गर्जुवाखोलाको पहिरो र बाढी रोकथामको उपाय सोच्नुपर्ने बेला आएको बताउँछन् ।