क्षयरोग लागेको भन्दै कोरियाबाट फिर्ता

क्षयरोग लागेको भन्दै कोरियाबाट फिर्ता

काठमाडौं: काम गर्न दक्षिण कोरिया गएका कामदार स्वास्थ्य परीक्षणमा फेल भएर फर्किनेक्रम बढ्न थालेको छ । नेपालका प्रमुख सरकारी अस्पतालमा स्वास्थ्य परीक्षणमा खरो उत्रिएका कामदारलाई पनि कोरिया पुग्ने बित्तिकै रोगी भएको प्रमाणित गरेर धमाधम फिर्ता पठाउन थालेपछि सरकारलाई टाउको दुखाईको विषय भएको छ ।

सन् २०१६ को मेसम्मको पाँच महिनामा मात्रै ३६ जना कोरिया पुगेका कामदार फर्किसकेका छन् । उनीहरूलाई क्षय रोग लागेको भनेर फिर्ता पठाइएको हो । चार वर्षअघिसम्म रोगी प्रमाणित गरेर वार्षिकरूपमा फिर्ता हुने कामदार चारपाँच जनाभन्दा बढी हुँदैनथ्यो । तर सन् २०१४ देखि भने फिर्ता हुनेक्रम ह्वात्तै बढेको हो ।

नेपाल र कोरियाबीच भएको श्रम सम्झौतामा फिर्ता हुँदा लाग्ने खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने व्यवस्था छ । टिकटलगायतका खर्च कामदारले व्यहोर्नुपर्दा फर्किनुको पीडासँगै थप व्यायभार पनि बढ्ने समस्या छ ।

छातिमा सामान्य दाग देखिने बित्तिकै क्षय रोग लागेको भन्दै कोरियाले कामदारलाई फिर्ता पठाइदिन थालेपछि नेपाल सरकारले कोरियाली पक्षसँग केही समयअघि गम्भीर वार्ता गरेको छ ।

कोरियाको श्रम मन्त्रालयका अधिकारी, त्यहाँको मानव संशाधन विभागका उच्चअधिकारी, साना तथा मझौला उद्योगका प्रतिनिधि अनि रोजगारदाता संगठनका प्रतिनिधिलाई नेपाल बोलाएर स्वास्थ्य परीक्षण प्रक्रियाका बारेमा गम्भीर वार्ता गरिएको हो ।

कोरियाले बाल्यकालमा निमोनिया भएका वा क्षयरोग लागेर निको भइसकेका व्यक्तिलाई पनि फिर्ता पठाउने गरेको छ । सरुवा रोग भन्ने वित्तिकै कोरियाली निकै डराउँछन् । क्षय रोग पनि सरुवा हो, त्यही भएर निको भइसकेको पुरानो दाग देखिए पनि राम्रोसँग परीक्षण नगरिकनै फिर्ता पठाउने प्रवृत्ति देखिएको सम्बद्ध अधिकारीले बताएका छन् ।

अचानक रोगी बनेर फिर्ता हुनुपर्दा कामदार मानसिक र सामाजिकरूपमा समेत पीडित हुने गरेको छ । यहाँ गरिरहेको काम छाडेका हुन्छन् । व्यापार व्यवसायसमेत छाडेर कोरिया पुगेकाहरू आइसकेपछि कसरी दैनिक जीवन गुजारा गर्ने भन्ने पीडामा समेत पर्न थालेका छन् ।

 

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरिया गएका कामदार रोग भनेर फिर्ता पठाउनेक्रम बढेको बताए । यहाँ निकै राम्रोसँग स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई धमाधम फिर्ता पठाउन थालेपछि यसबारेमा कोरियाली पक्षलाई नेपाल बोलाएर गम्भीर छलफल गरिएको उनले बताए ।

‘पाटन अस्पतालका वरिष्ठ चिकित्सकलाई नै राखेर यहाँको परीक्षण विधिबारे प्रत्यक्ष जाकारी गराएपछि कोरियाली पक्ष पनि सहमत भएको छ', उनले भने । अबदेखि कोरियाले गम्भीर हिसाबले स्वास्थ्य परीक्षण गर्ने र निको भइसकेका रोगलाई कारण बनाएर फिर्ता नपठाउने आश्वासन दिएको उनले बताए । दुई देशबीचको श्रम सम्झौतामा फिर्ता हुने कामदारको टिकटलगायतका सम्पूर्ण खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने व्यवस्था भए पनि व्यवहारिकरूपमा अहिलेसम्म फर्किने त्यस्ता कामदारको सबै खर्च एचआरडी कोरियाले व्यहोर्दै आएको बास्तोलाले जानकारी दिए ।

काम गर्न कोरिया जाने कामदारलाई पाटन, वीर, कोरिया–नेपाल मैत्री अस्पताललगायतमा स्वास्थ्य परीक्षण गरिँदै आएको छ । केही महिनायता क्षय रोगका बारेमा विशेष परीक्षणसमेत गर्न थालिएको छ । गत मार्चदेखि कोरियाको न्याय मन्त्रालयले ९० दिनभन्दा बढी कोरियामा बस्ने विदेशी नागरिकले अनिवार्य क्षय रोग परीक्षण गर्नुपर्ने निर्देशन जारी गरिसकेको छ ।

दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो । नेपालले सन् २००८ देखि त्यहाँ प्रशिक्षार्थी कामदार लैजान थालेको हो । जाने बित्तिकै नेपाली कामदारले मासिक न्यूनतम एक लाख १२ हजार हाराहारीमा कमाउन सक्छन् । अनुभवी भएपछि कमाई अझ बढ्छ । अतिरिक्त समय काम गर्नेले मासिक साढे दुई लाखदेखि तीन लाखसम्म पनि कमाउने गरेको त्यहाँ काम गरिरहेकाहरू सुनाउँछन् ।

हाल कोरियामा ३१ हजार नेपालीले काम गरिरहेका छन् । उद्योग र कृषि क्षेत्रमा नेपालीले काम पाएका छन् । कोरियामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन् । दुवै देशका सरकारीस्तरमा (जी टू जी) मात्र कामदार आदानप्रदान गर्ने व्यवस्था छ । पछिल्लो समय उच्चशिक्षा हासिल गरेका, यहाँ राम्रै काम वा व्यापार व्यवसाय गरेर बसिरहेका युवाको पनि त्यहाँ जान चाहने आकर्षण निकै बढेको छ ।

Nepali-worker-at-Koria


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.