कृषि क्रान्तिको कसरत

कृषि क्रान्तिको कसरत

काठमाडौं: उनको बुद्ध एअर घरेलु उडानमा नम्बर वान। कुल यात्रुको ६० प्रतिशतभन्दा बढी उनकै जहाजले ओसार्छन्। कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको ध्याउन्न चाहिँ बुद्ध एयरभन्दा खेततिर छ।

एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धामा उतार्ने सपना नभएको होइन, तर ५० हजार बिघा खेतमा दुई बाली धान र उत्पादन १६ लाख टन पुर्‍याउने सपना प्राथमिकतामा छ। सफल भए सपनाले मुलुकमै धानबालीमा क्रान्ति ल्याउने उनको विश्वास छ जुन सरकारले दशकौं र खर्बौ रुपैयाँ लगानी गर्दा पनि हुन सकेको छैन।

यान्त्रीकरणमार्फत खेतीको लागत घटाउने र आधुनिक तौरतरिका प्रयोग गरी मोरङ र सुनसरीको धानबालीमा उत्पादकत्व बढाउन उनी खटिईरहेका छन्। बुद्ध एयर एउटा सिस्टममा चलिरहेको छ, र यसको नसा,नसा थाहा छ। यसको सञ्चालनमा माथापच्ची गरिरहन पर्दैन। दिनमा एकाध चोटी कम्प्युटर खोले पुग्छ। ‘यसैले धानबालीको उत्पादकत्व बढाउने काममा मज्जाले समय दिन सक्छु', उनी सुनाउँछन्।

खेतीमा यसरी रौसिनुमा उनको छुट्टै कथा छ। २०४२ सालमा बनारसबाट आईकम सिध्याएका वीरेन्द्र घरमा थिए। बुवा (सुरेन्द्रबहादुर बस्नेत) ले ऋण लिएर आधुनिक कृषि फार्म नाममा डाँगीहाट (मोरङ) मा रहेको खेतीलाई व्यावसायीकरण गर्न थालेका थिए।

विराटनगर क्याम्पसमा पढाई अघि बढाउँदै खेती पनि हेर्न बुवाले अह्राएपछि उनी महेन्द्र मोरङ क्याम्पसमा भर्ना भए। खेतीमा केही पोखरी खनेर माछा पालन सुरु भइसकेको थियो। भूँइकटहर, केरा आदि फलफूल लगाइएको थियो।

खेतीमा यसरी भिजे उनले ५७ वटा पोखरी खनाए। माछाका भुरा उत्पादन गरी बेच्न थाले। बिहाको कुरा अघि बढेपछि उनले काठमाडौंमा जन्मे हुर्केकी सुनितालाई गाउँमा बस्न पर्ने सर्त राखे। बुद्ध एयरको जहाज काठमाडौं ल्यान्ड नगरुन्जेल (२०५४ साल) उनी खेतीमै रमाइरहे।

घरेलु एयरलाइन्स सुरु हुने र डुब्ने क्रम चलिरहदा बुद्ध एयर उनकै नेतृत्वमा सफलताको खुड्किलो उक्लिँदै गयो। उनी खेतीबाट टाढिए। ‘तर खेतीस“ग प्रेम टुटेको थिएन, सम्पर्कमात्र टुटेको थियो', उनी भन्छन्।

त्यही प्रेमले ५ वर्षअघि उनलाई फेरि एकपटक खेतमा पुर्‍यायो। तर, यो चोटी उनी आफ्नो खेतमा खेती गर्न गएका थिएनन्। अरुको खेतमा उत्पादकत्व बढाउने लक्ष्य लिएर विराटनगर झरेका थिए।


यान्त्रीकरणमार्फत खेतीको लागत घटाउने र आधुनिक तौरतरिका प्रयोग गरी मोरङ र सुनसरीको धानबालीमा उत्पादकत्व बढाउन उनी खटिईरहेका छन्।


संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बुद्ध एयरमा कमाएको केही पैसा समाजका लागि केही गरौं भनेर झरेका थिए। चौध वर्षपछि फर्किंदा कृषि झन समस्याग्रस्त पाए। जग्गा टुक्रिने क्रम झन तीव्र थियो नै वैदेशिक रोजगारीको कारण कृषि मजदूर अभाव थियो। मजदुरको ज्याला अकाशिएको थियो।

 

यसकारण कृषिको रिटर्न नाम मात्रको, अझ शून्य अवस्थामा झरेको थियो। कतिपय किसान त बरु जग्गा बाझो राख्न थालेका थिए। खेतीयोग्य जमिनको प्लटिङ पनि द्रुत गतिमा भइरहेको थियो।

उनले खेतीमा यन्त्र प्रयोग गरेर कृषि मजदुरको अभाव पुर्र्ताल गर्ने योजना बनाए। यान्त्रीकरणले मजदुर अभावको समस्या चिर्नेमात्र हैन लागत पनि घटाउने निष्कर्ष निस्क्यो। टंकिसिनवारीको गोकुवामा प्रयोगका रूपमा दुई वर्ष यन्त्र प्रयोग गर्दा कृषि मजदुरको अभाव बेहोर्न नपर्ने समाधानमात्र निस्किएन, खेतीको लागत ह्वात्तै घटने प्रमाणित भयो।

ट्र्याक्टरले जोत्ने, ट्रान्सप्लान्टरले रोप्ने, हारभेस्टरले काट्ने-प्रयोगले के देखायो भने परम्परागत दाउनीमा ३० प्रतिशत धान ह्रास हुने रहेछ। तर, हारभेस्टर प्रयोग गर्दा ह्रास नगन्य हुने। भनेपछि किसानलाई ३० प्रतिशत फाइदा त यतिकै भयो। यसबाहेक परम्परागत खेतीभन्दा लागत पनि घट्ने, मजुूर (जन) खोज्दै हिँड्न पनि नपर्ने।

प्रयोग सफल भएपछि यान्त्रीकरण गाउँगाउँमा विस्तार गर्नुपर्ने र व्यवस्थापन गर्नपर्ने भयो। यसका लागि गाउँमा सहकारी गठन गर्ने, बुद्ध एयर जमानी बसेर सहकारीलाई मेसिन किन्न ऋण दिलाउने, सहकारीले गाउँमा यन्त्रको प्रयोग गर्ने तरिका अपनाइयो।

सहकारीले ३० प्रतिशत लगानी गर्ने र बैंकले ७० प्रतिशत बैंकले ऋण दिने व्यवस्था मिलाइएको थियो। सहकारीले तीन वर्षमा ऋण चुक्ता गरी मेसिनलाई पूरै आफ्नो स्वामित्वमा लिन थाले।

तर मुलुकमा सहकारीका कुरा जति गरेपनि भित्री कुरा अर्कै छन्। बस्नेतको अनुभवमा साधारण सदस्य जतिसुकै भए पनि सहकारीमा हालिमुहाली ५, ७ जनाको हुने रहेछ। तिनको ध्याउन्न मेसिनको भाडामा मात्र भयो। एकदम अपारदर्शी व्यवहार र तिनै टाठाबाठाले मस्ती गर्ने।

तिनले जमिनको उत्पादकत्व बढाएर सबै किसानलाई फाइदा पुर्‍याउने र उनको सपनाको कृषि क्रान्ति गर्ने सम्भावना देखिएन। उनी चाहन्थे सहकारीले उन्नत बिउ, मल, किटनाशक उपलब्ध गराओस्। खेतीका आधुनिक तौतरिका सिकाओस्।

'मेरो उद्देश्य त उत्पादन बढोस र त्यसको समान वितरण होस भन्ने हो', थप्छन्, 'अनि आमरुपमा जीवनस्तर उकासिन्छ।' सहकारीबाट त्यो लक्ष्य पूरा हुने देखिएन, उनको मोहभंग भयो। पाँच वर्षमा उनले ५, ६ करोड रुपैयाँका साथै थुप्रै समय बगाए पनि सहकारीमार्फत उत्पादकत्व बढाउने योजना फेल खाएको छ। तैपनि खेर गएको भन्न मिल्दैन। यान्त्रीकरण गर्नुपर्छ भन्ने सन्देश गएको छ।

अब उनी सहभागितामूलक नाफामुखी काम गर्न अघि बढेका छन्। उनी किसानको लगानीमा नाफामुखी संस्था दर्ता गर्दैछन्। यसले यान्त्रीकरण त गर्ने नै छ, साथै उत्पादकत्व बढाउने सबै तरिका प्रयोग गर्नेछ।

संस्थामा पहिलो वर्ष उनको ६० प्रतिशत र सम्बद्ध किसानको ४० प्रतिशत लगानी हुनेछ। अर्को वर्ष किसानको सेयर ७० प्रतिशत पुर्‍याएर आफ्नो ३० प्रतिशतमा झार्ने उनको योजना छ।

कृषि नाफामुखी व्यवसाय नभई 'प्यासन' भएकाले व्यवस्थापनका लागि मात्र यसपटक आफूले बहुमत सेयर राख्न परेको उनको भनाइ छ। कम्पनीले यन्त्र भाडा लगाएवापत् आउने आम्दानीले फार्म व्यवस्थापनको काम हुनेछ।

एक सय ५० मन धान फलाएपछि बिघाको एक सय २० मन बिघामा आफ्नो जग्गा भाडामा लिइदिन अनुरोध गर्ने किसान पनि छन्। तर यस्तो प्रस्ताव उनले अस्वीकार गरेका छन्। कारण, उनलाई जग्गा भाडामा लिएर नाफा कमाउनु छैन। ‘खेती त खेतीवालले नै गर्नपर्छ', उनी भन्छन्, ‘उत्पादकत्व बढाउन सहजकर्तामात्र म हुँ।'

पोहोरको सिजनमा उनले सत्तरझोडा÷तनमुना गाविसमा ५० बिघा खेतमा नयाँ तरिकाबाट रोपाइँ गराए। प्लास्टिक सिटमा धानको बिउ राख्ने र १५ दिनमा ट्रान्सप्लान्टरले रोपाइँ गर्ने, एक ठाउँमा एउटामात्र बिउ रोप्ने।

यतिमात्र गर्दा परिणाम आश्चर्यजनक आयो, बिघाको ८० मन धान फलिरहेको खेतमा एक सय ५० मन धान फल्यो। किसानले बिघामा ५० हजार रुपैयाँ अतिरिक्त फाइदा पाए। 'फरक तरिकाबाट रोपाइँ गरेपछि घरमा श्रीमतीसँग झगडा भयो, केही दिन बोलचाल भएन,' तनमुनाका प्रबन्धक उराव सुनाउँछन्, ‘तर धान फलेको देखेपछि सबैजना दंग छन्।'

किसानसँग अन्तरक्रिया गरेका संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा उत्पादकत्व वृद्धि उत्साहजनक भएको बताउँछन्। ‘विज्ञस“ग छलफल गरे, उत्पादन उत्साहजनक हो,' उनी भन्छन्, ‘थप परिणाम हेरेपछि यसलाई मोडलका रूपमा प्रवद्र्धन गर्न सकिन्छ।'

झण्डै दोब्बर धान फलाउन तरिका खासै गाह्रो थिएन। 'प्लास्टिक सिटमा बिउ उमारियो, १५ दिनको बिउलाई ट्रान्सप्लान्टरमार्फत रोपियो। प्लास्टिक सिटमा बिउ उमार्दा रोप्ने बेलामा जरा नचुँडिने भएकाले बिउ स्वस्थ भयो।

परम्परागत तरिकामा २५÷३० दिनको बिउ रोपिन्छ, तर १५ दिनको कलिलो बिउले राम्रो उत्पादन दियो। यस्तै एक ठाउमा एउटामात्र रोप्दा गाँज राम्रोस“ग आएर उत्पादन बढ्यो।

यसपालि एक हजार बिघा खेतमा धमाधम धान रोपाइँ भइरहेको छ। दुई दुई सय बिघाको पाँचवटा क्लस्टर बनाएर व्यवस्थापन गरिएको छ। खेतीका लागि कामगर्ने पुँजी दिइएको छ। १० वटा ट्र्याक्टरले एक हजार बिघा जोत्ने लक्ष्य लिएर काम भइरहेको छ।

यो मोडलमा उनी अर्को सिजनमा पाँच हजार बिघा खेती गराउने योजनामा छन्। गाह्रो छैन। प्रयोगका रूपमा गरिएको खेतीमा एक सय ५० मन फलेको हल्ला फैलिसकेको छ। व्यवस्थापन सजिलो बनाउन एफ १ सफ्ट कम्पनीले एप बनाउँदैछ।

एपमै १ करोड रुपैयाँ लगानी हुँदैछ। 'एप बनेपछि काठमाडौंमै बसीबसी म खेतीको व्यवस्थापन गर्नसक्छ', भन्छन्, ‘अहिलेजस्तो हप्तैपिच्छे गाउ“ पुगिरहन पर्दैन।'

सुनसरी मोरङ सिँचाइ आयोजनाले सिँचाइ पुर्‍याउने ५० हजार बिघामा धानको उत्पादकत्व ह्वात्तै बढाए मात्र सरकारले आयोजनामा गरेको अर्बौ रुपैयाँको प्रतिफल पाइन्छ। सपना देखेको ५० हजार विघामा धान खेती गरी हाइब्रिड बिउ प्रयोग भए आठ लाख टन धान उत्पादन हुन्छ।

यसपछि सहभागितामूलक मुनाफामुखी चामल उद्योग स्थापना गर्ने उनको लक्ष्य छ। ५० हजार बिघामा आठ लाख टन धान फले यसको लाभ त्यतिमा सीमित हुने छैन। देशैभरि र सीमावर्ती क्षेत्रमा पनि यसको अनुकरण हुने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.