दोहामा दैनिक उडान हिमालयको तयारी
काठमाडौं: निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी सोमबारदेखि काठमाडौं-दोहा दैनिक उडान गर्ने भएको छ।
कतारको राजधानी दोहामा हाल साताको तीनवटा उडान गरिरहेको यो वायुसेवाले सोमबारदेखि दैनिक उडान सञ्चालन गर्न आन्तरिक तयारी पूरा गरेको जानकारी दिएको छ।हिमालयले काठमाडौंबाट राति ११ बजे उडान गर्ने र कतारकै स्थानीय समयअनुसार बिहान साढे एक बजे अवतरण गर्ने जानकारी दिएको छ।
साताभर नै यही समयमा उडान तथा अवतरण गर्ने तालिका तय भएको हिमालयले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ । दोहाबाट बिहान साढे दुई बजे उडेको हिमालयको जहाज काठमाडौंमा यहींको समयअनुसार बिहान सबा १० बजे अवतरण गर्ने गरेको छ।
हिमालयले अहिले सातामा मंगलबार, बिहीबार र शनिबार उडान सञ्चालन गरिरहेको छ। हिमालय एयरलाइन्सले जेठ १८ गतेबाट कतारमा सेवा सुरु गरेको हो।
यो वायुसेवाले एअरबस ३२०-२१४ नामक एक सय ५८ सिट क्षमताका जहाजमार्फत उडान गर्दै आइरहेको छ यो जहाजमा बिजनेस क्लासका आठ र इकोनोमी क्लासका एक सय ५० सिट छन्।
हिमालय एयरलाइन्सले जहाज थप गर्दै दिल्ली, ल्हासा, चेंगदु, बेइजिङ, कोलम्बो, बैंकक र हङकङसम्मका गन्तव्यमा उडान गर्ने योजना अगाडि सारेको छ।
दोहालाई उच्च प्राथमिकतामा राखेर दैनिक उडान सेवा सञ्चालन गर्न सफल भएको हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताएका छन्। उनका अनुसार हिमालय एयरलाइन्सको दैनिक उडान सेवाले विशेष गरेर कतार जाने नेपाली कामदारलाई लाभ पुगेको छ।
यो वायुसेवाले जहाज थप गर्दै दिल्ली, ल्हासा, चेंगदु, बेइजिङ, कोलम्बो, बैंकक र हङकङसम्मका गन्तव्यमा उडान गर्ने योजना अगाडि सारेको छ । हिमालयले आगामी पाँच वर्षभित्रै १५ वटा एयरबस जहाज सञ्चालन गर्ने योजना अगाडि सारेको छ।
कम्पनीले वाइडबडी नामक ठूलो जहाज भित्र्याएर नेपालबाट लामो र पर्यटकीय गन्तव्यका जापान, कोरिया, युरोप, अस्ट्रेलिया र अमेरिकासम्म उडान गर्ने योजना पनि बनाएको छ। यो वायुसेवामा ४८.९९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी रहेको छ भने नेपाली लगानीकर्ता आङछिरिङ शेर्पासहितको ५१.०१ प्रतिशत लगानी छ।