लघुवित्तको चुक्ता पुँजी बढाउने तयारी
काठमाडौं: नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीको चुक्ता पुँजी चार गुणासम्म बढाउने तयारी गरेको छ।
आगामी साता मौद्रिक नीति ल्याउने तयारीमा रहेको राष्ट्रबैंकले चारगुणासम्म मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्रबैंकले राष्ट्रिय स्तरको लघुवित्त कम्पनीको चुक्ता पुँजी चार गुणा र क्षेत्रीय स्तरका लघुवित्तको पुँजी दुईगुणासम्म बढाउने तयारी गरेको छ।
अहिले राष्ट्रिय स्तरका लघुवित्त कम्पनीको चुक्ता पुँजी १० करोड, क्षेत्रीय स्तरका दुई करोड तथा एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका लघुवित्त कम्पनीको पुँजी एक करोड छ।राष्ट्रबैंकले अघिल्लो वर्ष ल्याएको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाएको छ।
'राष्ट्रिय स्तरको चार गुणा र क्षेत्रीय स्तरको दुई गुणासम्म पुँजी बढाउनुपर्ने प्रस्ताव सञ्चालक समितिमा गएको छ',राष्ट्रबैंकका एक अधिकृतले भने, 'अन्तिम निर्णय सञ्चालक समितिले गर्नेछ।' सञ्चालक समितिमा प्रस्ताव गए अनुसारको पुँजी वृद्धि भएमा राष्ट्रिय स्तरका लघुवित्त कम्पनीको चुक्ता पुँजी ४० करोड हुनेछ भने क्षेत्रीय स्तरको चार करोड एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका लघुवित्तको दुई करोड हुनेछ।
राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सार्वजनिक कार्यक्रमै लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाउने बताउँदै आएका छन्। मौद्रिक नीति सार्वजनिक हुने अघिल्लो दिन वा बिहान सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको विषयमा निर्णय गर्नेछ।
अहिले राष्ट्रिय स्तरका लघुवित्त कम्पनीको चुक्ता पुँजी १० करोड, क्षेत्रीय स्तरका दुई करोड तथा एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका लघुवित्त कम्पनीको पुँजी एक करोड छ।
राष्ट्रबैंकले लघुवित्तको चुक्ता पुँजी बढाउने संकेत गरेको हुँदा लघुवित्त कम्पनीको सेयर मूल्य अत्यधिक बढेको छ। अहिलेसम्म अनुमानको आधारमा सेयर मूल्य बढेको हुँदा पुँजी बढाउने घोषणा भएपछि सेयर बजारमा लघुवित्तको सेयर मूल्य अझै बढ्न सक्छ।
सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति राष्ट्रबैंकले ल्याउने गर्छ। राष्ट्रबैंकको आन्तरिक छलफलमा पुनर्निर्माणको काम भएमा आर्थिक वृद्धि ६ प्रतिशत हुन सक्ने देखिए पनि सरकारले बजेटमा मूल्य वृद्धिलाई ७.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य भने हासिल नहुने निष्कर्ष निस्केको छ।
स्वायत्त निकाय भएको हुँदा आफ्नो अध्ययनमा मूल्यवृद्धि सरकारले प्रक्षेपण गरेको भन्दा बढी आउने देखिएमा मौद्रिकनीतिमा त्यो कुरा राख्न सक्ने भए पनि राष्ट्रबैंकले यसलाई चुनौतीपूर्ण भन्दै बीचको बाटो अपनाउने तयारीमा छ।
'विकास खर्च नभएमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि पूरा हुँदैन। बजेट वितरणमुखी भएको हुँदा मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने देखिएको छ',राष्ट्रबैंकका एक अधिकृतले भने, 'यस्तो अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने सुझाव बोर्डमा गएको छ।'
मूल्यवृद्धिको कुल भारमा राष्ट्रबैंकले लिने नीतिको भार ३० प्रतिशतसम्म हुने गरेको छ। 'आर्थिक वृद्धि बढाउनका लागि कर्जामा खुकुलो हुनुपर्ने हुन्छ। तर,यसले मूल्यवृद्धि बढाउँछ। यसमा बीचको बाटो अवलम्बन गर्ने तयारी छ',राष्ट्रबैंकका एक अधिकृतले भने।
यस्तै आगामी आर्थिक वर्षदेखि बैंकिङ क्षेत्रमा बासेल ३ लागू गर्दै जाने तथा अन्तर्राष्ट्रिय लेखामानका सिद्धान्त लागू गर्दै जाने विषय मौद्रिक नीतिमा आउनेछ। अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने नीति लिएको राष्ट्रबैंकले पुँजी बढाउनका लागि केही सहजीकरण गर्न सक्ने सम्भावना छ।