झल्कियो गलैको कम्पनी माला

झल्कियो गलैको कम्पनी माला

२०३४ सालतिर कृष्णप्रसाद अधिकारी डोल्पाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभयो। म जिल्ला कार्यालय (अहिले जिल्ला प्रशासन कार्यालय)मा मुखियाको जागिरे थिएँ।

एक दिन कार्यालय पुग्नेबित्तिकै उहाँले 'लु कान्तु, विशेष अतिथिहरू आउँदैछन्, बेलुका कार्यक्रम छ। तिम्ले स्थानीय स्वादको बनाएर एउटा नयाँ गीत गाउनुपर्छ' भन्नुभयो।

म त्यति बेला धेरै पिउँथेँ। तर, अहिले डोल्पाकै चर्चित बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष छु। त्यति बेला पूर्णिमाको समयमा सात दिनसम्म मन्दिरमा देउता जगाउन 'माझै माझ बगिन् गंगा जमुना किनार किनारै लेऊ, लेखैको नर्काली (फूल) यही गादी ल्याऊँला देऊ ईश्वर देऊ ईश्वर दर्शन देऊ' जस्ता चुट्किला र भजनकीर्तन गाउँथेँ।

मस्टोमा बसेका धामीलाई देउता जगाउन म नि खूब गाउँथेँ।तिनै लय र भाका टिपेर शब्दहरू संकलन गरेँ, 'बाटैमुनि गयाँल पाक्यो तिउलाई देऊ र खान्छु, माया देऊ र खल्ती हाल्छु बिदा देऊ र जान्छु। झल्काइदेऊ झल्काइदेऊ गलैको कम्पनी माला झल्काइदेऊ...।' त्यसपछि अतिथिलाई प्रेमको सामीप्यता देखाउन पहिलो अन्तरामा यस्तो लेखेँ, 'जौकाबारी गहुँका पुला (मुठा) पुलाबान्धी जया, हाँस्तै खेल्दै दिन काटौंला घरबार्या नभया।'

 

अब कुहिरोमा जस्तै चिनजान भयो हिउँजस्तै बिलाएर जान हुँदैन भन्ने भावार्थमा फेरि दोस्रो अन्तरा लेखेँ, 'पुर्सो (भाले) डाफ्यो इजर (पाखा खोस्रने) खन्दो माउ डाँफे जिलाउँदो (सफा गर्ने), कुइरी जन लाग्ने माया हिउँ जन बिलाउँदो।' स्थायीमा मैले पाहुनाहरू जाने नै हो भने माया दिनोस् र खल्तीमा हाल्छु अनि बिदा दिनोस् र जान्छु भनेर व्यक्त गरेँ।

गाइसकेको मात्र के थिएँ, सीडीओ सापले 'गज्जबको गीत गायौ, ल अझै एकपटक गाउ' भन्नुभयो। श्रोतादर्शकले पनि आग्रह गरे। त्यो कार्यक्रममा चारपाँच पटक नै गाएँ। प्रजातन्त्र दिवस, राजाको जन्मोत्सव आदिमा गाउने माग हुन्थ्यो।

२०५९ सालमा नगेन्द्र बुढाथोकी जिविसको उपसभापति भएका बेला नेपथ्यका अमृत गुरुङ साथी भएकाले भेटाइदिन्छु भन्नुभयो। २०६४ सालतिर काठमाडौं पुग्दा न्युरोडमा भेट भयो र सुनाएँ।

चित्त बुझेछ नेपालयको कार्यालयमा पुर्याए, संगीत भरेको रहेछ त्यसपछि अमृतजीले गाए। उनले से फोक्सुन्डो तालमा गएर गीतको भिडियो बनाउने तयारी गरे। डोल्पाको जुफालमा एअरपोर्ट छ तर तालमा हेलिकोप्टरबाहेक अरू उपाय थिएन।

त्यो बेला माओवादीको जनयुद्ध भएकाले हेलिकोप्टर पनि निशानामा पर्थे। क्याप्टेन रामेश्वर थापा दाइ सुर्खेतबाट खाद्यको चामल बोकेर दुनैका लागि आउनुहुन्थ्यो। मैले प्रस्ताव गरेँ, उहाँले भन्नुभयो, 'तिम्रै गीत हो भने म व्यवस्था गर्दिन्छु।'

दुई दिन दुनै आसपासमा सुटिङ गरेपछि फोक्सुन्डो तालमा पुगेर सुटिङ गर्यौं। गीतमा केही समयअघि निधन भएका क्याराभानका नायक थिन्ले (जो उपल्लो डोल्पाकै साल्दाङ गाविसका बासिन्दा हुन्) ले मुख्य भूमिका निर्वाह गर्नुभएको छ।

म धेरै गीत लेख्ने मान्छे होइन, न काठमाडौं बसेर लागिपरेको छु। यी डोल्पाको यही दुनैमा बसेर गरेको प्रयासलाई पनि श्रोताले अत्यन्तै माया गर्दिनुभएको छ। म यही मायामा लुटपुटिइरहेको छु।

प्रस्तोता : गोपीकृष्ण ढुंगाना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.