सिम्रिकले अमेरिकी वायुसेवासँग अन्तर्राष्ट्रिय उडान गर्ने सम्झौता
राजु बास्कोटा
काठमाडौँ: आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले अमेरिकी वायुसेवासँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोवल एयरवेजसँगको सहकार्यमा सिम्रिकले अन्तर्राष्ट्रिय उडान गर्ने गरी शुक्रबार सम्झौता भएको छ।
सम्झौतामा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफिर ग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरेका छन् ।
सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफायर ग्लोवल एयरवेजको संयुक्त लगानीमा नेपालबाट यो वायुसेवा संचालन हुने गरि सम्झौता भएको छ ।
सिम्रिकसँग भएको सम्झौतामा यो वायुसेवाले नेपालमा यात्रु उडान नभएर कार्गो उडान गर्ने भएको छ । आगामी एक वर्षभित्रमा नै दुईवटा बोइङका ७७७ नामक वाइवडवडि जहाजमार्फत कार्गो उडान गर्ने जानकारी सफिरका अध्यक्ष राहुलले दिए ।
उनका अनुसार नेपालमा कार्गो उडानको राम्रो संभावना भएकोले सिम्रिकसँग सहकार्य गरेर उडान गर्न चाहेको बताए । उनका अनुसार यो वायुसेवाले १५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।
करीब १६ अर्ब रुपैयाँको लगानीमा ७० प्रतिशत सफायरको र ३० प्रतिशत सिम्रिकको हुने जानकारी दिइएको छ ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हव (आधार) बनाएर उडान गर्ने यो वायुसेवाले निर्माणाधिन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि भविष्यमा उडानको योजना अगाडि सारेको छ ।
सिम्रिक गु्रपले कार्गो उडानबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान पहुँच पुर्याउँन सफायरसँग साझेदारी गरिएको सिम्रिकका अध्यक्ष क्याप्टेन थापाले बताए ।
थापाका अनुसार यात्रु उडानको तुलनामा कार्गो उडानलाई नेपाल सरकारबाट लिने अनुमति पनि सहज हुने छ । दुईपक्षीय सम्झौतापश्चात अब सिम्रिकले अन्तर्राष्ट्रिय उडानको अनुमतिको प्रक्रियासमेत अगाडि बढाउने जानकारी थापाले दिए ।
अमेरिकी वायुसेवासँगको सहकार्यले नेपालबाट लामो दूरीको गन्तव्यमा उडान गर्न पनि सहज हुने उल्लेख छ । यो वायुसेवाले उत्तर पूर्वी एसियाका गन्तव्यबाट उडान सुरु गर्ने र बिस्तारै युरोपेली मुलुकमा उडान बिस्तार गर्दै जाने भएको योजना रहेको पनि जानकारी दिएको छ।
यो वायुसेवाले कार्गो उडानमा केन्द्रित गर्ने भएपछि सिम्रिकको आन्तरिक उडानको व्यापार पनि सहयोग पुग्ने भएको छ । यात्रु उडानका वायुसेवाले यात्रुमा मात्रै केन्द्रित गर्ने र कार्गो उडानकोले कार्गो उडानलाई मात्रै केन्द्रित गरेर सेवा दिने गर्छ । यो वायुसेवाले गर्ने कार्गो उडान भने नियमति उडान नभएर चार्टर हुने भएको छ ।
सिम्रिकसँग सहकार्य गरेको यो सफिर वायुसेवा अमेरिकाको स्वानी ग्रुप अफ कम्पनीको भगिनी संस्था हो । यो कम्पनी सन् १९९८ देखि संचालन भएको कम्पनी हो । स्वानी ग्रुपले १८ वर्षदेखि सफलताका साथ रियल स्टेट, हस्पिटालीटी, कन्ट्रक्सन वेभरेजलगायतमा व्यवसायलाई केन्द्रित गरेको छ ।
नेपालमा कार्गोको माग बढ्दै गइरहेकोले यसतर्फ व्यवसाय केन्द्रित गरिएको सिम्रिक र सफायरको संयुक्त वक्तव्यमा उल्लेख छ । सिम्रिक ग्रुप हवाई तथा पर्यटन उद्योगमा लगानी गरिरहेको सफल व्यवसायीक ग्रुप हो ।
सिम्रिक ग्रुप अन्तर्गत नियममित उडानको स्रिमक एयरलाइन्स, हेलिकोप्टर सेवा सिम्रिक एयर, पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट रहेको छ । यो ग्रुपले अन्नपूर्ण राष्ट्रिय दैनिक प्रकाशन तथा अन्नपूर्ण रेडियो संचालन गरिरहेको छ । टेलिभिजन च्यानल पनि संचालनको तयारीमा रहेको छ ।