'कसैले चाहँदैमा सरकार परिवर्तन हुन सक्दैन'
काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय सरकार हुन नसक्ने बताएका छन्।
ललितपुर युवा संघले आफ्नो २६ औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रियताको जगमा निर्माण भएको वर्तमान सरकार कसैले चाहँदैमा परिवर्तन नहुने बताए।
उनले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल सहभागी भएको राष्ट्रिय सरकारको खाँचो औँल्याउँदै त्यसका लागि तीन दल खुला हुनुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री नेपालले मौलिक संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण गरी नेपाली परम्परा तथा राष्ट्रको पहिचान फैलाउनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा विभिन्न कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए। रासस