सिम्रानगढका व्यापारी भारत पलायन
वीरगन्ज: सिम्रौनगढमा बर्सौंदेखि किराना पसल चलाएका उमेश गुप्ताले अहिले सीमावर्ती भारतीय बजार घोडासहनमा कपडा पसल खोलेका छन् । ‘सबै ग्राहक किनमेल गर्न घोडासहनमै जान थालेका छन्’, उनले भने, ‘मेरो मात्रै होइन, यहाँका लगभग सबै पसलेको अवस्था बेहाल छ । त्यसैले यहाँका अरू व्यापारी पनि उतै पसल सार्ने तयारीमा छन् ।’
सिम्रौनगढमै रहेको विवेक एन्ड साहिल वस्त्रालयका सञ्चालक छोटेलाल साहले पनि पसल सार्न घोडासहनमा सटर भाडमा लिइसकेका छन् । ‘यहाँ दिनभर पसलमा झिँगा मारेर बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘साउन महिनाभित्र कपडा पसल घोडासहनमा सार्छु ।’
भन्सार राजस्व तिरेर सामान ल्याउने सहज वातावरण नभएका कारण ऐतिहासिक एवं पर्यटकीय स्थल बाराको सिम्रौनगढ बजारका व्यापारी भारत पलायन हुन थालेका छन् । दुई महिनामा सिम्रौनगढ बजारका झन्डै २० वटा पसल सीमावर्ती भारतीय सहर घोडासहनमा सरिसकेका छन् ।
दुई महिनाको अवधिमा सिम्रौनगढबाट कपडा, किराना, भाँडाकुँडा र सुनचाँदीका गरी लगभग २० वटा पसल घोडासहनमा सरिसकेको र अझै केही सर्ने तयारीमा रहेको उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष जयन्त कुशवाहाले बताए । पसलेहरू धमाधम भारत पलायन हुन थालेपछि सिम्रौनगढ बजारको चहलपहल कम हुँदै गएको छ ।
सिम्रौनगढमा छोटी भन्सार कार्यालय छ । तर भन्सार कार्यालयमा एक त कर्मचारी नियमित बस्दैनन् । कहिलेकहीं कर्मचारी बसे पनि छोटी भन्सार कार्यालयले पाँच हजार मूल्यभन्दा बढीको सामानको भन्सार राजस्व नै बुझ्दैन ।
पाँच हजारभन्दा बढीको सामानका लागि गौर वा वीरगन्ज भन्सार कार्यालयबाट भन्सार राजस्व तिरेर ल्याएको सामानको मूल्यमा भाडा जोड्दा महँगो पर्ने गरेको व्यपारीहरूको भनाइ छ । यस्तै अहिले सिम्रौनगढमा भारु सटही काउन्टर पनि छैन । केही समययता सिम्रौनगढ बजारमा रहेका पसलमा चोरीका घटना पनि अत्यधिक बढेको व्यापारीहरू बताउँछन् ।
भन्सार असुविधा, सटही काउन्टर अभाव र असुरक्षाका कारण स्थानीय पसलेले सीमावर्ती भारतीय बजार घोडासहनमा सटर भाडामा लिएर पसल सारेको अध्यक्ष कुशवाहाले बताए ।
सिम्रौनगढ बजार प्राचीन कालदेखि नै तिरहुतको राजधानी भनेर चिनिन्छ । यसलाई इसरा बजार पनि भनिन्छ । तिरहुतको राजधानीका रूपमा चिनिने भएकाले यहाँ पुरातात्त्विक सम्पदा, कंकालीमाई मन्दिर, रानीवनस मन्दिर, भूमिगत रूपमा रहेको पुरातात्त्विक सम्पदाले भरिपूर्ण भएको, सीमासँग जोडिएको, केही विदेशी पर्यटकसँगै नेपालभरबाट आन्तरिक पर्यटक र भारतीय पर्यटक आउने भएकाले किनमेलका लागि बजारमा मानिसको उत्तिकै चहलपहल देखिन्थ्यो ।
तर हाल पसल भारतको सीमावर्ती घोडासहनतर्फ पलायन हुन थालेपछि सिम्रौनगढ बजारको परिचय गुम्दै गएको किराना व्यापारी रामेश्वर मेहता बताउँछन् । ‘उहिलेको सिम्रौनगढ बजार र अहिलेको बजारमा निकै परिवर्तन आएको छ’, उनले भने, ‘पहिले यहाँ बैंक, सटही काउन्टरका साथै अरू सरकारी कार्यालय पनि थिए । द्वन्द्वकालमा सबै विस्थापित भएपछि पुनस्र्थापित भएका छैनन् ।’
छोटी भन्सार कार्यालयबाट पाँच हजारभन्दा बढी मूल्यको सामानको भन्सार तिर्ने व्यवस्था र सटही काउन्टरको व्यवस्था पनि नभएकाले सिम्रौनगढनजिकै पर्ने सीमावर्ती भारतको घोडासहन बजारमा सटर भाडामा लिएर आफूले पसल सारेको कपडा व्यापारी लालबाबुप्रसाद कुशवाहाले बताए । ‘न यहाँ भन्सारको सहज सुविधा छ, न त सटही काउन्टर नै’, उनले भने, ‘रहरले होइन, बाध्यताले पसल घोडासहनमा सारेको हुँ ।’
सिम्रौनगढमा छोटी भन्सार कार्यालय भएकाले पाँच हजारभन्दा बढीको सामानका लागि गौर वा वीरगन्जबाट भन्सार कटाएर सामान ल्याउनुपर्दा सामानको मूल्यमा भाडा जोड्दा महँगो पर्ने गरेको स्थानीय किराना पसले दिनेश जयसवालले बताए ।
‘वीरगन्ज र गौरबाट भन्सार गराएर सामान ल्याउँदा भाडा बढी लाग्छ’, उनले भने, ‘यता सामान महँगो परेपछि ग्राहकहरू सबै घोडासहनतिरै जान्छन् ।’ ग्राहकहरू सस्तोका लागि घोडासहन जान थालेपछि स्थानीय व्यापारी पनि पलायन हुन थालेको जयसवालले बताए ।
‘छोटी भन्सारले पाँच हजार मूल्यभन्दा बढी सामानको राजस्व नै लिन मान्दैन’, घोडासहनमा कपडा पसल सारेका व्यापारी गुप्ताले भने, ‘भन्सार नतिरीकन सामान ल्याउँदा पुलिसले खोसेर राखिदिन्छ । त्यसैले भारतमा कपडा पसल खोलेको हुँ ।’
उनले थपे, ‘माओवादी द्वन्द्वभन्दा पहिले बाहिरबाट पनि थुप्रै पर्यटक र आगन्तुक आँउथे । अब त उनीहरू पनि आउन छाडे । यहाँका व्यपारी सबै घाटामा छन् ।’ सिम्रौनगढ बजारमा रहेका लगभग सबै थोक पसले घोडासहनमा विस्थापित भएको उनले बताए ।
भन्सारको समस्या समाधानका लागि वीरगन्ज भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक डेलिगेसन जाँदा पनि कुनै सुनुवाइ नभएको उद्योग वाणिज्य संघका अध्यक्ष कुशवाहाले बताए । ‘हामी व्यापारीको समस्या र गुनासो सम्बन्धित निकायले सुन्दैसुन्दैन’, उनले भने, ‘यस्तै हो भने सिम्रौनगढको पहिचान र मौलिकता समाप्त हुने निश्चित छ ।’
वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोख्रेलले भने सीमा वारपार गर्ने यात्रुको सहजताका लागिमात्र सिम्रौनगढमा छोटी भन्सार कार्यालय स्थापना गरिएको बताए । ‘छोटी भन्सार कार्यालयले पाँच हजार मूल्यभन्दा बढीको सामानको जाँचपास नै गर्न मिल्दैन’, पोखरेलले भने, ‘त्यो पनि यात्रुका लागिमात्र हो । व्यापारिक प्रयोजनका लागि छोटी भन्सार नाकाबाट सामान नै ल्याउन पाइँदैन ।’ उनले छोटी भन्सार कार्यालयमा नियमित रूपमा नबस्ने कर्मचारीलाई भने कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।