भानुभक्तको चिठी र धनञ्जयको देहावसान

भानुभक्तको चिठी र धनञ्जयको देहावसान

नेपाली शिक्षा २००५ कात्तिक १५ मा प्रकाशित पुष्करशमशेरको लेखका आधारमा भानुभक्तले वनारसको मणिकर्णिका घाटमा पिता धनञ्जयको देहावसान भयो भन्ने चिठी रमानाथ आचार्यलाई लेखेको देखिन्छ । मोतीराम तथा शम्भुप्रसादको भानु जीवनी र भनुभक्त मणिमालाको रंगनाथ लिखित जीवनीपरक लेखमा यो देहावसानको प्रसंग देखिँदैन । नरनाथ आचार्य र व्रतराज आचार्य लिखित भानु जीवनीले पुष्करशमशेरको लेखलाई नै आधार मानी काशीको मणिकर्णिका घाटमा धनञ्जयको देहावसान भएको प्रसंग दिएका छन् ।

कविका पनाति मुक्तिनाथ आचार्यले भानु जीवनीमा पाल्पामा नोकरी गर्दा वि.सं.१९०९ अगाडि पाल्पामा नै धनञ्जयको देहावसान भएको बताएका छन् । यिनले पुष्कर शमशेर लिखित भानुभक्तको चिठीको सन्दर्भ दिएका छैनन् । अहिलेसम्म पछिल्ला भानु जीवनीकार नरेन्द्रराज प्रसाईले चिठीको सन्दर्भ त दिएका छैनन् तर वि.सं. १९०७ मा जागिरे अवस्थामा बिरामी धनञ्जयलाई काशी लगेको र देहावसान भएको उल्लेख गरेका छन् ।

यस उल्लेखले पुष्कर शमशेरबाट प्रकाशित भानुभक्तको चिठीको व्यहोरा तथ्य ठानेको देखिन्छ । व्यहोरामा पौष वदी ५ रोज १ को मितिमा धनञ्जय देहावसान भएको उल्लेख छ । यस आधारमा भानुभक्तको चिठी र धनञ्जयको देहावसान उल्लेख नगर्ने र गर्ने दुई प्रकारका जीवनीकार देखिए । जीवनीकारमध्ये नरनाथ, व्रतराज र नरेन्द्र गरी तीनजनाले काशी र मुक्तिनाथ एकजनाले पाल्पामा धनञ्जयको देहावसान भएको उल्लेख गरे । तीनजनामध्ये एकजना नरेन्द्रले वि.सं. १९०७ तिर र अन्य दुईजना आचार्यले वि.सं १९१० तिर धनञ्जयको देहावसान भएको उल्लेख गरे ।

उल्लेखका आधारमा यस लेखभित्र चिठीको मिति, देहावसानको मितिगत भिन्नता र स्थानगत भिन्नताको चर्चा गरिएको छ । चर्चाका क्रममा भानुभक्तले ‘चालिस् वर्ष भएँ म पुत्र पनि एक् मात्रै छ, आठ् वर्षको’ भन्ने कवितालाई समेत समेटिएको छ ।

सर्वप्रथम काशीको माणिकार्णिका घाटबाट लेखिएको भनिने चिठीको मितितर्फ लागौं । पुष्कर शमशेरबाट भानुभक्तले रमानाथलाई लेखेको यो चिठी भानुभक्तीय रामायणभित्र फेला पारे । सोको व्यहोरा उनले नेपाली शिक्षा १—२ वि.सं.२००५ कात्तिक १५ मा प्रकाशित गरे । नरनाथ र व्रतराज आचार्यबाट भानु जीवनीमा यसको उल्लेख गरियो । चिठीमा उल्लिखित मितिलाई आधार मान्दा धनञ्जयको देहावसान काशीमा भएको देखियो ।

Bhanu-Bhakta
किनभने चिठीमा भानुभक्तले काशीबाट धनञ्जय देहावसान भएको कुरा लेखे । हस्ताक्षर देख्न नपाएको र पुष्कर शमशेरले उल्लेख गरेको मितिलाई सत्य ठान्दा नरनाथ र व्रतराज आचार्यले गरेको धनञ्जयको देहावसानको साल पनि वि.सं.१९१० तिर पर्छ । अहिले भानुभक्तको चिठी फेला पार्न सक्ने स्थिति छैन तर पुष्कर शमशेरको नेपाली शिक्षा भन्ने पत्रिका फेला पार्न सक्ने स्थिति भने छ । त्यो नेपाली शिक्षा डा. महेशराज पन्तको संकलनमा खोज्दा सम्बन्धित अंकमात्र पाउन सकिएन । गत साल २०७२ वैशाख १२ गतेको भूकम्पले गर्दा अन्यत्रका संकलनसमेत अव्यवस्थित रहेको पाइयो ।

चिठीको मितिका आधारमा उल्लिखित आचार्यद्वय (नरनाथ र व्रतराज) का भानु जीवनीमा देहावसान र भानुभक्तलाई भएको कुमारी चोकको कारबाहीमा मतैक्य रहेको छ । मतैक्यले चालिस् वर्ष भएँ म पुत्र पनि एक्....भन्ने कविताअनुसार रमानाथ आचार्य वि.सं.१९११ फागुनमा आठ वर्ष पुगेको देखाउँछ । भानु जन्म कुण्डलीको जन्म साल १८७१ लाई आधार मानेर नरनाथ र व्रतराज आचार्यले रमानाथको जन्म वि.सं.१९०३ ठानेका छन् ।

जन्म कुण्डली र चालिस वर्ष भएँ .....भन्ने कविताले भानुभक्त पनि वि.सं.१९११ मा ४० वर्ष पुगेका देखिन्छन् । यसले गर्दा मोतीरामकृत र शम्भु प्रसादकृत भानु जीवनीले वि.सं.१९०९ मा भानुभक्त ४० र रमानाथ आठ वर्षका थिए भनी गरेको उल्लेख असत्य ठहर्छ । नेपाल सरकारले भानु द्विशतवार्षिकी मनाएर मोतीराम र शम्भु प्रसादका जीवनीमा उल्लिखित भानु जन्म साललाई असत्य बनाइसकेको छ ।

चिठीको मितिलाई लिएर पंक्तिकारबाट भातृद्वय डा. महेशराज र प्राज्ञ दिनेशराज पन्तको सहयोगमा वि.सं.१९०० देखि वि.सं.१९११ सम्मका पौष महिनामा वदी ५ रोज १ कुन कुन सालमा पर्छ भनी १२ वटा पात्राहरू हेरिए । उल्लिखित पौष वदी ५ रोज १ चाहिँ केवल वि.सं.१९०१ को १७ गते र वि.सं.१९०४ को १३ गते परेको देखियो । काशी मणिकार्णिका घाटमा धनञ्जयको देहावसान भएर भानुभक्तले रमानाथलाई लेखेको भनिएको चिठी कि वि.सं.१९०१ कि वि.सं.१९०४ मा लेखिएको हो भन्न सकिने भयो ।

यसबाहेक अन्य १० वटा सालमा धनञ्जयको देहावसान भएको होइन रहेछ भन्ने निधो गरियो । यस निधाले अर्को नयाँ आशंकालाई जन्मायो । उक्त चिठी रमानाथलाई लेखिएको हो भने भानुभक्त जन्म कुण्डलीअनुसार चालिस् वर्ष भएँ .......भन्ने कविता .वि.सं.१९११ तिर लेखेको देखिन्छ । वि.सं.१९०१ मा धनञ्जयको देहावसान भएको हो भने रमानाथको जन्म नै भएको देखिँदैन ।

वि.सं.१९०४ मा धनञ्जयको देहावसान मान्दा दुई वर्षका रामानाथलाई काशीबाट चिठी लेखेको देखिन्छ । मोतीरामले दिएको भानु जन्म साल १९६९ लाई सत्य ठान्ने हो भने नवजात वा बालक रमानाथको नाममा धनञ्जय देहावसान भएको चिठी लेखियो भन्ने देखिन्छ । जेहोस्, चिठीको मिति परीक्षणबाट वि.सं.१९१० मा यो चिठी लेखिएको होइन भन्ने देखियो ।

 

भानु जीवनीकारले धनञ्जयको देहावसान भएको मितिगत भिन्नता पनि देखाएका छन् । भिन्नता देखाउनेहरूमा मुक्तिनाथ आचार्य र नरेन्द्रराज प्रसाई पर्दछन् । मुक्तिनाथले वि.सं.१९०९ को माघ महिनामा धनञ्जयको देहावसान भएको बताएका छन् भने नरेन्द्र राजले धनञ्जय वि.सं.१९०७ मा बिरामी परे, उनलाई काशी लगियो र देहावसान भयो भनेका छन् । मुक्तिनाथ आचार्यको भानु जीवनीले मनिकार्णिका घाटमा देहावसान भएको कुरा बेवास्ता गरे भने नरेन्द्र राजले बेवास्ता गर्न सकेनन् । वास्ता गरे पनि पौष वदी ५ रोज १ भन्ने मिति वि.सं.१९०७ को पौष महिनामा नपरेकाले नरेन्द्रको भनाइलाई सत्य मान्न सकिएन । उल्लिखित आचार्यद्वय, मुक्तिनाथ र नरेन्द्रबीच देहावसानका अलगअलग मितिगत भिन्नता देखिए ।

चिठीमा उल्लिखित मितिलाई आधार मान्दा धनञ्जयको देहावसान काशीमा भएको देखियो । किनभने चिठीमा भानुभक्तले काशीबाट धनञ्जय देहावसान भएको कुरा लेखे ।

जीवनीकारहरूबीच धनञ्जयको देहावसानको स्थानगत भिन्नता पनि रहेको छ । नरेन्द्र प्रसाईसहित आचार्यद्वयले यो देहावसान काशीमा भएको बताए । यहाँनेर भानुका वंशज भनिने आचार्यहरूसँग नरेन्द्रले सहमति जनाएका छन् । यसमा असहमति जनाउने मुक्तिनाथ आचार्यमात्र देखिन्छन् । उनले नोकरीमा बहाल हुँदा पाल्पामा नै धनञ्जयको देहावसान भयो भनेका छन् । यिनले देहावसानको कारण शूलरोग मानेका छन् । मुक्तिनाथले पुष्कर शमशेरको लेखलाई महत्त्व दिएनन् । यस पंक्तिकारले पनि धनञ्जयको देहावसान शूल रोगबाट पाल्पा नै भएको हो भनी ग्रामीण वृद्धवृद्धाबाट सुन्दै आएको थियो । यस कारण जीवनीकारबीच धनञ्जयको देहावसानका सम्बन्धमा पनि स्थानगत भिन्नता रहेको छ ।

निष्कर्षमा जन्म कुण्डली वा मोतीराम उल्लिखित भानुभक्तको जन्म साल मान्ने हो भने धनञ्जयको देहावसान हुँदा भानुभक्तले नवजात रमानाथलाई चिठी लेखे भन्नु पर्छ । नवजात रमानाथको कुरा गर्दा नेपाली साहित्यका महासमालोचक वासुदेव त्रिपाठीले आफू ५।६ वर्षको छँदा बाबुले आमालाई चिठी नलेखी छोरालाई लेखेको अनुभव सुनाउनुभयो । पुरुष प्रधान समाजमा यस्तो चिठी लेख्न सकिन्छ भन्न सकिएला । तर भानुभक्तको चिठीको मिति परीक्षणले धनञ्जयको देहावसान वि.सं.१९१० तिर भएको र भानुभक्त आचार्य वि.सं.१९११ मा कुमारी चोकमा थुनिएको देखाउँदैन । पाल्पामा नै धनञ्जयको देहावसान भएको थियो भन्ने अनुश्रुति र मुक्तिनाथ आचार्यको लेखनलाई सत्य मान्ने हो भने नेपाली शिक्षा (२००५ कात्तिक १५) को पुष्कर शमशेरको लेखले खोज अनुसन्धानको कसीमा घोटिनु पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.