मुस्लिमको संयोजनमा भानुको सालिक
पोखरा: घरमा हनिफ मियाँ फारसी बोल्छन् । उनले सानैदेखि जानेको भाषा यही हो । अलि ठूलो भएर छरछिमेकका साथीभाइसँग बोल्ने क्रममा नेपाली पनि जान्न थाले । बाबु कवि थिए, लोकलयका कविता लेख्थे, त्यसैले पनि नेपाली लोकसाहित्यमा रस बस्यो । बाबु बितेपछि झन् उनी नेपाली साहित्यको सेवक भएर निस्किए । मियाँ पछिल्लो समय नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी जन्मजयन्तीमा सक्रिय भएर लागेका थिए । अहिले आफ्नो संयोजकत्वमा हनिफले पोखरामा भानुको सालिक स्थापना गरेका छन् ।
हनिफ संयोजकत्वको समितिले पोखरा—११ फूलबारीमा भानुभक्तको सालिक स्थापना गरेको छ । ललितपुरका सूदन शाक्य नेतृत्व टिमले तयार गरेको भानुको सालिक शुक्रबार राखिएको हो । असार २९ गते भानु जन्मजयन्तीको दिन उक्त सालिक अनावरण गरिँदैछ । बाबु लोककवि अलि मियाँको स्मृतिमा प्रतिष्ठान खोलेर साहित्यिक सक्रियता देखाइरहेका हनिफ सहसंयोजक रहेको भानु प्रतिष्ठान तीन वर्षअघि पोखरामा स्थापना भएको थियो ।
संयोजक सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति भएर काठमाडौं गएपछि जिम्मेवारी हनिफको काँधमा आयो । त्यो जिम्मेवारीलाई उनले चुनौतीभन्दा अवसर ठाने । त्यही अवसरलाई साकार पार्दै भानुको सालिक ठड्याउन उनी सफल भएका छन् । मुलुकमा जातीय, धार्मिक र साम्प्रदायिक भड्काव बढिरहेका बेला उनको प्रयासले सहिष्णुताको सन्देश दिएको ठान्छन् लोकसाहित्यविद् प्राडा कुसुमाकर न्यौपाने । ‘मुसलमान धर्मावलम्बीले हिन्दु धर्मग्रन्थ रामायणका नेपाली लेखक भानुको सालिक स्थापनाको नेतृत्व गर्नु, धार्मिक सद्भावका लागि सुन्दर कर्म हो’, उनी भन्छन् ।
दोस्रो जनआन्दोलनका बेला र त्यसपछि राष्ट्रिय निधिहरूका मूर्तिहरू जातीय र धार्मिक रङको आडमा जथाभावी तोडिएका छन् । ‘तर एउटा मुसलमान भानुभक्तको सालिक ठड्याउन लागे, मुलुकमा सद्भाव छर्न यो जति राम्रो उदाहरण हुन सक्दैन’, उनी भन्छन् । हिन्दु धर्मका देवता विष्णुका १० अवतारबारेको नाटक बालनको प्रचारमा पनि हनिफको योगदान रहँदै आएको न्यौपानेले बताए ।
हनिफका पिता अलि मियाँ पनि धार्मिक सहिष्णुताका नमुना थिए । त्यो गुण उनले पिताबाट सिके । हनिफ भन्छन्, ‘यही गण्डकी अञ्चलका आदिकविको सालिक पोखरामा हुनैपथ्र्यो ।’ १० लाख खर्च गरेर बनाइएको सालिक पूर्णकदको छ । मूर्तिकारको त्यो पारि श्रमिकका लागि स्थानीय निकाय र स्थानीयहरूबाट अर्थ संकलन गरिएको थियो । ‘आजको दिनमा नेपालीहरूलाई एकापसमा जोड्ने सबैभन्दा बलियो डोरी नै नेपाली भाषा हो’, हनिफ भन्छन्, ‘यो भाषालाई यति लोकप्रिय बनाउने भानु हुन्, उनको योगदानलाई सम्मान गरौं भनेर मूर्ति राखेका हौं ।’