बफ खाने हो ? होसियार !!
काठमाडौं: बफ मासु प्रयोग भएको मम, कचिला, छोयला, सुकुटीजस्ता परिकार खाँदै हुनुहुन्छ भने एकपटक सोच्नैपर्ने बेला आएको छ । आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ भने यस्ता परिकारमा प्रयोग हुने बफ (राँगाभैंसी) को मासु कुन स्थानबाट कस्तो गुणस्तरको ल्याइएको छ भनेर एकपटक सोच्नुपर्ने भएको छ । यस्ता पदार्थमा प्रयोग हुने मासुमा स्याउँस्याउँती किरा भेटिएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका १६ स्थित सतुंगलमा शुक्रबार बिहान यस्तै अवस्थाको कुहिएको बफ मासु फेला परेको छ । खप्नै नसक्ने दुर्गन्ध निस्केको मासु, काट्ने स्थलमा स्याउँस्याउँती सेता किरा । आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा पुगेको अनुगमन टोलीले निरीक्षण गर्ने क्रममा यस्तो दृश्य देख्यो । सतुंगलमा १५ वर्षअघिदेखि सञ्चालित मोज मिट सेन्टरमा बफ मासु यस्तो अवस्थामा भेटिएको हो ।
बजारबीचमा रहेको बधशालाको यस्तो अवस्था पाइएको छ भने गल्ली र खोला किनारमा सञ्चालन भएका बधशाला तथा मासु पसलको अवस्था के होला भनेर सहजै अनुमान गर्न सकिन्छ । अनुगमनमा सहभागी आपूर्तिमन्त्री पुनले उक्त बद्यशालाको अवस्था हेरेर एकछिन बोल्नसम्म सकेनन् ।
मानव स्वास्थ्यलाई जोखिममा राखेर सामान्य मापदण्डसमेत पालना नगरी कुहिएको मासु उत्पादन गरेको जानकारी दिँदै मन्त्री पुनले तत्कालै उक्त वधशालामा सिलबन्दी गर्नुका साथै कडा कारबाही गर्न मातहतको कर्मचारी टोलीलाई निर्देशन दिए । उनले भने, ‘मानवीय संवेदनामाथि गरिएको खेलबाडको पराकाष्टा नाघेको फेला पर्यो । यस्ता बधशाला तथा पसल सञ्चालकलाई तत्कालै कारबाही गर्नुपर्ने अवस्था देखियो ।’
भेटेरेनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. नारायण घिमिरेका अनुसार बधशाला वर्षौंदेखि सफा नगरिएको अवस्थामा भेटिएको थियो । राँगाभैंसीका टाउका, छाला, हाड, बोसो, रगत र मासु यत्रतत्र फिँजिएको र कुहिएको अवस्थामा भेटिएको थियो । बधशाला, मासु टुक्र्याउने स्थल र भुइँमा किरा सलबलाइरहेको भेटिएको उनले जानकारी दिए । ‘सम्पूर्ण कानुनलाई हातमा लिएर गुणस्तरहीन मासु उत्पादन गरेको पाइयो’, डा. घिमिरेले भने, ‘यस्तो मासु उत्पादन गर्नेमाथि कडा कारबाही हुनै पर्छ ।’
उनका अनुसार तत्कालीन समयमा गाविसको सिफारिसमा बधशाला सञ्चालन गरेको पाइए पनि गाविसले हचुवाको भरमा अनुमति दिएको भेटिएको छ । उनले भने, ‘गाविसको कर्मचारीले सामान्य मापदण्ड पनि नहेरी बधशाला खोल्न अनुमति दिएको पाइयो ।’ उक्त बधशालामा दैनिक करिब १२ वटा राँगाभैंसी काट्ने गरेको सञ्चालक भारत बिहारका जुल्फकार आलमले जानकारी दिए । बधशालामा प्रयोग गरिएको १० किलोको ढकमा ४० ग्राम कम तौल भेटिएको पनि फेला परेको थियो ।
टोलीले टेकुस्थित विष्णुमती किनारमा सञ्चालनमा रहेको ह्युमन सामुदायिक पशु बधशाला पनि त्यस्तै अवस्थामा भेट्यो । टोलीले कालीमाटी माछाबजारमा पनि अनुगमन गरेको थियो । त्यहाँ सरसफाइ र व्यवसायलाई व्यवस्थित गर्न निर्देशन दिइएको थियो ।
वर्षभरि सुतेर बस्ने र बेलामौकामा मात्र अनुगमनमा निस्कने सरकारी संयन्त्रको प्रवृत्तिका कारण व्यापारीले नाजायज फाइदा उठाउँदै आएका छन् । पटकपटक अखाद्य मासु उत्पादन गरेको समाचार सार्वजनिक भए पनि सरकारले कारबाही गर्न सकेको छैन । पशु वधशाला ऐन र मासु जाँच ऐन आएको झन्डै १८ वर्ष बित्दा पनि सरकारले कार्यान्वयनमा ल्याउन नसक्दा उपभोक्ता स्वास्थ्य जोखिममा पारेर कुहिएको मासु खान बाध्य छन् ।
पशु चिकित्सक डा. बोधप्रसाद पराजुलीका अनुसार राँगाभैंसीको शरीरमा घाउ भएको स्थानमा औंसा परेर किरा उत्पन्न हुन्छ । लामो समयसम्म राखेको मासुमा पनि किरा देखिन्छ । उनले भने, ‘सकेसम्म यस्तो मासु प्रयोग गर्नुहुन्न । यस्ता मासुले शरीरमा विष उत्पन्न गर्नुका साथै झाडापखाला लाग्नुका साथै टाइफाइड हुने सम्भावना हुन्छ ।’