अद्‌भुत आदित्य दाहाल

अद्‌भुत आदित्य दाहाल

मनोज दाहाल
उमेरका हिसाबले साउन ७ गते बल्ल छ वर्ष पूरा हुँदैछन् आदित्य दाहाल। ज्ञान उनको यति अद्भुत लाग्छ, कुनै सिद्धयोगी प्रतीत हुन्छन्। योग दिवसको छेक पारेर उनले २७ जना भक्तजनलाई योग-ध्यान-साधनाको प्रशिक्षण गराएका थिए। करिब चार वर्षको उमेरदेखि कापीमार्फत आफूलाई अभिव्यक्त गर्न थालेका आदित्य पछिल्लो समय योग-ध्यान र साधनामै आफूलाई बढी व्यस्त राख्न थालेका छन्।

गत वर्ष करिब चार महिना उपचारका क्रममा अमेरिका बसेर फर्केपछि उनी मिडियामा आउन चाहेका छैनन्। वास्तवमा, आत्मप्रचारको चाहना कहिल्यै राखेनन् उनले।

अब यसअघिजसरी जिज्ञासुहरूलाई भेटेर ससाना परीक्षणहरूमा खरो उत्रने रहर छैन उनलाई, बरु आफ्नो समय अध्यात्म, योग-ध्यान र सत्संगमार्फत मुलुक र समाजको भलाइमा व्यतीत गर्न चाहन्छन्।

आफ्ना बुबाआमा शेषराज दाहाल र ईश्वरा गुरागाईं तथा आफूसँग अत्यन्तै निकट ‘ठूलोबुबा' लक्ष्मी प्रसाईको परिवारलाई बारम्बार भन्छन् उनी, ‘मेरो धेरै प्रचार नगर्नू।' उनीसँग भेट्न गएका हामीलाई पनि उनले भने, ‘मेरा केही सन्देशमात्र मिडियामा छापिदिनू।'

ठीक दुई वर्षअघि अर्थात् २०७१ असार २५ गतेदेखि उनले अद्भुत गतिविधि देखाउन थालेका हुन्। चार वर्ष पुग्नुभन्दा दुई साताअघि आफूलाई कापीकलममार्फत अभिव्यक्त गर्न थाले पनि उनको औपचारिक अक्षराम्भ सुरु भएको थिएन त्यस बेला। (अहिलेसम्म पनि उनी पढ्न कुनै स्कुल गएका छैनन्।) तर, उनको अलौकिक व्यक्तित्व बिस्तारै लोकमा उजागर हुन थाल्यो। गत वर्ष असार २५ मा उनले लेखे, ‘आज म निद्राबाट ब्यूँझेको एक वर्ष बित्यो।' उनी बल्ल पाँच वर्ष पुग्दै थिए।

जन्मेको ३३ महिनासम्म आदित्य आमबालकभन्दा खासै फरक थिएनन्- बोल्थे, हिँड्थे, कुद्थे, रुन्थे र हाँस्थे। कम सुत्थे तर बुबाआमाले उनको कम निद्रालाई सामान्य रूपमै लिएका थिए। अचानक ३३ महिनामा उनका हातगोडा चल्न छाडे। बोल्न पनि छाडे उनी।

एकमात्र सन्तानको यस्तो अवस्थाले बुबाआमा चिन्तित हुनु स्वाभाविक थियो। उनीहरूले आदित्यलाई उपचारका लागि दिल्लीसम्म पुर्‍याए। तर, कुनै सुधार हुन सकेन।

बरु बिस्तारै आश्चर्यजनक लीला देखाउन थाले उनले। जिज्ञासुहरूका उत्तर दिन थाले। तर, ती प्राय: व्यक्तिगत विषयमात्र हुन्थे। उनी आफैं भने त्यसबाट खिन्न थिए। ‘संगत'बारे बढी चिन्तित देखिन्थे उनी।

२०७१ मंसिरमा बुबाआमा र निकटजनहरूले आदित्यको अद्भुत प्रतिभालाई प्रतिष्ठानमार्फत व्यवस्थित गरेरै लैजान अनुमति प्राप्त गरे। र, खुल्यो आदित्य संरक्षण प्रतिष्ठान।

प्रतिष्ठानको कमिटी उनकै संरक्षण र निर्देशनमा बन्यो। प्रतिष्ठानको सबै रकम जनहितमा खर्च गर्न उनले परिवार र पदाधिकारीलाई आग्रह गरेका छन्।

उनलाई भेट्न विभिन्न निकायका व्यक्तिहरू आउँछन्। सन्तहरू आउँछन्। उनी सबैसँग संवाद गर्छन्, मौन भाषामा। र, आवश्यक परे कापीमा बिस्तारैसँग लेख्छन्— कहिले नेपालीमा, कहिले अंग्रेजीमा। कहिले प्रश्नकर्ताकै अन्य भाषामा। उनी आफूलाई भन्दा आफ्ना सन्देशलाई बढी महत्व दिन सबैसँग आग्रह गर्छन्।

आदित्यलाई थाहा नभएका विषय विरलै होलान्। परराष्ट्र, विज्ञान तथा प्रविधि, सञ्चार, भूगोल, इतिहास सबै क्षेत्रका विषयमा उनी गहिरो ज्ञान राख्छन्।

पूर्वप्रधानमन्त्री सुशील कोइराला आदित्यको संगतमा रमाउँथे। बालुवाटारमा आदित्य पुगेको बेला कोइराला घन्टौंसम्म उनलाई काखमा लिन्थे। प्रधानमन्त्री पदमा फेरि आकांक्षा नराख्न उनले कोइरालालाई आग्रह गरेका थिए। ‘तपाईं राष्ट्रपतिको बेस्ट क्यान्डिडेट' भन्ने आदित्यको सुझावलाई कोइरालाले भने टेरेनन्। उनको सामिप्यमा जाने नेताहरू धेरै छन्।

गत वर्ष सरकार, खासगरी तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा उनलाई उपचारका लागि अमेरिका लगियो। आदित्यकै सुझावमा उनलाई स्टान्डफोर्ड युनिभर्सिटी अस्पताल लगिएको थियो, गत वर्ष साउन ७ गते, उनकै जन्मदिनमा।

उपचारका लागि अमेरिका जाने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले भनेका थिए, ‘नेपाल सरकारलाई धन्यवाद। स्वस्थ भई फर्की आउने अपेक्षा गर्दछु।'

अमेरिकामा चिकित्सकहरूले उनलाई लामो समयसम्म अनुसन्धानमा राखे पनि स्वास्थ्यमा कुनै परिवर्तन आएन। चार महिनापछि उनी नेपाल नै फर्के।

पूर्वप्रधानमन्त्री सुशील कोइराला आदित्यको संगतमा रमाउँथे। बालुवाटारमा आदित्य पुगेको बेला कोइराला घन्टौंसम्म उनलाई काखमा लिन्थे। प्रधानमन्त्री पदमा फेरि आकांक्षा नराख्न उनले कोइरालालाई आग्रह गरेका थिए। ‘तपाईं राष्ट्रपतिको बेस्ट क्यान्डिडेट' भन्ने आदित्यको सुझावलाई कोइरालाले भने टेरेनन्। उनको सामिप्यमा जाने नेताहरू धेरै छन्।

६ वर्ष पनि नपुगेका आदित्यको कदकाँठी स्वाभाविक रूपमा सानो छ तर उनको ज्ञान कुनै सिद्धयोगीभन्दा कम छैन। हरेक विषयमा परिपक्व र माझिएको व्यवहार देखाउने आदित्य दिव्य मुस्कानमा अलौकिक र अन्तरयामी देखिन्छन्। आफूलाई सरस्वतीको कृपाले ज्ञान आएको उनी बताउँछन्। चित्त नबुझेका विषयमा मुखबाट अस्वीकृतिको ध्वनि निकाल्छन्।

२०७१ माघ १५ गते उनले ठूलोबुबा भनेर सम्बोधन गर्ने अत्यन्त निकट लक्ष्मी प्रसाईको घरमा उपस्थित सानो समूहबीच लेखेका थिए :

‘शान्ति चाहन्छौ भने सत्संगको आनन्दलाई महसुस गर।'

यही दिन उनले समूहगत रूपमा सन्देश दिन सुरु गरेका थिए। केही दिनपछि उनले सन्देश दिए :

‘ध्यानबाट नै दिव्य ज्ञानको मार्गदर्शन मिल्दछ।'

२०७१ सालकै शिवरात्रिका अवसरमा उनले सन्देश दिए :

‘शिवकी पार्वतीलाई मात्र होइन, शिरकी गंगारूपी बागमतीलाई पनि पुजिन लायक बनाऔं।'

शिवरात्रिको तीन दिनपछि उनले लेखे :

‘जीवन तब अमूल्य लाग्नेछ, जब तिमी अहंकार भुली अरूका लागि जिएको आभास गर्नेछौ।'

‘योग, ध्यान, संस्कार, संस्कृति, अहंकारको निर्मलीकरण, प्रेम, ज्ञानजस्ता विषय उनका अभिव्यक्तिमा बारम्बार आउँछन्।'

‘आधुनिकताको भीडमा आफ्नो संस्कार र सभ्यता भुली आफ्नो अस्मिता आफैं नलुटाऊँ।'

‘प्रेम यस्तो अमृत हो जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ। सो लभ इज लाइफ।'

‘प्रेम वायु हो जसको प्रत्यक्ष उपस्थितिबिना नै हल पल, हर क्षण स्पर्शको अनुभूति महसुस गर्न सकिन्छ।'

‘धन प्राप्तिमा होइन, ज्ञान प्राप्तिमा समय व्यतीत गरौं।'

‘कुकर्म गरी याचनाका लागि ईश्वर खोज्दै हिँडेको देख्दा दया जाग्छ। सत्कर्म गरे परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ। यो नबुझ्दा झन् पीडा हुन्छ।'

‘सकारात्मक विचारलाई मात्र शरीरमा तरंगित बनाइराख्न मनमस्तिष्कलाई एकाग्रताले बाँधी ध्यानमा आफूलाई लीन राख्न सक्नुपर्छ।'

‘संस्कृति, सभ्यता र संस्कारबिनाको शिक्षाको कुनै अर्थ रहँदैन। यस्तो शिक्षाले जीवनको मोल पढ्दा सधैं अशिक्षितमात्र बनाउँछ।'

‘प्रेमको मूल्य र महत्व त बिछोडमा अझ गहिरोसँग महसुस हुन्छ, जब निश्चित समयपश्चात् पुनर्मिलन हुन्छ, तब आश्चर्यजनक तवरले प्रेमका तरंगभित्र सबै एकछत्र तरंगित भई आपसमा समाहित भइन्छ।'

‘वचन अन्तरात्माको तराजुबाट नापतौल गरेरमात्र अभिव्यक्त गर्दा अमृत बन्छ नत्र विषसमान हो।'

मुलुकप्रतिको माया र कर्तव्य उनको सन्देशमा आउने अर्को महत्वपूर्ण तत्व हो।

‘गाँस, बास, कपासबाट वञ्चित बालबालिकाको हक, अधिकार सुनिश्चित गरी व्यवहारमा कार्यान्वयन गरे राष्ट्र नयाँ पिँढीका साथ परिवर्तनतिर उन्मुख बन्नसक्छ।'

‘आर्थिक प्रगतिका सम्भावनालाई पहिचान गरी सदुपयोग नगर्दा राष्ट्र गरिबीको कुचक्रभित्र झन्झन् रुमलिँदै छ। ध्यान पुगोस्।'

‘राजनीतिक क्षेत्रको यो फोहोरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसँग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौं। अब त्यस्तो नयाँ पिँढीको खाँचो छ जसले यो मुलुकको गुमेको स्वाभिमान फर्काई राष्ट्रलाई नयाँ गति दियोस्। प्रार्थना गरौं।'

‘अस्थीर राजनीतिको चपेटामा यो राष्ट्रको दिगो विकास र दिगो शान्ति लोप नै हुँदैछ जसको प्रत्यक्ष नतिजा अहिले नै निरीह जनताले भोग्दैछन्।'

मधेस आन्दोलन चलिरहेकै थियो। राजनीतिक दलहरूबीच वार्ताको प्रक्रिया अघि बढिरहेकै बेला बालगुरु आदित्यले लेखे :

‘नकारात्मक सोच त्यागी सकारात्मक सोच अनुसरण नगरेसम्म वार्ताका प्रक्रियाबाट मात्र देशमा दिगो शान्ति जन्मँदैन।'

नयाँ वर्ष २०७२ को पहिलो दिन प्रणवानन्द आ श्रम गुह्येश्वरीमा उनले उपस्थित प्रियजनहरूबीच लेखे :

‘शान्तिसहितको समृद्ध राष्ट्रको परिकल्पना यस नयाँ वर्षमा यथार्थमा परिणत होस्, मेरो शुभकामना।'

गत वर्ष वैशाख १२ मा आएको भूकम्पपछि बालगुरु आदित्यले लेखे :

‘मानवसेवा नै सबैभन्दा ठूलो सेवा हो। धर्म हो। जिम्मेवारीसहित पीडितको सेवामा समर्पित भई लागौं। जुटौं। सहयोग गरौं।'

लगत्तै अर्को भुइँचालो गयो। बालगुरु आदित्यले लेखे :

‘धर्तीमातासँग एकतासहितको शान्ति स्थापना गर्नेछौं भनी शपथ खाऊँ, प्रतिज्ञा गरौं। अवश्य यो अरिष्ट टर्नेछ। त्रास हट्नेछ। ताण्डव रोकिनेछ।'

भुइँचालोको केही दिनपछि उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका थिए। देशमा मच्चिरहेको ताण्डवबाट प्रधानमन्त्री दु:खी थिए। आदित्यले प्रधानमन्त्रीलाई सम्झाए :

‘नआत्तिनू। यो अरिष्ट केही समयमा हट्नेछ। देशले काँचुली फेर्नेछ। हजुरका इच्छा पूरा हुनेछ पीएमज्यू।'

भूकम्पबाट पीडित भएकाहरूले आ श्रयका लागि पालसम्म पाउन नसकेका बेला उनले लेखे :

‘प्राकृतिक विपत्तिले खेदेको यो विषम क्षणमा घरबारविहीन भएकालाई कुनै पनि माध्यमबाट सहयोग गर्न सहयोगी हातहरूको खाँचो छ। मनन गरी कर्तव्यबाट विमुख नबनौं।'

आफूले ज्ञान प्राप्त गरेको एक वर्ष पुगेको अवसरमा गत वर्ष असार २५ गते उनले उपस्थित प्रियजनहरूमाझ लेखेका थिए :

‘म निद्राबाट ब्यूँझेको आज एक वर्ष बितेछ। समय र परिस्थितिले खासै साथ दिएन। त्यसैले निश्चित तोकेका उद्देश्य पूरा गर्न बाँकी रहे। क्षमाप्रार्थी छु। मलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद।'

उनका बुबा र आमाले प्रदान गरेको गहिरो प्रेम र ममताप्रति पनि आदित्य कृतज्ञता व्यक्त गर्छन्। आफूलाई प्रेमपूर्वक भगवान् कृष्णको रूपमा ‘काना' भनेर सम्बोधन गर्ने आमाप्रति उनले लेखेका छन् :

‘तिम्रो त्यो ममताको गहिरो सागरमा यो सजीव तर परजीवी शरीर सधैं यसरी नै प्रफुल्लित बनी तैरिन पाओस्।'

‘सुन्दर स्वर्गको अनुभूति मृत्युपश्चात् होइन, जन्मनेबित्तिकै जननीको ममतामयी काखमा नै अनुभव लिन सकिन्छ। त्यसैले आफ्नो स्वर्गको सम्मान गरौं। उनीबाट नै प्राप्त यो जीवन उनकै खुसीमा अर्पण गरौं।'

२०७३ सालको वैशाख १ गते आदित्यले सत्संगका क्रममा लेखे :

‘जल पर्याप्त होस्, भूमि अटल रहून्, गगनको वायु स्वच्छ बनोस्, मनुष्यको विचारमा सेवाभाव रहोस्, मेरो नववर्षमा छ यही शुभकामना।'

हनुमानजयन्ती थियो वैशाख १० गते। सोही दिनमा उनले यस्तो सन्देश लेखे :

‘रुद्र भगवान्को ११औं अवतार पवनपुत्र सियाराम भक्त श्रीहनुमान यो पूर्णिमामा जन्मनुभएको हो। संकटमोचन श्रीप्रभुले अवश्य यो राष्ट्रको सम्पूर्ण कष्ट, दु:ख, आपत्ति हर्नुहुनेछ।'

गत बुद्धपूर्णिमाका दिन उनले आफ्ना प्रियजनहरूमाझ यस्तो सन्देश लेखे :
‘शान्तिको खोज गर्न सर्वप्रथम आफूभित्रको बुद्धलाई चिन। सबैमा बुद्ध छन्। मात्र कुविचार त्यागी साधनामा मानवचोला समर्पण गरौं।'
नव वर्ष २०७३ का बारेमा उनले लेखेका छन् :
‘२०७३ साल पनि त्यत्ति उत्तम छैन। प्राकृतिक त्रासले त्यत्ति नसताउला। महाभूकम्पका केही परकम्पमात्र बाँकी छन्। अस्थीर राजनीतिले आर्थिक संकट पर्नेछ। समयमा ध्यान पुर्‍याउनू।'

यता केही समयदेखि उनी ध्यानकै बारेमा चर्चा गरिरहेका छन्, आफ्ना सत्संगहरूमा। उनी आफू पनि योग-ध्यानमा बढी समय दिइरहेका छन् भने भक्तजनहरूलाई पनि योग÷ध्यानकै लागि प्रेरित गरिरहेका छन्। उनी लेख्छन् :

‘ध्यानद्वारा ज्ञानको अग्निकुण्ड बन्छ जहाँ नकारात्मक सोच स्वत: जल्छ र सकारात्मक रेमा परिवर्तन भई सबैमा फैलिन्छ।'

‘ध्यानी शून्य विचारको अवस्थामा जब रहन्छ अनिमात्र भृकुटीमाझको चक्षु उघ्रिन्छ जसबाट आत्मा नै परमात्मा स्वरूपमा देख्न सकिन्छ। आत्मा नै परमात्माको स्वरूप हो।'

अन्नपूर्णलाई ‘बालयोगी' आदित्यको सन्देश
मिडिया स्वतन्त्र हुनुपर्छ। तर, स्वतन्त्रताको नाममा कसैको चरित्रहत्या गर्नुहुन्न। सत्य जे छ, त्यही उजागर गर।

‘भविष्यका निम्ति शक्ति सञ्चित गर्न वर्तमान बरालिएको मस्तिष्कलाई एकान्तमा एकाग्र बसी शून्य सोचका साथ वि श्राम दिऊँ।'

‘जीवनलाई समयानुकूल परिवर्तन र साधना गर्दै लैजानुपर्छ नत्र यो जीवन चितामा लडेको मुर्दासरह हो।'

‘स्वास्थ्य अमूल्य धन हो, योगसाधना र ध्यानबाट सो धन आर्जन गरी दरिद्र हुनबाट समयमै ध्यान पुर्‍याऊँ।'

केही साताअघि ध्यानकोर्स सञ्चालनका क्रममा चलिआएकै साधनालाई अघि बढाउन चाहेका थिए, प्रतिष्ठानका पदाधिकारी र आफन्तजनले। तर, आदित्यले आफैं कोर्स डिजाइन गरे। र, २७ जनालाई हरेक दिन दुई घन्टाका दरले सात दिनको कोर्स गराए, सिफलस्थित डियरवाक स्कुलमा।

अमेरिकामै छँदा ‘भगवान् के हो' भन्ने प्रश्नमा आदित्यले भनेका थिए :

‘क्रिएसन अफ माइन्ड।'

विभिन्न धर्मबारे एक निकटले गरेको प्रश्नमा आदित्यले अमेरिकामै जवाफ दिएका थिए :

‘भगवान् एक छन् जो हाम्रो हृदयमा बास गर्छन्। त्यसको अरू कुनै नाम छैन।'

उनलाई अमेरिकामै ती निकटले प्रश्न गरिन्, तपाईं कहिले बिहे गर्नुहुन्छ?       

आदित्यले जवाफ दिए, ‘नो आइडिया। यदि म मेरो खुट्टामा उभिन सकेँ भने बिहे प्राकृतिक र स्वाभाविक प्रक्रिया हो।'

अमेरिकामै राजा वीरेन्द्रले तक्मा दिएको फोटो निकटजनले देखाउँदा आदित्यले भने :
‘मलाई दु:ख छ, म उनको प्रजा बन्न सकिनँ।'

आदित्यले आफू को हो भन्नेबारे केही भनेका छैनन्। उनी धेरैका लागि पूज्य र केहीका लागि ‘अन्धविश्वास'को प्रतीक बन्नेछन् कोरा बहसमा। तर, उनको अलौकिक शक्ति र अहिलेदेखि नै खेलेको जगत्गुरुको भूमिकाले उनको जन्म एउटा साधारण संयोगभन्दा बाहिरको घटना भएको सम्भवत: भोलिको इतिहासले स्वीकार्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.