छोरीको आँखामा विवादित नेता

 छोरीको आँखामा विवादित नेता

चिनियाँ राजनीतिमा माओ त्से तुङ र चाउ एन लाईपछि सबैभन्दा बढी चर्चामा आएका व्यक्ति हुन्— तङ स्याओफिङ। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको जनवादी क्रान्तिका एक नेता तङ चिनियाँ राजनीतिका चर्चित र विवादित नेता हुन्।

चिनियाँ समाजलाई आधुनिकीकरणतर्फ डोर्याउने र व्यापारिक युगमा प्रवेश गराउने श्रेय तङलाई दिइन्छ। यिनै तङबारे उनकी छोरी तङ रोङले लेखेको 'मेरा बा तङ स्याओफिङ युद्धका वर्षहरू'नामक जीवनी डा. सुरेन्द्र केसी र दिवाकर शर्माको अनुवाद 'चीन अध्ययन केन्द्र्र’ले बजारमा ल्याएको छ।

पुस्तकमा तङको बाल्यकालदेखि युद्धका दिनहरूको कथा भनिएको छ। पुस्तकभरि तङको जीवनको उकाली-ओराली छ। सन् १९०४ मा चीनको सछुवान प्रान्तको फाइफाङ गाउँमा जन्मेका तङ उच्च माध्यमिक शिक्षापछि उच्च शिक्षा लिन फ्रान्समा रहँदा नै कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए।

फ्रान्समा औपचारिक अध्ययन पूरा गर्न नसके पनि उनी कम्युनिस्ट भने भए। सन् १९२२ मा युरोपमा खुलेको चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध भए। विदेशमा मजदुरीदेखि पत्रिका प्रकाशन र राजनीतिक गतिविधिमा लागेर परिपक्वता हासिल गरेका उनी चीन आउनासाथ चाउ एन लाईको नेतृत्वमा रहेर तुरुन्तै राजनीतिक गतिविधिमा सक्रिय भइहाले।

गतिविधिकै सिलसिलामा वास्तविक नाम तङ सिसियानलाई फेरेर तङ स्याओफिङ राखे।१९२३ मा चाउ एन लाईको नेतृत्वमा राजनीति सुरु गरेर तङको जीवन विभिन्न आरोह अवरोहमा अगाडि बढेको छ। तङको भूमिका युद्धका दिनमा असाध्यै महत्वपूर्ण थियो। उनले सेनाको कमिसार भएर युद्धको नेतृत्व गरे।

सातौं सेना र आठौं सेना निर्माणदेखि सुदृढीकरणसम्मको नेतृत्व उनले गरे। युद्धका दिनहरू कसैका लागि पनि सहज हँदैनन्। अझ त्यसैमा राज्यसत्ताविरुद्ध गरिने राजनीतिक विप्लव झन् कष्टकर हुने नै भए।

युद्धका भीषण दिनहरू कति जोखिमपूर्ण र बलिदानीपूर्ण हुन्छन् भन्ने ज्वलन्त उदाहरण हो— चिनियाँ क्रान्ति। यस्तो पेचिलो समयमा साँचा नेताहरू कति त्यागी हुन्छन् भन्ने पनि तङको जीवनीमा पाइन्छ।

पुस्तकमा उनको त्यागको एउटा उदाहरण यसरी दिइएको छ-सन् १९३० मा तङले केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गरे। त्यही समयमा उनकी श्रीमती चाङ सियुआन बच्चा जन्माउन अस्पताल भर्ना भएकी थिइन्।

तङ उनलाई भेट्न अस्पताल गए। उनीसँगै केही दिन बसे। तर, दुभाग्र्यवश न उनकी श्रीमती चाङ सियुआन बचिन् न त बच्चा नै। श्रीमतीको अन्त्येष्टि गरिनसक्दै पार्टीको काममा क्वाङसी जानुपर्यो तङले।

पुस्तकमा तङले चिनियाँ कम्युनिस्ट पार्टीभित्र गरेको सैद्धान्तिक संघर्ष पनि उल्लेख छ। सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएदेखि १९३५ सम्म छन् तुसिउ, छ्यु छिउपाई, लि लिसान र वाङ मिङको प्रभाव पार्टीमा बढी थियो।

तङ रोङले लेखेकी छन्-सन् १९२१-३४ को बीचमा छन् तुसिउको दक्षिणपन्थी आत्मसमर्पणवाद, छ्यु छिउपाइको वामपन्थी विद्रोहवाद, लि लिसानको वाम दुस्साहसवाद तथा वाङ मिङको दक्षिणपन्थी अवसरवादका कारण कठिन स्थितिको सामना गर्नुपर्यो।

सन् १९२७ मा छन् तुसिउको विचारको खण्डन गरेर माओले आन्दोलनलाई अगाडि बढाए जसमा तङले पूर्ण निष्ठाका साथ माओलाई साथ दिए।
त्यसो त तङको पार्टी जीवनमा उतारचढाव पनि पाइन्छन्। सन् ३० मा तङ स्याओफिङलाई केन्द्रीय समितिको आदेश उल्लंघन गरेको आरोपमा उनलाई पदबाट हटाइयो। तर, उनले पार्टीको काम भने गरिरहे।

त्यस्तै १० महिनामा चिनियाँ जनमुक्ति सेनाको एउटा टोलीले ३५ हजार किमि मार्च गरेको यात्राको वर्णन र माओ र चु तेहको नेतृत्वमा लडिएका लडाइँको वर्णन पुस्तकको अर्को सुन्दर पाटो हो। युद्धको समयमा पार्टीभित्र हुने आन्तरिक छलकपट, पलायन, गद्धारीका घटनाहरूले पुस्तकलाई थप रोचक बनाएको छ।

कम्युनिस्टहरू अन्तर्राष्ट्रिय जाति हुन्छन्। उनको भाइचारा सम्बन्ध पनि अन्तर्राष्ट्रिय हुन्छ। क्रान्तिको समयमा चिनियाँ कम्युनिस्ट पार्टीले पनि अन्तर्राष्ट्रिय सहयोग र समर्थनको नाममा अनावश्यक दबाब भोगेको प्रसंग पुस्तकमा पाइन्छ।

 

चिनियाँ क्रान्तिका नायक माओको प्रसंग भने पुस्तकमा धेरै कम छ। उहाँको बारेमा लेख्न धेरै नै कञ्जुस्याइँ गरिएको छ। सन् १९२१ मा बनेको चिनियाँ कम्युनिस्ट पार्टी र त्यत्रो क्रान्तिको नेतृत्व गरेका माओको प्रसंग १९३१ मा ल्याएर गरिएको छ, त्यो पनि एउटा रणनीतिको प्रसंगलाई लिएर।

विदेशमा अथवा फ्रान्स र रुसमा बस्दा औद्योगिक विकास देखेका तङले आफ्नो राजनीतिक उदयपछि चीनलाई खुला अर्थनीति र औद्योगिक विकासमा केन्द्रित गरे। तङको यो कदम अहिले पनि विश्व कम्युनिस्ट आन्दोलनमा बहसको विषय बनिआएको छ। 

किताबले चीनको सांस्कृतिक क्रान्तिलाई विविध कोणबाट अध्ययन गर्न सघाउ पुर्‍याउँछ। एकथरी कम्युनिस्टहरू तङहरूले पुँजीवादको समर्थन गरेको र सांस्कृतिक क्रान्तिलाई विघटनमै पुर्‍याएर गद्धारी गरेको भन्छन् भने अर्कोथरी सांस्कृतिक क्रान्ति नै भूल हो भन्छन्।

 तङको जीवनमा चिनियाँ सांस्कृतिक क्रान्तिले निकै नकारात्मक असर पारेको देखिन्छ। यसले उनलाई राजनीतिक जीवनमै कमजोर बनायो। उनलाई राजनीतिमा उदाउन निकै समय लाग्यो। सांस्कृतिक क्रान्तिको समयमा उनी पार्टी कारबाहीमा परे।

तङ रोङ लेख्छिन्, 'मेरा तेस्रा काका तङ शुपिङ सानो जमिनदार हुनुहुन्थ्यो। अफिम खानु हुन्थ्यो। उहाँमा क्षमता थिएन। मुक्ति (सन् १९४९ को परिवर्तन)पछि बाले पुनस्र्थापना केन्द्रमा पठाउनुभयो। पछि पार्टीमा जोडिएर काम पनि गर्नुभयो। सांस्कृतिक क्रान्तिको समयमा तङ शुपिङलाई मृत्युदण्ड दिइयो। यसको कारण थियो, उहाँको वर्गीय स्थिति र उहाँका दाजु शक्तिबाट हट्नु थियो।' (पृष्ठ ३१)

सांस्कृतिक क्रान्तिको समयमा तङ आफूले मात्र कारबाही भोगेनन्, उनका भाइलाई मृत्युदण्ड नै दिइयो। तर, उनले पार्टी छोडेनन्। सन् १९७६ मा माओको मृत्युपछि चिनियाँ कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्ति भूल भएको स्वीकार गर्यो।

यो पुस्तकले चीनको सांस्कृतिक क्रान्तिलाई विविध कोणबाट अध्ययन गर्नका लागि पनि सघाउ पुर्याउँछ। एकथरी कम्युनिस्टहरू तङहरूले पुँजीवादको समर्थन गरेको र सांस्कृतिक क्रान्तिलाई विघटनमै पुर्याएर गद्धारी गरेको भन्छन् भने अर्कोथरीले सांस्कृतिक क्रान्ति नै भूल भएको भन्दछन्।

तङ लेख्छिन्, 'माओले जीवनभरि बुद्धिमानीपूर्वक काम गर्नुभयो। तर, जीवनको उत्तराद्र्धमा धेरै ठूला गल्तीहरूसमेत गर्नुभयो। नातेदार र कृपापात्रबाहेक अरूको विश्वास गर्न छोड्नुभयो। राजनीतिलाई चारजनाको जिम्मा लगाउनुभयो। ती चारजनाले माओभन्दा पनि बढी वामलाइन लियो।' (पृष्ठ ४५९)

नेपालमा सधैं माओबारे पढेका पाठकका लागि चिनियाँ क्रान्तिमा तङको भूमिकाका बारेमा जान्न बुझ्न यो पुस्तक धेरै उपयोगी छ।अनुवादको भाषा राम्रो छ। तर, पुस्तकको गातामा मेरा 'बा'तङ स्याओफिङ भनेर लेखिएको छ।

भित्रचाहिँ 'पिता’मात्र भनिएको छ। यो सामान्य गल्ती होइन। पुस्तकको कुनै सिलसिलेवार छैन। चिनियाँ क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्ने माओ र चाउ एन लाईलाई निकै कम ठाउँ दिइएको छ। पुस्तकमा तङ स्याओफिङ भनिएको छ। तर, नेपाली आमपाठकलाई देङ स्याओपिङ पढ्ने र भन्ने बानी लागेको छ।

पुस्तक: मेरा बा तङ स्याओफिङ, युद्धका वर्षहरू

लेखक:तङ रोङ
अनुवाद : डा. सुरेन्द्र केसी, दिवाकर शर्मा
प्रकाशक : चीन अध्ययन केन्द्र, काठमाडौं
पृष्ठ : ४६८
मूल्य : ४००/-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.