भूकम्पपीडित छानाबाहिर

भूकम्पपीडित छानाबाहिर

सिन्धुली: सरकारले भूकम्पपीडितलाई असार २५ गतेभित्र ‘छानामुनि ल्याउने’ घोषणा गरे पनि सामूहिक भवन निर्माण समयमा पूरा नहुँदा उनीहरूले यो बर्खा पनि टहरामै बिताउनुपरेको छ । सहरी विकास मन्त्रालयका अनुसार सामूहिक आवास निर्माणको काम बढीमा ८० प्रतिशतमात्र पूरा भएको छ ।

सरकारले भूकम्पप्रभावित काठमाडौं उपत्यकाबाहेकका ११ जिल्लामा सहरी विकास मन्त्रालय र नेपाली सेनामार्फत असार २५ गतेभित्र विकल्पका रूपमा सामूहिक आवास निर्माण गरी छानामुनि ल्याइसक्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले सरकारले समयमै पुनर्निर्माणको काम सम्पन्न गर्न नपाएकाले ‘पालमुनिका भूकम्पपीडितलाई असार २५ गतेभित्र छानामुनि’ ल्याउन तत्कालका लागि सामूहिक आवास बनाउने घोषणा गरेका थिए । सोहीअनुसार विभिन्न जिल्लामा ८, १२, १६, २० र ३२ कोठे सामूहिक आवास बनाउने काम गत वैशाख अन्तिम सातादेखि भइरहेको छ ।

सरकारले सहरी विकास मन्त्रालयमार्फत दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, रसुवा, धादिङ, काभ्रे, नुवाकोट र मकवानपुर गरी १० जिल्लामा ५० वटा सामूहिक आवास बनाउने घोषणा गरेको हो । काठमाडौं उपत्यकाका आठ स्थानमा यस्ता भवन बनाउनका लागि भने अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको छैन ।

मन्त्रालयले काभ्रे र सिन्धुलीका दुई ठाउँमा जग्गा विवादका कारण काम अघि बढाएको छैन । यसबाहेक गोरखासहित ११ जिल्लामा ३६ वटा सामूहिक आवास सेनामार्फत बनाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जिम्मा लगाइसकिएको छ । मन्त्रालयले गोरखाका पाँचवटा स्थानमा भवन निर्माणका लागि ठेक्का नपरेपछि त्यससहित विकट स्थानमा सेनालाई जिम्मा दिएको थियो ।

 

मन्त्रालयको टोली निरीक्षणका लागि बुधबार सिन्धुली पुग्दा पुरानो झाँगाझोली ४ स्थित रामटारमा निर्माणाधीन सामूहिक आवासको काम आधा पनि पूरा भएको थिएन । सरकारको घोषणाअनुरूप उक्त भवन बनिसक्न बढीमा तीन दिनमात्र बाँकी थियो । त्यहाँ १६ कोठे सामूहिक भवन बनाउन लागिएको हो ।

सिन्धुलीकै ग्वाल्टारमा पनि १६ कोठे सामूहिक आवास बनिरहेको छ । झाँगाझोलीमा एक हजार तीन सय १७ घरधुरी घरविहीन छन् भने ग्वाल्टारमा अधिकांश घर चर्किएर बस्न नहुने अवस्था छ ।

मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख प्रभाकरलाल कर्णले भने, ‘जहाँ भवनका लागि सुरु गर्‌यौं त्यहाँ स्थानीयबाट अवरोध आएपछि अर्को स्थानमा सुरु गर्दा ढिलो भयो ।’ निर्माणको ठेक्का पाएका रुमबहादुर राईले रोपाइँका कारण कामदार नपाउनाले ढिलो भएको बताए । उनले भने, ‘असार ३१ गतेभित्र सक्ने लक्ष्य छ ।’

अनुगमनमा गएका प्रधानमन्त्री कार्यालयका वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाले एकाइका कर्मचारी र ठेकेदारलाई भने, ‘हेर्नोस्, प्रधानमन्त्रीले गम्भीरताका साथ पालमुनि रहेका भूकम्पपीडितलाई जसरी पनि असार २५ भित्र छानामुनि ल्याउने घोषणा गर्नुभएको छ । राष्ट्रिय समस्यामा तपाईंहरूले आलटाल गर्न मिल्दैन । जनतालाई धेरै दुःख भइरहेकाले जसरी पनि २५ गतेभित्रै काम सक्नोस्, नत्र बढीमा एक वा दुई दिनभित्रै भवनमा ओत लाग्ने व्यवस्था गर्नोस् ।’

रामेछापको मन्थलीमा आठ र १६ कोठे दुईवटा र रामेछाप नगरपालिकाको झगडेचौरमा आठकोठे सामूहिक आवास बनाइँदैछ । जिल्लाका प्रमुख इन्जिनियर अमरबहादुर थापाका अनुसार जेठ १ गतेदेखि थालिएका तीनवटै काम अन्तिम चरणमा पुगे पनि सुरक्षाका लागि तारबारसमेत गर्नुपर्ने अवस्था छ । उनले भने, ‘कतै ठेकेदारले असार २८ गतेसम्ममा त कतै असारभित्रमा काम सक्ने प्रतिबद्धता जनाएका छन् ।’

अनुगमनमा गएका मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले समयभित्रै काम सक्न एकाइ र एकाइमार्फत ठेकेदारलाई पटकपटक ताकेता गरिएको बताए । उनले २५ गतेभित्रै सबै जिल्लामा काम सम्पन्न हुन कठिन भइरहेको जानकारी दिए । उनले भने, ‘सीमित समय, कानुनी समस्या र प्रक्रिया हुँदाहुँदै पनि काम भइरहेको छ तर २५ गते भनेको ठाउँमा एक साता बढी लागे पनि असारभित्रै पालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याएरै छोड्नेछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.